बैशाख २१, २०८१ शुक्रबार

कचनकवलका कर्मचारीबाटै ठगिए माछा किसान

भद्रपुर । कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन् ।

पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीकर्ताले उजुरीमा जनाएका छन् । माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीविरुद्ध उजुरी दिएका हुन् ।

उनीहरुले माछाको भुराका लागि प्रतिगोटा रू डेढका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए । गाउँपालिकाले प्रतिगोटा रू तीन पर्ने भनिएको माछाको भुराका लागि रू डेढ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो । सोही सूचनाका आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भुरा उपलब्ध गराएको थियो ।

कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९-८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो ।

पालिका अध्यक्ष राजवंशीले भन्नुभयो, “कर्मचारीबाट त्रुटि भएकै हो । सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ । कमजोरी गर्नेलाई ढाकछोप गरिन्न, दोष हेरेर कारबाही गर्छौं ।” उहाँले घटनाको यथार्थ के हो बुझेर चाँडै सार्वजनिक गर्ने बताउनुभयो ।

प्रकाशित मिति : असार १६, २०८० शनिबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]