जेष्ठ १, २०८१ मंगलबार

शिवसताक्षीको गाउँ–गाउँमा ‘ज्ञानघर’

दमक । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिकाले ज्ञानघर स्थापनाको सुरुआत गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा दुई र आगामी आर्थिक वर्षमा चार स्थानमा ज्ञानघर स्थापना गर्न सुरु गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले जानकारी दिनुभयो ।

बालबालिका र युवामा पठन संस्कृतिको विकास गर्ने लक्ष्यका साथ नगरका सबै वडामा कम्तीमा एउटा ज्ञानघर स्थापना गर्ने योजना रहेको उहाँले बताउनुभयो । वैकल्पिक सिकाइका रुपमा रहेका यी ज्ञानघर यस प्रदेशकै नमूना कार्यक्रम रहेको उहाँको दाबी छ ।

नगरपालिकाभित्र माईधार र धरमपुरमा ज्ञानघर तयार भइसकेको र आगामी आर्थिक वर्षमा थप चार स्थानमा ज्ञानघर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिसकिएको प्रमुख थोप्राको भनाइ छ । पत्रपत्रिका र पुस्तक पढ्ने संस्कृति विकास गर्न ज्ञानघर निर्माणको अभियानलाई तीव्रता दिइएको नगरप्रमुख थोप्राको भनाइ छ ।
उहाँका अनुसार ज्ञानघर नियमित रुपमा सञ्चालनका लागि स्थानीय सरोकारवाला व्यक्ति, क्लब, सङ्घसंस्था लगायतका क्रियाशील संस्थाहरुको समन्वयमा रेखदेखदेखि त्यसको लेखाजोखाको काम गरिँदै आएको छ ।
ज्ञानघरको व्यवस्थापन नै स्थानीयले गरिआएको र त्यसरी कार्यसञ्चालन गर्दा ज्ञानघरको प्रभावकारी देखिँदै गएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नगरका ११ वटै वडासम्म पु¥याउन नगरपालिकाले नीति बनाएर आवश्यक बजेट समेतको व्यवस्थापन गरिसकेको छ ।” नगरपालिकाका शिक्षा शाखाप्रमुख छविलाल ढकालले सिकाइ अभियानअन्तर्गत ज्ञानघर उपयोगी हुने उल्लेख गर्नुभयो । ज्ञानघरमार्फत शिवसताक्षीको शिक्षा र नैतिक आचरणका क्षेत्रमा बिस्तारै सकारात्मक सुधार आउने उहाँको विश्वास छ ।

हाल सञ्चालित ज्ञानघरमा दैनिक सयौँको सङ्ख्यामा युवा तथा विद्यार्थीहरु दैनिकरुपमा अखबार पढ्नका लागि आउने गरेको वडा नं ७ ब्याङ्गडाँडामा गोर्खाली हर्टका अध्यक्ष बिजय लिम्बूले बताउनुभयो । फुर्सदमा तास, लुडो, क्यारेमबोर्ड खेलेर समय गुजार्ने युवाहरु पनि यतिबेला ज्ञानघरमा भेला भई पत्रपत्रिका पढ्ने र अन्तरक्रियामा सहभागी हुन थालेको उहाँको भनाइ छ । “यो अत्यन्त सकारात्मक काम रहेछ”, उहाँले भन्नुभयो, “ज्ञानघरलाई स्थायित्व दिन स्थानीय स्तरमा समिति गठन गरी नियमित बनाउन छलफलमा जुटेका छौँ ।”

प्रकाशित मिति : असार २०, २०८० बुधबार  ३ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]