बैशाख २१, २०८१ शुक्रबार

सर्पको डसाईबाट बचौं

सम्पादकीय

वितेको नौ वर्षमा ५१ हजार मानिसलाई सर्पले डसेको तथ्याङक सार्वजनिक भएको छ । अहिले सर्पदंश उपचार केन्द्रहरुमा विरामी चाप बढ्दो छ । सामान्य ख्याल गर्न नसक्दा घरमै सर्पले डसिरहेको घटना पर्याप्त छन् । सर्पले डसेपछि समयमै उपचार नहुँदा कतिपयले ज्यान नै गुमाउनु परेको छ । समयमै उपचार पाएका विरामीहरुले ज्यान गुमाउनु पर्दैन । त्यसका लागि सावधानी अपनाउनै पर्छ । गर्मीयाम सुरु भएसँगै सर्पले मानिसलाई टोक्न थाल्छ । विशेषगरी तराई भेगमा सर्पको टोकाइबाट पीडित हुनेको संख्या बढ्दो छ ।

सर्पको टोकेपछि प्राथमिक उपचारका साथै यसको टोकाइबाटै बच्न विभिन्न उपाय अपनाउन सकिन्छ । सर्पको टोकाइबाट बच्न बाहिर हिंड्दा बाहुला भएको लुगा लगाउने, गाउँघरको शौचालय प्रायःजसो बाहिर हुने भएका कारण टर्चलाइट बालेर जाने, भुईंमा नसुती खाटमा सुत्ने, खाटमा झुल लगाएर सुत्दा पनि केही हदसम्म बच्न सकिन्छ । साथै घरआँगन सफासुग्घर राख्ने, घरमा लिपपोत गर्दा वा घाँस दाउरा गर्दा ध्यान पु¥याउने गर्दा सर्पको टोकाइबाट बच्न सकिन्छ । सर्पले धेरैजसो शरीरको तल्लो भागमा टोकेको देखिन्छ । गाउँघरमा खेतबारीमा काम गर्दा अचानक सर्पले टोकेको हुन सक्छ । खुट्टा र हातमा टोकेको बढी भेटिन्छ । सर्पले शरीरको जुनसुकै ठाउँमा टोक्न पनि सक्छ ।

सबै प्रजातिका सर्पले टोक्छन् तर त्यसमध्ये विषालु र विषरहित भन्ने हुन्छ । विषरहित सर्पले टोके शरीरमा कुनै किसिमको हानि हुँदैन । तर सर्वसाधारणलाई थाहा नभएका कारण सबै सर्प विषालु नै सम्झिन्छन् । नेपालमा तीन प्रजातिका विषालु सर्पले टोकेको पाइन्छ, ती हुन् गोमन, करेत, भाइपर लगायत । तराईमा गोमन र करेतको टोकाइबाट अधिकांश मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै करेत सर्पले विशेषगरी रातको समयमा र मानिसहरू सुतेकै बेला टोक्ने गरेको पाइन्छ । सर्पले टोक्नासाथ थाहा पाउने तरिका सर्पले टोकेको ठाउँमा सर्पको दुईवटा दाँतको डाम देखिन्छ । टोकेको व्यक्तिले नजिकै सर्प देखेको हुन्छ । आफूलाई सियोले घोचेजस्तै अनुभव हुन्छ । सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ । यो समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पु¥याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ । यदि समयमा उपचार गराउन नसकेमा जोखिम बढ्छ । त्यसबेला विष ननिकालेसम्म केही खान दिनु हुँदैन ।

प्रकाशित मिति : असार २१, २०८० बिहीबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]