बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण
बिर्तामोड । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकामा बिहीवार आयोजित एक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।
नगरपालिकाले ह्विल चियर २४ थान, स्टिल वाकर ३ थान, कम्वोड चियर ३ थान र एल्वो स्टिक २ थान वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले अपाङ्गताहरुको क्षेत्रमा छुट्याएको बजेटबाट सामग्री खरिद गरि वितरण गरिएको बताइन् । उनले आगामी दिनमा आवश्यकता पहिचान गरेर थप सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै वितरण गरिएका सामग्रीको सहि सदुपयोग गर्न आग्रह गरेकी छन् ।
सामग्री वितरण कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य कन्दङ्वा, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कार्यपालिका सदस्य लक्षिमा खतिवडा, सर्मिला राजवंशी, तिला गौतम, निर्मला देवी सुनार, नेत्रहिन संघ झापाका प्रतिनिधि दिपक थापा लगायतको उपस्थिति रहेको थियो ।
सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत शाखा प्रमुख डिल्ली दाहालले गरेका थिए । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको छ ।