बैशाख २०, २०८१ बिहीबार

सानो साथी मन्टेस्वरीका प्रिन्सिपलसहित तीन जना पक्राउ

मेचीनगर । प्रहरीले मन्टेश्वरीको सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएका बालक तान्छोपहाङ लिम्बु पढ्ने स्कुलका प्रिन्सिपल मनोज गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ ।

मेचीनगर- १० धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक मन्टेस्वरी स्कुलमा नर्सरीमा पढ्ने तान्छोप सोमवार स्कुलको ‘ढोकामै एम्बुस थापे जस्तो शौचालय’को सेप्टिक ट्यांकीमा डुबेर घाइते भएका थिए ।

प्रहरीले आज उपचारको क्रममा बीएन्डसी हस्पिटलमा उनको मृत्यु भएको जानकारी दिएको छ । मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग गर्दै किटानी जाहेरी दिनु भएको थियो ।

इप्रका काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेहरुमा मेचीनगर–११ का ४५ वर्षीय मनोज गुरुङ, मेचीनगर–११ की ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल रहेका छन् ।

मृतका परिवारले किटानी जाहेरी दिए अनुसारका अर्का आरोपी एवम् स्कुलका सञ्चालक काठमाडौं–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली फरार छन् ।

गुरुङ र रसाईली स्कुलका साझेदार रहेको बुझिएको छ भने पोखरेलले स्कुलको कोअर्डिनेटर र सुनारले कर्मचारीको काम गर्दै आएका थिए ।

हाल बालकको शब बीएन्डसी हस्पिटलको शबगृहमा राखिएको छ । जाहेरी दिने प्रक्रिया ढिलो मात्र सकिएका कारण मंगलवार शबको पोस्टमार्टम जाँच गर्न भ्याइएन । बुधवार शबको पोस्टमार्टम जाँच गरेर अन्तिम संस्कार गरिने बुझिएको छ ।

मृतक तान्छोपहाङका बाबु खर्कबहादुर सुब्बा बहराइनमा वैदेशिक रोजगारी गर्दै आउनु भएको छ । छोराको दुःखद् खबर सुनेर उहाँ मंगलवार विदेशबाट घर आइपुग्नु भएको हो ।

प्रकाशित मिति : असार २७, २०८० बुधबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]