जेष्ठ ६, २०८१ आईतबार

घरमै स्वास्थ्य उपचार आयुर्वेदको सरोकार

युवराज बास्कोटा ‘यज्ञ’

झापा जिल्लाको कमल गाउँपालिका वडा नं. ६ अवस्थित प्रादेशिक आयुर्वेद अस्पताल स्थानीयका लागि वैकल्पिक र अनिवार्य स्वास्थ्य उपचारको केन्द्र बन्दै आएको छ ।

पूर्व–पश्चिम राजमार्गको पाडाजुँगीबाट झण्डै ३ किलोमिटर दक्षिण रहेको यो अस्पताल प्रदेश गौरवको रूपमा क्रियाशील छ । निर्माणकालको पहिलो वर्षमै विभिन्न क्षेत्रअन्तर्गत सेवा दिन सकेको यो अस्पतालले बजारको खर्चिलो र स्वास्थ्य प्रतिकूल उपचारविधि र पद्दतिविरुद्ध सुलभ, विश्वसनीय र प्रविधिमैत्री आयुर्वेदमा आधारित उपचार दिने योजना अघि सारेको अस्पतालको बोर्ड सदस्य हुनुको नाताले यसको पहिलो बैठक २०८० साउन ३ गते अस्पतालको कार्यकक्षमा सामेल हुँदा प्रस्टैसँग अनुभूति हुन्छ ।

आयुर्वेद अर्थात् विभिन्न प्रजातिको वनौषधिको रसायनमिश्रित प्रभावबाट सम्भव हुने उपचारविधि पद्दति हो । पूर्वीया जीवन दर्शनको समेत निकै गाढा प्रभाव रहेको नेपाली समाजमा आयुर्वेद स्वास्थ्य उपचार अब सामान्यदेखि क्यान्सरसम्मका जटिल रोग पूर्णतः निदानका लागि क्रमशः लोकप्रिय र अनिवार्य बन्न थालेको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थकुमार ठाकुर बताउनुहुन्छ ।

आयुर्वेदको क्षेत्रमा पढेर र परेर पनि प्रशस्तै विज्ञता हासिल गरिसक्नुभएका डा. ठाकुरका अनुसार हाम्रो गाउँघर, समाज र समग्र परिवेशमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यो रसायनिक गुणमा आधारित हुन्छ । यसको सम्मिश्रण र प्रभावबाट आयुर्वेदले हाम्रो शरीरलाई पूर्ण रूपमा उपचार गर्छ । आयुर्वेद कुनै पनि रोगबाट पूर्ण रूपमा छुटकारा पाउने कुरासँग जति मात्रामा सम्बन्धित छ, उति नै यसले बिग्रेको स्वास्थ्य अवस्थामा सुधार ल्याउनुका साथै हाम्रो जीवनशैलीलाई पनि प्रकृतिमैत्री, वातानुकूलीत र सन्तुलित बनाउछ । प्राकृतिक जडिबुटीहरू र प्रकृतिप्रदत्त अन्य पदार्थहरूबाट यसभित्रको रसायनिक गुणको सम्मिश्रणले औषधी तयार हुने हुँदा यसको सेवनले कुनै पनि खालको साइड इफेक्ट गर्दैन र हुँदैन ।

डा. ठाकुर दाबाका साथ भन्नुहुन्छ– आयुर्वेदसम्मत उपचारविधि र पद्दतिलाई प्रभावकारी बनाउन स्वस्थ जीवनशैली अपनाउने, खानामा नियन्त्रण गर्ने, जिब्रोको स्वादअनुसार होइन बरु रोगअनुसार खाना खाने हो भने आयुर्वेदिक उपचारले छिटो र प्रभावकारी रूपमा रोग निर्मूल गर्नसक्छ । यसले तन र मन दुबैलाई स्वस्थ बनाउँछ, सधैँभरि उपचार गराइरहनुपर्ने कारणले हुने खर्चबाट पनि बचाउछ ।

आयुर्वेद उपचारविधि र चिकित्सा–पद्दति नयाँ पटक्कै होइन, प्राचीनकालदेखि नै स्वस्थ, सवल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त प्रयोगमा ल्याइएको अवस्था हो । दुर्लभ गुणकारी प्रकृतिप्रदत खनिजदेखि लिएर वनौषधिहरूको समेत भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यसनिम्ति ठूलो स्रोत हो भने अग्रजहरू प्रेरणास्रोत हुनुहुन्छ ।

आयुर्वेद अर्थात् आयुः र वेद शब्दको समिश्रित भावलाई हेर्ने हो भने आयुको वेदको रूपमा यसलाई लिन सकिन्छ । वेद भनेको ज्ञान, विज्ञान हो । आयु चाहने प्राणी मानिसका लागि वेद अर्थात् ज्ञान । आयुर्वेद अर्थात् आयु चाहने मानिसको लागि स्वस्थ्यकर जीवनको ज्ञान, विज्ञान हो आयुर्वेद ।

आयुर्वेदिक चिकित्सा–पद्दतिका मूलतः ८ अंगहरू हुन्छन् । यसमध्ये प्रादेशिक आयुर्वेद अस्पताले ओपीडी सेवामा कायचिकित्सा, शल्यचिकित्सा र सामान्य चिकित्सालाई प्रयोगमा ल्याएको छ भने यसको पञ्चकर्मअन्तर्गत पूर्वकर्म, प्रधानकर्म, पश्चातकर्म, अग्निकर्मलाई दैनन्दिन सेवा प्रवाहमा ल्याएको छ । प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजी र औषधी वितरण सेवालाई अत्यन्तै चुस्त र प्रभावकारी सञ्चालनमा ल्याएको अस्पतालले कतिपय औषधीलाई निःशुल्क उपलब्ध गराएको छ भने केही औषधीमाथि स्वास्थ्य बीमा कार्यक्रम मातहत रहने गरी सामान्य शुल्क निर्धारण गर्नुपर्ने बाध्यता रहेको अस्पताल सञ्चालन बोर्ड अध्यक्ष विश्वनाथ बरालको तर्क छ ।

पेशाले शिक्षक एवं समाजसेवी मणि भण्डारी सहित स्थानीय बासिन्दाले दानस्वरुप उपलब्ध गराउनुभएको २ बिघा ६ कठ्ठा जमिनमा सञ्चालिन अस्पताल परिसरमा महाभारतकालीन बोटविरुवा लगाउनुपर्ने महशुस भएको निष्कर्षमा पुग्नुभएका अध्यक्ष बराल कतिपय सन्दर्भहरू जोड्दै आयुर्वेद जीवनको ज्ञान हो र आयुर्वेदको उद्देश्य रोगको उपचार गर्नु मात्र नभई स्वस्थ व्यक्तिको हकमा पनि स्वास्थ्यको रक्षा गर्नु अर्को महत्त्वपूर्ण चुनौतिलाई समाधान दिने उपाय हो आयुर्वेद र आयुर्वेदिक उपचार हो भन्ने तर्क थप्नुहुन्छ ।

आमरूपमा नागरिकको स्वास्थ्य जीवन र स्वस्थ्यकर दिनचर्या कायम राख्नु राज्यको पहिलो शर्तको रूपमा संविधान प्रदत्त मौलिक हकअधिकार कायम भएसँगै नेपाल सरकार यसलाई प्राथामिक महत्त्वका साथ कार्यक्रम निर्माण र प्रभावकारी कार्यान्वयनमा ध्यान दिँदै आएको छ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीकालमा कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावसँगै निरोग नेपाल निर्माणको अभियानले गति लिएको कतिपय बेलामा सार्वजनिक तथ्यले भन्छ । यो अभियानअन्तर्गत निर्देशित एमाले नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री रहनुभएको बखतमा प्रादेशिक आयुर्वेद अस्पताल निर्माण र सञ्चालन प्रक्रियाले गति लिएको देखिन्छ ।

सम्पन्न यो पहिलो बैठकले सम्बद्ध सबै सहयोगी पक्षलाई हार्दिक धन्यवाद सहित यस क्षेत्रमा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याएकोमा आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : श्रावण ५, २०८० शुक्रबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]