असार ११, २०८२ बुधबार

शिक्षा सहकारीद्वारा ऋणी सदस्यको एकलाख ८० हजार मिनाहा

बिर्तामोड शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको बिर्तामोड–४ निवासी सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो ।

शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित कारोवार गर्दै आएकी भट्टराईको गत चैत २४ गते क्यान्सर सम्वन्धी रोगका कारण मृत्यु भएको थियो ।

महिला उद्यमी समूहको सदस्य समेत रहेकी भट्टराईको मृत्युपछि संस्थामा तिर्न बाँकी देखिएको एकलाख ८० हजार एक सय ५५ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति छ । कर्जा मिनाहासँगै भट्टराई परिवारलाई मृत्यु संस्कार राहतवापत २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

संस्थाका तर्फबाट प्रवन्धक शैलेन्द्र मेन्याङ्वो र सुशिला ढकालले भट्टराईका श्रीमान् ऋषिराम खतिवडालाई कर्जा मिनाहाको पत्रसहित राहत रकम हस्तान्तरण गरेका छन् ।

ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा दिने शिक्षा बहुउद्देश्यीय सहकारीको नीतिले पीडित परिवारलाई धेरै राहत मिलेको अनुभव गरेको खतिवडाले बताए ।

एकसाताअघि पनि शिक्षा बहुउद्देश्यीयले झापाको धुलावारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि उनले तिर्न बाँकी एकलाख ३१ हजार एक सय ३९ रुपैयाँ ऋण मिनाहा गर्दै राहतवापत १५ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : श्रावण ५, २०८० शुक्रबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]