जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोडमा सुर्तिजन्य पदार्थ निषेध किन नगर्ने ?

सम्पादकीय
कनकाई नगरपालिकाले साउन १ गतेदेखि सुर्तिजन्य पदार्थको किनबेच र प्रयोगमा पूर्ण रुपमा निषेध गरेको छ । यतिबेला कनकाईका हरेक पसलहरु सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र लेखिएको पोष्टर टासिएको छ । अर्थात, अहिले कनकाईको जल्दोबल्दो विषय नै सुर्तिजन्य पदार्थ बनेको छ । आम नगरबासीको स्वास्थ्यलाई ख्याल गरेर गरिएको निर्णय स्वागत योग्य छ । यसरी अन्य पालिकाहरुले पनि विस्तारै सुर्तिजन्य पदार्थको किनबेचलाई प्रतिवन्ध लगाउनुपर्छ । तत्काललाई यो निर्णय धेरैलाई गलत लाग्न सक्छ । तर, यसले दीर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्नेछ ।

नगरपालिकाले सुर्तिजन्य पदार्थको किनबेच र प्रयोगमा निषेध गरेपछि केहि व्यापारीलाई समस्या भएको हुन सक्छ । ति व्यवसायीले पनि नगरपालिकाको निर्णय पालना गर्नैपर्छ । एक जना व्यापारीका नेताले साउन १ गतेदेखि चुरोट छोडेको सुनाए । नगरको निर्णयलाई सामाजिक व्यक्तित्वहरुले पालना गर्नुको विकल्प नै छैन । समाजका अगुवाहरुले यस प्रकारका अखाद्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्नैपर्छ । व्यापारीका नेताले दैनिक ९-१० वटा चुरोट खाने गरेको सुनाए । अहिले चटक्कै चुरोट छोड्दा सामान्य असजिलो भए पनि स्वास्थ्यका लागि ठुलो क्रान्ति भएको अनुभव बाँडे । यसरी सबैले आफ्नो जीवनका लागि पनि सुर्तिजन्य पदार्थ त्याग गर्नैपर्छ ।

सुर्तिजन्य पदार्थको प्रयोगले स्वास्थ्यमा असर मात्रै गर्दैन, आर्थिक रुपमा पनि ठुलो समस्या निम्त्याइरहेको छ । हरेक परिवारमा सुर्तिजन्य पदार्थको प्रयोग घटाएर त्यस वापतको रकम जम्मा गर्ने हो भने सामान्य परिवारमा खर्च नै धान्ने अवस्था पनि छ । छिमेकी पालिका बिर्तामोड नगरपालिकाले पनि नीति तथा कार्यक्रममा सुर्तिजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिवन्ध लगाउने विषय उल्लेख गरेको छ । अब, बिर्तामोडले पनि ढिलाई गर्न हुदैन । बिर्तामोड नगरपालिकाले पनि योजनावद्ध रुपमा सुर्तिजन्य पदार्थको किनबेच र प्रयोगमा पूर्ण रुपमा निषेध गर्नैपर्छ । यहाँका नागरिकको स्वास्थ्य र आर्थिक जीवनलाई ख्याल गरेर बिर्तामोडले चाँडोभन्दा चाँडो सुर्तिजन्य पदार्थमा प्रतिवन्ध लगाउनु जरुरी छ ।

प्रकाशित मिति : श्रावण ८, २०८० सोमबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]