बैशाख १४, २०८१ शुक्रबार

‘समृद्ध अर्जुनधारा, सुखी अर्जुनधाराबासी’ को जग बनाउँदैछौं : हरि कुमार राना

झापाको ऐतिहासिक भूमि हो, अर्जुनधारा नगरपालिका । जहाँ पूर्वको पशुपतिनाथ र मनग्य धार्मिक एवम् पर्यटकीय स्थल छन् । जहाँ परिवर्तनको निम्ति जीवन दिइएको भूमि सुखानी पनि छ । शनिश्चरे, अर्जुनधारा र खुदुनावारी मिलाएर बनाएको अर्जुनधारा नगरपालिका नगरवासीको लागि के गर्दैछ ? समृद्ध नेपाल , सुखी नेपालीको अभियानमा अर्जुनधाराको विकास निर्माण र आगामी योजना बारे नगर प्रमुख हरि कुमार रानासँग गरिएको कुराकानी :

१, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को निम्ति अर्जुनधारा नगरपालिकाले के गर्दैछ ?

यो सन्दर्भमा अर्जुनधारा नगरपालिकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ र ‘समृद्ध अर्जुनधारा, सुखी अर्जुनधाराबासी’ बनाउनको निम्ति हामी आधार तयार गर्दैछौं । खासगरी अर्जुनधारा नगरपालिकाले विगत २ वर्षदेखि पहिलो प्राथमिकता पूर्वाधार र दोस्रो प्राथमिकता कृषिलाई राखेको छ । यो कृषिमा आधारित नगर हो । बहुसंख्य जनताहरु कृषिमा आधारित भएका कारण कृषिलाई राखिएको प्राथमिकतामा राखेको छ । कृषिलाई पनि बाली उत्पादन ,अन्न बाली, नगदे बाली ,अन्न बालीमा खाने कुराहरु, नगदे बालिमा चिया, सुपारी, फलफूलहरुलाई राखिएको छ । कृषिको प्रवद्र्धन विकास गर्नुपर्छ भन्ने गरि अर्को पशुपंक्षी पशुमा दुग्ध, बाख्राहरु राखिएको छ । हामीले सबै एकै चोटी गर्न नसक्ने भएपछि गत वर्षदेखि वडा नम्बर ८ लाई कृषि पकेट एरियाको रुपमा त्यसलाई लिएर जाने घोषणा गरेका छौं ।

यस वर्षदेखि ज्ञान केन्द्रले पनि त्यसलाई अलिकति समातेको छ । त्यहाँ कृषि उपजको निम्ति । तर विडम्बना के भो भने यसपाली हाम्रो यो झापामा फौजी किराले आक्रमण गरेर आक्रान्त बनाएको छ । वडा नम्बर २ , वडा नम्बर ८ , वडा नम्बर ९ र वडा नम्बर १० मा यो किराहरुले आक्रमण गरेको छ । यसबाट कसरी जोगिन सकिन्छ, जोगाउन सकिन्छ भनेर तुरुन्तै कृषिशाखा अर्जुनधाराका साथीहरु परिचालन हुनुभयो । उहाँहरुले ज्ञान केन्द्रको साथीहरुलाई पनि परिचालन गर्नु भयो । तर आक्रमण धेरै बढि सकेको र पानीको अभाव भएको कारणले गर्दा यसलाई केहि गर्न सकिएन ।

यसको समस्याको जड भनेको लामो समयदेखि रासायनिक मल र विषादिको प्रयोग , मलबिउ मौलिक नभएको बाहिरबाट आयातित विकासे मलको नाममा आयातित मल हुनुको अर्को कारण भनेर उहाँहरुले आशंका पैदा गर्नु भएको छ । यो कुरालाई नियन्त्रण गर्नको निम्ति हामीले गत वर्षबाट माटोको स्वास्थ्य सुधार गर्नुपर्छ भन्दै काम गर्दै आएका छौं ।

हिजोदेखि प्रयोगमा लिएर आएको आइपिएम कक्षाहरुलाई पनि नगरपालिकाबाट सञ्चालन गरिएको छ । त्यसको अतिरिक्त यसपालिबाट हरियाली नेपाल भन्ने एउटा संस्थाले आएर हाम्रो नगरको प्रत्येक वडामा सम्भव भएसम्म अधिकतम ५ वटा टोलमा ५ ठाँउमा जैविक प्राकृतिक खेती गर्ने भन्ने खालको कुरा गर्नु भएको छ । त्यहाँ प्राकृतिक खेती गर्नको निम्ति हामीसँग भएको हिजोको लोकल गाई, जुरे गोरु, जुरे गाईको मलहरुको प्रयोग गरियो भने गोबर र गउँद औषधिको रुपमा प्रयोग हुन्छ र कतिपय अन्न बालिमा लाग्ने जिवाणुहरुलाई नियन्त्रण गर्न सकिन्छ । उत्पादनलाई पनि व्यवस्थापन गर्न सकिन्छ भन्ने गरि यो योजनाको साथमा अगाडि बढेका छौ । यसपालि हामीले त्यो ८ नम्बर वडालाई अलिकति विस्तार गरेर अन्य वडा तिर पनि छेउको ७ नम्बर ९ नम्बर वडा तिर लाने भनेर विस्तार ग¥यौं ।

तर संयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत यो सुपर जोन झापा जिल्लामा परेकोले हामीले ४ नम्बर वडालाई सुपर जोनको रुपमा स्थापित गराएर अगाडि लाने सोच बनाएका छौं । यसका निम्ति केन्द्रको पनि हामीलाई सहयोग हुन्छ र केन्द्रबाट प्राप्त प्रविधि र प्राविधिकहरुलाई अन्यत्र तिर पनि विस्तार गर्दैछौं । कृषिको क्षेत्रमा सुपारी र रबर जोनलाई पनि व्यवस्थित गर्दै अगाडि बढाउने भनेर हामी लागि रहेका छौँ । भविष्यमा कृषिउपज बजारको ईलाम पहाडमा उत्पादित सामग्रीहरुको खपत गरेर यसलाई ट्रान्जिट पोइन्ट जस्तो बनाउनको निम्ति हामीले १० कठ्ठा जस्तो जमिन लिएर त्यहाँ भवन बनाउँदैछौ । प्रदेश सरकारको सहयोगमा त्यो भई सकेपछि ईलाममा वा पहाडमा उत्पादित सामग्रीहरु त्यो ठाउँमा आउँछन् र बाटाहरु पनि उत्तर, दक्षिणका बाटाहरु पनि निर्माण हुदैछन् ।

अहिले देउमाई न.पा को गाग्रेभञ्ज्याङ्बाट २ घण्टामा हामी अर्जुनधारा आइपुग्छौ । तराईको सामग्रीहरु पनि त्यहाँबाट लाने ल्याउने काम भइरहेको छ । उत्पादन र व्यापारीकरणलाई पनि व्यवस्थापन गर्न तिर लागेका छौ । अर्को कृषिसँग गाँसिएको पशुको कुरा छ । गत वर्ष हामीले वडा नम्बर २ को ४ नम्बर बेलटार टोलमा दुग्ध उत्पादन गर्ने गरिको कार्यक्रम सञ्चालन गरेका थियौ । हामीले यसपाली वडा नम्बर २ को सबै टोललाई दुग्ध उत्पादन गर्ने गरि अगाडि बढाएका छौँ र त्यहाँ सिलिङ सेन्टर पनि स्थापना गरि सकेका छौ । गाई किसानहरुले उत्पादन गरेको शुद्ध दुध पूर्वाध सहकारी संस्था डेरीलाई हामीले उपलब्ध गराएर त्यहाँबाट बनिने सामग्रीहरु बेचबिखन गर्नको निम्ति हामीले गत वर्ष ३५ जना युवा , युवतीहरुलाई तालिम पनि दियौ । ७ वटा स्टल राखेर बेच्नको निम्ति हामीले बजारको व्यवस्था पनि ग¥यौ ।

अरु होटलवाला साथीहरु पनि हुनुहुन्थ्यो र होटलमा पनि अब हिजोको जस्तो कोकहरु होइन, हाम्रो मौलिक उत्पादन दुध,दही, मही, खुवाहरु, ललिपपको ठाउँमा कुराउनेहरु बनाएर बेच्नुपर्छ भन्ने गरि हामीले उत्पादन पनि गर्ने बजारीकरण पनि गर्ने र किसानले नपाएको औषत मुल्यको पनि व्यवस्थापन गर्ने गरि हामी लागेका छौ । कृषि उत्पादन अन्न बालिले भन्दा पनि पशु बालिले दुग्धमा राम्रो फड्को मारेको अनुभूति भएको छ । हिजो त्यो क्षेत्रमा २२ रुपैंयाँ लिटर देखि ३० रुपैंँया लिटरमा बिक्री हुने गाई भैसीँको दुध आज न्यूनतम ४४ देखि ७० सम्ममा किसानहरुले बेचबिखन गर्न पाएका छन् । कृषिको सवालमा यसले किसानको अर्थतन्त्रको मुल मेरुदण्डलाई नै बलियो बनाउछ र हाम्रो अर्थतन्त्र बलियो भयो भने क्रमशसँग समृद्धि थपिन्छ भन्ने लक्ष्य योजनामा छौ ।

दोस्रो, अर्जुनधारा परापर्यटनको गन्तब्यको स्थल बन्न सक्छ । ०७४ सालको पहिलो वर्ष नै अर्जुनधारा न.पा को धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा अर्जुधारा जलस्रोत धामलाई एक साबिकको अर्जुनधारा र साबिकको शनिश्चरे, झापाको जेठा गुम्बा कालिस्थानको बौद्ध गुम्बालाई साबिकको खुदुनाबारी क्षेत्रको फाल्गुनन्द १६ औँ विभुति फाल्गुनन्दको नाममा खोलिएको माङ्हिम छ । त्यसलाई फाल्गुनन्द बाटिकाको नाममा यो ३ वटा कुरालाई राज्यले हामीलाई सम्बोधन गर्न प्रस्ताव पठाए अनुसार संघीय सरकारले पर्यटन मन्त्रालयले अर्जुनधारा जलेश्वर धामलाई १०० वटा धार्मिक गन्तब्यको स्थान मध्ये एक अर्जुधारा जलेश्वर धामलाई राख्न सफल भएको छ । तर कालिस्थानको जेठा गुम्बा र फाल्गुनन्द पर्यटकीय स्थललाई प्रदेश सरकारबाट सहयोग सुरु भएको छ । परापर्यटनको निम्ति अर्को हामीले सहकालेलाई पनि व्यवस्थित गर्ने दिशा तिर लागेका छौ । साठीमुरेमा एउटा विशाल विराट श्रीकृष्णको प्रतिमा प्रतिस्थापन गर्नु भनेर सोयल टेष्ट ग¥यौ । त्यसको डि.पि.आर बनिने क्रममा छ । र त्यो बनिसके पछि हामी पर्यटन मन्त्रालयमा जाने र आन्तरिक व्यवस्थामा लाग्ने भनेका छौं ।

प्राविधिक कारणले गर्दा यो वर्ष अभिलाषा मात्रै होला कि भन्ने पनि छ । यो ढङ्गले हामीले कृषि उत्पादन र पर्यटनलाई समुचित व्यवस्थापन गर्दै जानेछौं । अन्य पनि भूमिहरु छन् । नेपालको एक मात्र शंखराचार्य पिठ साधुटार यो नगरमा मात्रै छ । नेपालमा एक मात्र साकाम्बरीको देवस्थल पनि यहिँ अर्जुनधारामा छ । अहिलेसम्म कतै नबनिएको एक मात्र कामक्षको प्रतिकको रुपमा स्थापना गरिएको मन्दिर पनि यहि अर्जुनधारा नगरपालिकाको वडा नम्बर ११ मा छ । यस्ता धेरै विन्दाबासिनी देवि देवताहरुको तिर्थस्थलहरु र २९ सालमा ५ जना विर किसान योद्धाहरुले आफनो सुन्दर जीवन अर्पण गरेर किसान , मजदुरहरुको हकहित , इज्जत, अधिकारलाई चेतनाको ज्योति फैलाउनको निम्ति उहाँहरुले रगतसगँ साटेको स्थल पनि यहिँ नगरपालिकाको छेउमा छ । त्यसको सम्झनामा बनाएको सुखानी पार्क पनि यहिँ नगरपालिका भित्र छ ।

पर्यटकहरु आउने जाने योजना भएकोले गर्दा अतिरिक्त आम्दानीको साथ यो समृद्धि ल्याउनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने ठानिएको छ । जति समृद्धिको जिन्दगी सुरु भयो, जति रोजगार प्राप्त गर्न सकियो, जति खान लाउनमा समस्याबाट मुक्त हुदैँ जान थालियो भने देखि स्वभाविक रुपबाट हराएको शान्ति आपसेआप परिवारमा आउछ । समाजमा आउछ भन्ने हामीले विश्वास लिएका छौ । समृद्ध र शान्ति आपसमा पुरक पनि हो भन्ने ठानिएको छ र आगामी यस वर्ष २०२० अन्तर्राष्टिय पर्यटन वर्षलाई मनाउनको निम्ति हामीले अर्जुनधारा नगरपालिकाबाट डिसेम्बर भित्रमा एउटा ठोस निर्णय गरेर चैत्र र बैसाखलाई छुने गरि र विद्यालयहरुको पनि छुट्टिको समय मिल्ने गरि हामीले यस नगरपालिकामा एउटा अर्जुनधारा महोत्सव सञ्चालन गर्नेछौ । त्यहाँ कला, साहित्य, संस्कृति देखि लिएर खेलकुद, जातीय पहिरन , भेषभुषा र जातीय खान्कीहरुको पनि स्टल राखेर अर्जुनधारा महोत्सव सञ्चालन गर्ने लक्ष्य लिएका छौ । यसरी अर्जुनधारा नगरपालिकालाई परिचय गराउने गरी लागेका छौं । र, यो हाम्रो सुरुवातले अहिलेको अहिले हाम्रौ पालामा सबैं संभव होला भन्ने छैन ।

५ सालमै सकिन्छ भन्ने ठानेका छैनौ । तर हाम्रो निरन्तरताको प्रयासले एक दशक भित्रमा अर्जुनधाराका नागरिकहरु असुखि र असमृद्धि हुने कुरा बाँकी रहन्छ जस्तो मैले ठानेको छैन । किनभने भिरपहरामा , पहिरोमा बस्ने साथीहरुलाई समेत नगरपालिका भित्रको समस्याको गम्भीरयतालाई प्राथमिकतामा राखेर पहिरोको साथिहरुलाई व्यवस्थापन ग¥यौ । दुर्गम क्षेत्रको माटे जस्तो ठाउँको साथीहरुलाई खानेपानीको समस्या हामीले निदान ग¥यौ । अब यस पटक पनि हामीले माग गरेका छौ । विशेष प्रस्तावको रुपमा लगेका छौ । र सुपे , कैजाले, फर्सेबारी,सिरान विरान तिर पनि खानेपानी विस्तार गरेर लिएर जाने कतिपय आफूले सक्ने आफूले गर्ने आफ्ले नसक्ने प्रदेश र संघसँग समन्वय गराउँदै लिएर गएको छौ ।

आवागमनको निम्ति असुविधा हुने ठाउँमा पनि पर्यटकहरु आएर झुल्न सजिलो हुने गरी झोलुँगे पुलहरु पनि प्रयोग गरेर पर्यटनमा थप उचाई र थप आकर्षक थप्ने दिशा तिर अर्जुनधारा नगरपालिका यो २ वर्षमा अगाडि बढिसकेको छ । अब यस १ वर्ष भित्र पनि हामीले शनिश्चरे बजारलाई चोक बनाउन खोज्दैछौं । यो चोकलाई हामी पुरा गरेर लान्छौ । ३ सय मिटर बिचमा डिभाईडर २ पट्टि हिड्ने ओछाएको छ । त्योे सिक्किमको एमजी मार्ग जस्तो, दमकको नाइट मार्केट जस्तो बनाएर लिएर जाने उद्धेश्यको साथ यसलाई सम्पन्न गर्छौ ।

हामीले अर्जुन र गाई माताको सालिक भर्खरै निर्माण सम्पन्न गरेका छौं । त्यो सालिकलाई पनि हामी व्यवस्थापन गर्छाै । अर्जुन र श्रीकृष्णको रथ छ । यो रथ शनिशरे बजारमा स्टल गर्ने तयारी गरिरहेका छौं । तर परिकल्पना गर्न नीति बनाउन जति सजिलो छ त्यति नै व्यवहारमा उतार्न गाह्रो छ । कतिपय निर्माणको काममा समय र स्रोतको व्यवस्थापनको पनि महत्वपूर्ण भुमिका भएकोले गर्दा सोचे जस्तो कामहरु जुन गतिको साथ हुनुपर्ने त्यस्तो भइहरेको छैन । कृषि उत्पादन , परापर्यटनलाई प्राथमिकतामा राखेर नेपाल सरकारले समाननीय प्रधानमन्त्रीले अगाडि सार्नु भएको नारा जुन छ ‘समृद्ध नेपाल,सुखी नेपाली’ , ‘समृद्ध अर्जुनधारा र सुखी अर्जुनधाराबासी’ बनाउने दिशा तिर सरकारको केन्द्रीय नारालाई मध्यनजर गरेर हामी यो ढङ्गबाट अगाडि बड्ने कोसिश गरेका छौ ।

२, चुनावमा गरेका बाचा पुरा गर्नु हुदैछ ?

यो जनताहरुले बुझ्ने कुरा हो । अर्को कुरा के हो भने मैले आफ्नो इमानलाई जोगाएर , पार्टीको छबिलाई उच्च राखेर, शिरमा राखेर मतदाताहरुको सद्भावलाई कायम राखेर र पार्टीको छबि ,मतदाताहरुको सद्भाव मात्रै होइन मेरो पनि आफ्नो पारिवारिक जीन्दगी छ । भविष्य छ, सन्तान छ, उनिहरुको भविष्यको सारा कुरालाई आगामी १०÷१५ पुस्ता सम्झेर इमानदारी पूर्वक काम गर्ने कोसिश गरिरहेको छु । मैले ठिक गर्दै छु, बेठिक गर्दै छु त्यो मैले भन्दा पनि जनताले बुझ्ने कुरा हो ।

३, अबको योजना के छ ?

मुल योजना हामी कृषि र परापर्यटनमा जसरी लागेका छौ, त्यसै गरी शिक्षाको सुधार गर्न जरुरी छ । हामीले शिक्षालाई बुझ्न पुरै २÷३ वर्ष खियाउनु पर्छ । झोलामा गुलेली बोकेर आओ, शिक्षक साथीहरु पनि आओ प्राध्यापक पनि आओ, कर्मचारी पनि आओ । सबै आओ आन्दोलन गरौं । मुल शत्रूको अन्त्य गरौं । जनताको बैरीलाई समाप्त गरौं भन्ने दिन सकिएको छ । जनताको राज्य स्थापन गर्नको निम्ति मुल केन्द्र त्यो भएर हामी लामो समयसम्म संघर्षरत भयौ । सुधारका लागि निरंकुश शासनको समयमा बनाइएको कतिपय ऐन कानुनले गर्दा समस्या छन् ।

शिक्षाको गुणस्तरलाई वृद्धि विकास गर्न हामीले अब कक्षा १ देखि कक्षा १० सम्म क्रमश ः स्मार्ट कक्षाहरु बनाउनु पर्छ । अर्जुनधाराका विधालयमा दुलो परेका टिनका छानाहरु छन् । यसपाली कक्षालाई स्मार्ट बनाएर लिएर जानुभन्दा अगाडि त्यो खर्चले सबभन्दा अगाडि दुलो परेको टिनाको छाना उक्काएर फ्याक्ने , कोठा मुनि स्र्माट बनाएर के गर्नु पानी प¥यो भने माथिबाट चुहिन्छ । शिक्षक साथीहरु, मेरा दौतरी नै धेरै छन् । पढाउनेमा भन्दा पनि आन्दोलन गर्नेमा धेरै सिपालु भएको कारणले गर्दा अब राम्रोसँग अंग्रजी लेख्न पढ्न जान्ने, राम्रोसँग गणित, विज्ञान पढाउन पढ्न जान्ने बेरोजगार भएर घन्टिको रालो भएर हल्लिने युवा विद्यालय छोडेका, कलेज छोडेका राम्रोसँग कम्प्युटर चलाउन जान्ने युवाहरुलाई स्वयम्सेवक शिक्षकको रुपमा प्रतिस्थापन गर्दै लिएर जाने लक्ष्य हो । यसपालि हामीले सकेनौं, स्मार्ट कक्षाहरु बनाएर स्वयम्सेवक शिक्षक राख्न । किन भने त्यो दुलो परेको छानाहरु फ्याक्नु प¥यो । ट्वाईलेटको राम्रो व्यवस्थापन छैन् । टवाईलेट बनाईदिनु प¥यो भनेर त्यो ढङ्गबाट जाने सोच्यौं ।

आगुम सालबाट कक्षाहरुलाई स्र्माट बनाउदै विद्यार्थीहरुलाई पनि राम्रोसँग बस्ने वातावरण बनाउदै र खान नपाउने परिवारको नानीहरुलाई खानेपिनेको वातावरण सिर्जना गर्दै केन्द्रले गरेको सहयोगमा अपुग भयो भने त्यसलाई पनि पुरक बनाउदै र व्यवस्थापन गर्दै र वर्तमान शिक्षकहरुलाई सम्मान गर्दै नयाँ शिक्षकहरु अहिलेको प्रविधिले युक्त शिक्षकहरु दक्ष, सिपालु विद्यार्थीहरुलाई शिक्षकको रुपमा राखेर १ पिरियड ,२ पिरियड पढाउन लगाएर यो ढङ्गले शिक्षा गुणस्तर उठाँएर लिएर जाने लक्ष्य छ । शिक्षाको परिणाम १० वर्ष १५ वर्ष पछाडि मात्र देख्न सकिन्छ । संक्रमणकालको कारणले गर्दा शिक्षाको गुणस्तर घटेर गएको छ । शिक्षाको गुणस्तर कस्तो रहेछ भने हिजोको नीति अनुसार विद्यार्थीले फेल गर्न नपाइने, जाचँ दिने मुख्य कक्षा एउटा कक्षा ५ मा ,एउटा कक्षा ८ मा , एउटा कक्षा १० र एस.एल.सी मा ।

त्यति मात्र जाँच्ने अरु बेला कक्षा त्यतिकै चडाई दिनुपर्ने । जब ठूलो हुन्छ अनि एस.एल.सी मा गएर भोटे ताल्चा फुटाउन सक्दैन । नसके पछि त्यो नानी बासँघारीमा गएर सुल्पा तान्न थाल्छ । उमेर पनि चडि सकेको हुन्छ, बाबु, आमाले भनेको पनि नर्टेने हुन्छ पढ्नु पर्छ भन्ने ध्यान पनि हुदैन । त्यो विद्यार्थीको बाबु , आमालाई पढाउनु पर्छ भन्ने ध्यान पनि हुदैन । यो समस्या पनि छ । तर हिजो म पढ्दा यहि शनिश्चरे हाइस्कुलमा पञ्चकन्या ग्रुपको छोरो पनि यहिँ पढ्नु हुन्थ्यो । डा. शंखर उपे्रतिको छोरा पनि यहिँ पढ्नु हुन्थ्यो । धनिको छोराछोरी पनि किसानका छोराछोरी पनि मजदुरको छोराछोरी पनि हामी हिजोसगैं बसेर पढ्थ्यौ ।

हिजो जुन गुणस्तर थियो संक्रमणकाल र निजी विद्यालयहरुको व्यवस्थापन र यो कतिपय ऐनको समुचित व्यवस्थापन हुन नसक्नुको कारणले गर्दा कक्षा विभक्त भएको छ । श्रेणी विभक्त भएको जस्तो छ । यो कुरालाई व्यवस्थापन गरेर जानु पर्छ भन्ने समस्या हामीले बुझेका छौ र यसलाई क्रमश समस्या निर्धारण गर्दै जान्छौ । यो शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा हामीले यस पटक कम्तिमा दीर्घरोगीको परिवारलाई राज्यले पनि सुविधा त दिएको छ । तर राज्यको १ लाख २ लाखको सेवा सुविधाले नहुने भएपछि कम्तिमा ३५ सय तिर्दा १ लाखको औषधि गर्न पाउनु हुन्छ । हामीले त्यसलाई मापदण्द बनाएर दीर्घरोगीका परिवारहरु र आधारभुत वर्गका नागरिक, मतदाताहरुलाई मेडिकल इन्स्योरेन्सहरु बनाएर लिएर जाने र हामी नगरपालिकामा आएपछि हाम्रो स्वास्थ्य चौकीलाई २४ घण्टा ईमर्जेन्सी सेवा बनाएपछि राम्रोसंँग विरामीकामे उपस्थिति भएको छ । एक बिगा जग्गा हाम्रो अनन्य मित्र कृष्ण बराल ज्यूको पितामाताको सम्झनामा उहाँहरुको परिवारले दिने कबुल गर्नु भएको छ । लेखापढी भएको छ, पास केहि प्राविधिक कारणले भएको छैन । हामीले शहरी विकासबाट भवनको लागि आउनु भएका प्रतिनिधिलाई देखाएर पठाएका छौं । त्यहाँ १५ बेडको अस्पताल पनि बन्छ ।

तर अहिले पनि हामीले त्यहाँ ५/७ बेडको अस्पतालको रुपमा स्वास्थ्य चौकीलाई चलाएर लगेको छौ । हामीसँग विशेषज्ञ डाक्टरहरु हुनुन्न । तर एम.विवि एस. पास गरेर निस्केको प्राक्टिस टिचिङ् गर्ने ओ.जे.टि जस्तो डाक्टर ३/४ जना बसेर हामीलाई सेवा दिनु भएको छ । ११ वटा वडामा हिजोको स्वास्थ्य चौकी आज सघन शहरी स्वास्थ्य सेवा केन्द्र भन्ने छ । यसलाई ११ वटा पु¥याउने कोसिश गरेका छौ । घुगुरुको विकटतालाई, सुगमतालाई मध्यनजर गरेर वडा नम्बर २ मा २ ठाउँमा स्वास्थ्य चौकी छ, वडा नम्बर १० मा २ ठाउँमा छ । वडा नम्बर ११ मा २ ठाउँमा छ । यो ३ वटा वडामा २/२ वटा छ र अरु वडामा १/१ वटा प¥याउदैछौ । ९ नम्वरमा पिएससी भएकाले ९ नम्बरमा छुट्टै स्वास्थ्य चौकी छैन । ८ नम्बर सिमाना जोडिएकोले गर्दा ८ नम्बरमा पनि छैन । यो ९ र ८ मा नभएको फाइदा अन्य वडा तिर दुरदराजको एरियामा जोडेर लाने कोसिश गरेका छौ । यसलाई पनि बिस्तारै गुणस्तरिय बनाउदै लिएर जाने र गुणस्तरिय बनाउनका निम्ति राष्ट्र सेवक साथीहरुकै सेवा प्रवाहमा भर पर्ने हुन्छ ।

तर राष्ट्र सेवकहरुको अहिलेको संक्रमणकालिन अवस्थाले उनिहरुको स्थानीय दरबन्दी कहाँ हुने कति बेला हुने कहाँ जानु पर्ने चिठि आउँछ । एक ढङ्गले काम गर्दै हुन्छ तपाईको सरुवा भयो भनेर चिठि आएपछि त्यो साथीले खत्रकै छोड्नु पर्छ । यो कुरा व्यवस्थापन भएर गयो भने स्वास्थ्यलाई सुधार गरेर लिएर जाने कुरा छ । पूर्वाधारको सवालमा हामी प्रवेश गरेको वर्ष ५३ वटा पुल हाम्रो भत्कियो । त्यहि वर्ष ५४ वटा पुल हामीले बनायौ । गाउँगाउँबाट शनिश्चरे , खुदुनाबारी बजारमा आउन असुविधा भएकोले गर्दा ५४ वटा पुल बनायौं । गत वर्ष हामीले ३० वटा जति पुल बनायौ । यस वर्ष पनि हामीले २०/२५ वटा जति पुल बनाउने लक्ष्य राखेको छौ । जम्मा हामीले बनाउनु पर्ने १ सय २४ वटा पुल छ , १ सय २४ वटा पुलमध्ये हामीले ५/६ वटा ठूलो पुल छ , त्यो बनाउन सक्दैनौं । जस्तो बिरिङ खोला ,दैझोडा र रातेखालको टाङ्टिङ जोड्ने पुल बनाउन जरुरी छ । त्यो हामीले सक्दैनौं ।

राते गाजाबारीको पुल बनाउन सक्दैनौं । त्यो प्रदेश सरकारसँग कुरा भएको छ । ठूलो नेतेमा संघीय सरकारले बनाउने र सानो नेतेमा राँैङ् गापा र माननीय काजिमान कागते, इलामको प्रदेश माननीयको पैसा र अर्जुनधाराले मिलेर बनायौ । त्यसैगरी दुद्धे खोल्छिमा एउटा पुल बनाउन बाँकी छ । यहाँ माननीय काजिमान कागते र अर्जुनधाराको माननीय विर्ख प्रधान ज्यूको सहयोगमा बनाउने कुरा छ । जुकेखाडीको एउटा वन समिति अगाडि सुखानी खोलामा पनि पुल बनाउन जरुरी छ । त्यहाँ माननीय विर्ख प्रधान र माननीय पवित्रा खरेल लगायत संघीय माननीयहरुको पैसाले त्यो क्षेत्र विकास कोषले बनाउनु पर्छ भन्ने लक्ष्य राखेको छौं ।

साना–साना १०,२०,३०,४०,४५ लाख सम्म लगानी गरेर हामीले बनायौ । न्यूनतम १५ लाखदेखि ४५ लाखसम्म । तर ४५ लाख भन्दा माथि माननीयहरुसँग पनि सहकार्य गर्दै छिमेकी गापा, नपा पनि समन्वय गर्दै त्यो एउटा बाबियो खोल्छिमा ईलाम नगरपालिका र अर्जुनधारा नगरपालिकाले संयुक्त भएर २८/३० लाखको एउटा पुल निर्माण ग¥यौ । यो ढङ्गले हामीले पूर्वाधारको कामलाई पनि गर्दै लादैछौ । बिर्तामोड, महानन्दर चोक , शनिश्चरे बजार हँुदै बुधबारे जोढ्ने बाटोमा १ करोड रुपैंयाँ सडकले विनियोजन गरेको छ । त्यसलाई ठेक्का लगाएर नपुगेको रकम विस्तार गरिदिनु पर्छ भनेका छौं ।

भर्खरै हामीले शनिश्चरे बजार देखि खुदुनाबारी जाने बाटा साडे ७ , ८ किलो मिटरको बाटो ७ हजार ७ सय ७७ मिटर दुरीको बाटो निर्माण गर्नको निम्ति पूर्वाधारको सीडीई, इन्जिनियरसाबहरु , कन्ट्रक्सनको ठेकेदार पोर्तिम बाजी, राजनीतिक दलका नेताहरु, वडा अध्यक्ष ज्यूहरु, प्रदेश माननीय ज्यू समेत राखेर बसेर छलफल गरेर ठाउँ हेरेर गएका छौ ।

कोईकोई ठाउँमा हिउँदोको बेलामा ड्रोइङ डिजाइन गर्ने भएकोले बर्खाको बेलामा पानी जाने ठाउँ नभएर बाटो देखि उत्तर पट्टिको जमिन , खेतहरु, घरहरु डुब्ने दक्षिण पट्टि पानी नआएर खेतमा बाली लगाउन नपाउने जस्ता समस्या भएकोले कहाँ–कहाँ पर्छ , त्यहाँ आवश्यक हिम पाईपहरु नगरपालिकाले प्राविधिकको लगतस्टिमेट र सिफारिस अनुसार नगरपालिकाले हिमपाईप खरिद गरिदिने उहाँहरुको डिजाईनमा नपरेकोले गर्दा ठेकामा नपरेकोले गर्दा जोढ्ने काम नोक्सान परे पनि नाफा परे पनि उहाँहरुले नै जोडनु पर्छ भनेका छौ र यो बाटो शनिश्चरे बजारदेखि जहाँ हामीले बनाउदै छौ त्यहाँदेखि पश्चिम पट्टि जाने बाटोमा सडक विभागबाट आएको ३५ लाख र नगरपालिकाले छुट्टाएको रकम जोडेर वडा नम्बर ७ को बाटोलाई सिध्याउने । त्यहाँबाट उता प्रदेशको शसर्त अनुदानबाट प्राप्त १ करोड ६० लाख यसपाली छ ।

१ करोड त्यो बाटोमा लगाएर ७ नम्बरको दहिझोडा तिर पु¥याउने र ६० लाख पोहोरसालबाट बनाउदै गरेको सब्जी हाटलाई व्यवस्थापन गर्ने भन्ने उद्देश्य साथ गत वर्ष र यो वर्षको कार्य योजनाहरु बनाएर लगेका छौ ।

शिक्षामा पनि हामीले केही गर्दैछौ । ५ नम्बर वडालाई शिक्षा पकेट क्षेत्र बनायौ र अहिले सामाजिक प्राथमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापना गरेर हामी लाँदैछौ । त्यसलाई परिक्षण गरेर जादैछौ । यो ढङ्गले जाने लक्ष्य उद्देश्य बोकिएको छ । अर्जुनधारा नगरपालिकामा हामी आएको साल करिव –करिव ९०/१०० दिन भित्र ९ जना भन्दा बढि महिलाहरु माथि हिंसा भयो । बलात्कार भयो । तर तत्काल सामुदायिक नगर प्रहरी भन्ने कार्यक्रम हामीले सञ्चालन ग¥यौ । त्यो सञ्चालन गर्न थाले पछि ९ वटा माध्यमिक विद्यालय र ११ वटा वडामा प्रहरी लगायत अभियान्ता इन्द्र ओली ज्यूलाई ल्याएर सचेतना प्रशिक्षण गराउँदै गएपछि गत वर्षको प्रहरीको प्रतिवेदनमा अर्जुनधारा नगरपालिकामा महिला हिंसा नभएको तथ्य आएको छ ।

यसलाई हामी यस वर्ष पनि निरन्तरता दिदै अगाडि बढाउने लक्ष्य उद्देश्यको साथ हामी अघि बढेको छौ । यसलाई निरन्तरता दिदै सामाजिक बिकृति , विसंगति, कुरिति केहि गर्नुपर्ने कामहरु बाँकी छ । राज्यले निर्धारण गरेको ५ सय मिटर वरिपरि गुड्का, मधु, सुर्तिजन्य पदार्थहरु र मदिराजन्य पदार्थहरु निषेध गरिनु पर्ने उद्देश्य छ । यसलाई योजना बनाएर अघि बढ्ने दिशामा छौ । तर यहाँ प्राविधिक समस्या के आयो भने प्रशासन अघि एक्लै नबढ्ने जनप्रतिनिधि त्यसको लागि अगाडि देखा परेर जान नखोज्ने ।

जाँदा वडाध्यक्ष्यलाई पठाउनु प¥यौ ,वडाध्यक्षले नेतृत्व गरिदिए प्रशासन जाने आफ्नो ढङ्गले नजाने, वडाध्यक्ष नेतृत्व गरेर अगाडि हिडन अप्ठ्यारो मान्ने, मेयर नै हिड्नु पर्छ भन्ने गरिको वातावरण खोज्ने अनि मैले यो विविध कारणले गर्दा समय व्यवस्थापन गर्न नसकेकोले गर्दा फेरि पनि यसलाई योजना बनाएर यो विकृति, विसंगति समाजलाई हानी नोक्सानी हुने कुराहरुलाई निरुत्साहित गर्नुको निम्ति एउटा ठोस ढङ्गबाट कदम चाल्नु पर्छ भन्ने सोचको साथ अगि बड्ने गरिएको छ ।

४, फोहोर व्यवस्थापन कसरी गर्ने सोचमा हुनुहुन्छ ?

हाम्रोमा एउटा सानो टिपर छ । शनिश्चरे बजारबाट हप्तामा २ टिपर फोहोर उठ्छ । बसपार्कबाट हप्तामा १ टिपर हुन्छ ,अनि खुदुनाबारीबाट हप्तामा १ टिपर हुन्छ । जम्मा ४ टिपर कहिले– कहिले विशेष परिस्थितिले ५ टिपर हुन्छ । यो फोहोर हामीले हाम्रै नगरपालिकामा विपत व्यवस्थापनको प्राङगणको छेउमा त्यसलाई व्यवस्थापन गर्दै छौ र दिर्घकालिन सोच भनेको हामीले घर–घरलाई सचेत गराएर कुहिने फोहोर र नकुहिने फोहोरमा काटि,कब्जाहरु ,सिसा ,प्लास्टिकहरु यिनिहरुलाई अलग–अलग राखेर समयमा त्यसलाई लिएर जाने र एक ठाउँमा डम्पिङ गर्ने र रिसाइक्लिङको निम्ति पठाउने भन्ने लक्ष्य लिएको छौं ।

कुहिने फोहोर जतिबाट उत्पादन गछौं । हामीले भरसक बायो ग्यास, एलपी ग्यास बाहिरबाट ल्याउनु भन्दा घर, घरमा बायो ग्यास बनाउ र त्यसलाई प्रयोग गरेर भए पनि बायो ग्यास उत्पादन गरौं भन्नेमा छौं । अब यहि माध्यम, पद्धति अपनाउने छौं । दोस्रो भनेको कन्काई विर्ता अर्जुन अल्टरनेटिभ इनर्जी हामीले त्यहाँ सुरु गरेका छौ । हाम्रो एक दिन यस्तो फोहोर हुन्छ, जुन हामीले घरमा व्यवस्थापन गर्न नसकिने अवस्था भयो भने त्यो ठाउँमा जान्छ र त्यसले झन्डै दिनको ६ मेट्रिकटन जति फोहोर खपत गर्छ । दिर्घकालिन सोचले त्यस तर्फ लागेका छौ । अहिलेको व्यवस्थापन भएको छ । तर अहिलेको व्यवस्थापनमा अप्ठयारो बिर्तामोडलाई परेको छ ।

५, दलहरुबाट के सहयोग भइरहेको छ ? र, समृद्धिको लागि अर्जुनधाराबासीसँग के अपील गर्नुहुन्छ ?

अर्जुनधारा नगरपालिका सचेत मतदाताहरुको नगर हो । यहाँका मतदाताहरुले नगरपालिकाले अघि सारेको कार्यक्रमहरु प्रदेश सरकारले, संघीय सरकारले सारिदिएको सबै हाम्रै समृद्धिको निम्ति हो ,हाम्रै सुख सुविधाको निम्ति हो भन्ने सहजता पूर्वक ग्रहण गर्नु हन्छ र त्यसलाई कार्यन्वयनमा लानको निम्ति मद्दत गर्नुहुन्छ ।

कहिले– कहिले त्यो कार्यन्वयन गर्न ढिलो भयो भने नगरपालिकालाई सहयोग गर्नु हुन्छ । बाटो बनाउन ठेकेदारले ढिलो ग¥यो , विभागले बनाउनको निम्ति सुस्तायो , नगरपालिकालाई तागत चाहिने भयो भन्ने कुरा आफैं बुझेर दलहरुले खासगरी र नागरिकहरुले नगरपालिकालाई सहयोग पुग्ने गरि जामसाम गरेर भए पनि झक्झकाउने कामले नगरपालिकालाई मात्र होइन, नगरपालिकाको ल्याकत तागतले भ्याउँदैन , नगरपालिकालाई सहयोग चाहियो भनेर तागत बढाउने काम गर्नु हुन्छ ।

यो मामिलामा अर्जुनधारा नगरपालिकाको सबै राजनीतिक दलहरु, नेताहरु धेरै सजक, सचेत र नगरपालिकालाई कति बेला सहयोग गर्नु पर्ने कुरा बुझेर बेलाबेलामा राम्रो सहयोग गर्नु भएको छ । नगरपालिकाले, प्रदेशले , केन्द्रले चालेका हरेक योजनाका कामहरुलाई पनि सकृयता पूर्वक सम्पन्न गराउन , कार्यन्वयन गराउन उहाँहरुले अहम भुमिका निर्वाह गर्नु भएको छ । र, उहाँहरुलाई विनम्रता पूर्वक के आग्रह गर्न चहान्छु भने सहिदहरुले आफ्नो सुन्दर जीवन अर्पण गरेर जीवनसँग साटेको अधिकार हो यो ।

अधिकारलाई हामीले सहि ढंगले सदुपयोग गर्न सकेनौं भने हामी सुखी र समृद्ध बन्न सक्दैनौं । त्यसैले यो प्राप्त अधिकारलाई प्रयोग गर्नको निम्ति हामी अधिकारमुखीसँगै उत्तरदायित्व र कर्तव्यमुखी बन्ने गरी अर्जुनधाराका नागरिकहरुसँग सिकेर सिङ्गो झापाका नागरिक र सिङ्गो देशको नागरिक र दलहरुले अर्जुनधारासँग अधिकारमुखी मात्र होइन कर्तव्य र उत्तरदायिमुखी बनेर यो अधिकारलाई सदुपयोग गर्न सकियो भने हामीले पूर्वाधारको सुख १०/१५ वर्षमा प्राप्त गर्न सक्छौ र १०/१५ वर्ष भित्रमा अभाव , खान , लाउन नपाउने यी यावत पीडाका कुराबाट मुक्त हुन सक्छौ । हाम्रो देश हेर्न लायक , बस्न लायक बनाएर लिएर जान सक्छौ । यसको निम्ति हाम्रो उत्तरदायित्व, कर्तव्य र देशलाई, आफ्नो नगरलाई माया र सहिदहरुले बगाएको रगतलाई सम्मान गर्ने गरि लिएर जान आह्वान गर्न चहान्छु ।

प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]