शहिद नेत्र पार्कको छानविन गर
सम्पादकीय
कम्युनिस्ट आन्दोलनमा झापा विद्रोहको गरिमा धेरै माथि छ । त्यसै आन्दोलनको अगुवामध्येका एक थिए, नेत्र घिमिरे । उनै घिमिरे र अन्य सहपाठीलाई तत्कालिन शासकहरुले सुखानीमा जेल सार्ने बहानामा हत्या गरे । उनीहरुको हत्या भएको ठाउँमा सुखानी स्तम्भ निर्माण गरिएको छ । हरेक फागुन २१ मा कम्युनिस्ट नेताहरु त्यहाँ पुग्ने र उनीहरुलाई सम्झने गर्छन् । सुखानीमा मारिएका योद्धाहरुको सम्मानका लागि अर्जुनधारामा सुखानी पार्क नै बनाइएको छ । आज, त्यो पार्क पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । सुखानी पार्क आन्तरिक पर्यटकहरुका लागि सहज र सुविधा सम्पन्न बन्दै गइरहेको छ ।
सुखानीमा हत्या गरिएका नेत्र घिमिरेको नाममा बिर्तामोड –७ मा अर्को पार्क निर्माण गरिएको थियो । पार्क निर्माणको अगुवाई सुरु देखि अन्तिमसम्म नरेश खरेलले गरेका थिए । झापा आन्दोलनको सहपाठी रहेका घिमिरेको सम्झनाका लागि खरेलले गरेको प्रयत्न सकारात्मक नै थियो । तर, तत्कालिन एमाले नेता खरेलले विकासपछि पार्कलाई निकास दिन सकेनन् । अहिले वन समितिलाई दोष थोपरेर उन्मुक्ति खोजेका खरेलकै पहलमा ठुलो लगानी भयो । पार्कमा करिव ३ करोड लगानी भइसकेको छ । लगानी वापत खरिद गरिएका अधिकांश संरचना कामै नलाग्ने अवस्थामा पुगेका छन् । पार्क झाडीले पुरिएको छ ।
वन समितिको चहाना भन्दा पनि एमाले नेताहरुकै चहानाबाट पार्क निर्माण सुरु भएको थियो । पार्क वनलाई आवश्यक थियो भने वनले कुनै पनि हालतमा सञ्चालन गर्ने थियो । अहिलेसम्मको सिलसिला हेर्ने हो भने वनलाई भन्दा पनि नेताहरुलाई पार्कको खाँचो थियो । तर, निर्माण पश्चात सञ्चालन नहुनुले निर्माणमा धेरै कैफियत छ कि भन्ने अनुमान गर्न सकिन्छ । शंकाहरु पर्याप्त छन् । पार्क सञ्चालन नगर्ने हो भने राज्यको ठुलो लगानी खेह्र जाँदैछ । त्यसैले पार्क सञ्चालनमा सम्बन्धितबाट पहलकदमी हुन आवश्यक छ । तर, आर्थिक पारदर्शिता गरेर मात्रै पार्क सञ्चालन हुनुपर्छ । निर्माण समितिको गैरजिम्मेवारीले वेवारिसे बनेको पार्कलाई वनले पनि अलपत्र पारेको छ । अब, यसको सञ्चालनका लागि बाटो खोज्नुपर्छ । त्यसका लागि वन समितिकै थाप्लोमा जिम्मेवारी आइलागेको छ । वन समितिले स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नपर्ने देखिन्छ ।