बैशाख २१, २०८१ शुक्रबार

झापामा आँखा पाक्ने समस्या भयावह

गगन ढकाल

झापा । झापामा आँखा पाक्ने समस्या दिनहु बढ्दै गइरहेको छ । आँखा पाक्ने समस्याबाट अधिकांश क्षेत्रका नागरिक प्रभावित बनेका छन् । पछिल्लो समय भाइरल जस्तै बनेको यो रोगका कारण जिल्लाका आँखा अस्पतालहरुमा बिरामीको चाप समेत बढ्न थालेको छ ।

बिर्तामोडस्थित मेची आँखा अस्पतालमा दैनिक कम्तिमा एक सय जना बिरामी आँखा पाक्ने समस्याकै उपचारमा आइरहेका छन् । मेची आँखा अस्पतालका ओपीडी इञ्चार्ज सन्तोष कर्णले यो समस्याले आँखाको सेतो झिल्लीलाई संक्रमण गरेर रातो बनाउने बताए । उनले आँखा भ्याक्टेरिया, भाइरस र एलर्जीका कारणले प्रायः रातो हुने गरेको बताउँदै हालको समस्या भाइरसले उत्पन्न गराएको जानकारी दिए ।

उनले यसरी आँखा रातो भएमा नजिकको आँखा अस्पतालमा तत्काल गएर उपचार गरिहाल्नु पर्ने बताए । कर्णका अनुसार यसरी रातो भएको आँखाको उपचार नगरेमा यसले आँखाको नानीमा पनि संक्रमण गर्ने र आँखामा फुलो पर्ने सम्भावना बढ्ने बताए । आँखाको सही समयमा उपचार नगरेमा यस रोगले दृष्टि विहीन पनि बनाउन सक्ने कर्णले जानकारी दिए ।

यसरी आँखा रातो हुने रोगले विशेष गरी बालबालिकालाई असर गरेको दिव्यज्योती आँखा अस्पतालकी आँखा विशेषज्ञ डा. मोनिका कर्माचार्य बताउँछिन् । उनले बालबालिकाहरु जथाभावी हातको प्रयोग गर्ने र हातले आँखा माड्ने गर्ने भएकाले उनीहरुलाई यस रोगले धेरै प्रभाव पारेको बताइन् ।

कर्माचार्यले हाल काँकरभिट्टा अवस्थित उक्त अस्पतालको कुल बिरामी मध्ये ९० प्रतिशत बिरामी आँखा पाक्ने रोग लिएर आउने गरेको बताउँछिन् । उनले दिव्यज्योती आँखा अस्पतालमा यो रोग आउन पूर्व प्रायः भारतीय नागरिक मात्र उपचारको लागि आउने गरेको तर हाल नेपाली नागरिकहरु पनि उपचारको लागि आइरहेको जानकारी दिइन् ।
आँखा पाक्ने रोगलाई डाक्टरी भाषामा कन्जनटिभाइटिस भनिन्छ । भर्खरै जन्मेको बच्चादेखि १५ वर्षको उमेरसम्मका बच्चालाई आँखा पाक्ने समस्या बढी देखिने आँखा विशेषज्ञ डा. मोनिका कर्माचार्यको भनाई छ ।

डा. मोनिकाले आँखा पाक्ने रोग बढ्नु कारण जलवायु परिवर्तन र ग्लोबल वार्मिङ् पनि भएको बताइन् । आँखा पाक्दा अत्यधिक पीडा हुन्छ । यसका साथै आँखा चिलाउने, पोल्ने र बिझाउने हुनुका साथै रातो हुन्छ । आँखा पाक्नबाट जोगिने प्रमुख उपाय भनेको सरसफाईमा ध्यान दिनु हो । आँखा पाकेमा जथाभावी औषधी प्रयोग गर्नुभन्दा आँखा अस्पताल गएर डाक्टरको सल्लाह बमोजिमको औंषधी मात्र प्रयोग गर्न डा.मोनिकाको सुझाव रहेको छ ।

आँखा पाक्दा आँसु बग्ने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनुका साथै सुन्निने गर्छ । आँसु बग्ने, चिलाउने, उज्यालोमा बस्न नसक्ने, पोल्ने, बिझाउने र रातो हुने आँखा पाक्नुका मुख्य लक्षण हुन् । साना बच्चामा यो समस्या देखिँदा आँखामा जालो देखिन्छ ।

डाक्टरहरुको सल्लाह अनुसार यसको उपचारको निम्ति पाकेको आँखालाई आइसले सेक्दा र सफा पानीले आँखा धुँदा केही सहज महसुस हुन्छ । हाम्रो समाजमा आँखा पाक्यो भने दुई चार दिनमा निको हुन्छ भनेर बजारबाट आफूखुसी औषधि किनेर लगाउने चलन छ । बजारमा पाइने औषधिले तुरुन्तै आँखा निको भए पनि भविष्यमा मोतिविन्दु, जलविन्दु जस्ता समस्या हुन सक्छ ।

डाक्टरहरुका सावधानीका निम्ति आँखा छुनुभन्दा अगाडि राम्रोसँग साबुन–पानीले हात धुने, सफा पानीले आँखा धुने, रुमाल, तौलियाबाट आँसुमार्फत भाइरस तथा ब्याक्टेरिया एकअर्कोमा सर्ने हुँदा आँखा पाकेका बच्चाको आँसु, चिप्राबाट बच्ने र उनीहरुले प्रयोग गरेका रुमाल र तौलिया प्रयोग नगर्ने आदि सल्लाह दिन्छन् ।

प्रकाशित मिति : श्रावण १६, २०८० मंगलबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]