बैशाख १७, २०८१ सोमबार

चौतर्फी दबाबपछि कोशीका सभामुख गौतमले दिए राजीनामा

विराटनगर : कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

राजीनामा दिन चौतर्फी दबाब आएपछि गौतमले केही समयअघि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डले पनि उनलाई बहुमत नपुग्ने अवस्थामा राजीनामा गर्न दबाब दिइरहेका थिए । प्रचण्डसँगको भेटपछि राजीनामा दिएर सरकार गठन गर्न उनी विराटनगर आएका हुन् ।

यसअघि असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशीको मुख्यमन्त्री बन्न प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गरेपछि सभामुख गौतम विवादमा तानिएका थिए ।

कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले असार २२ गते सर्वोच्चमा रिट दर्ता गराएको थियो। एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले परमादेशको माग गर्दै रिट दिएका थिए। रिटमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा, सभामुख गौतमलाई प्रतिवादी बनाइएको थियो।

सर्वोच्च अदालतको पूर्ण इजलासले जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउनु भन्दै थापाको नियुक्ति प्रक्रिया बदर गरिदिएको थियो ।

एक साता सरकारविहीन बनेको कोशी प्रदेशमा सभामुखको राजीनामासँगै अब गठबन्धनको सरकार बन्नेछ । गठबन्धनबाट कांग्रेसका उद्धव थापा नै पुनः मुख्यमन्त्री बन्ने भएका छन् । उनीहरुलै आज ५ बजे अगाडि नै प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । गठबन्धनमा अब कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद छन् । प्रदेशमा एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।

प्रकाशित मिति : श्रावण १६, २०८० मंगलबार  ४ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]