जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडको विषादी जाँच्ने प्रयोगशाला अविलम्ब सञ्चालन गर्न जागरण अभियानको माग

बिर्तामोड । उपभोक्ता जागरण अभियान झापाले तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने झापाको बिर्तामोडमा रहेको सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ ।

अभियानका अध्यक्ष मोहन काजीको नेतृत्वमा अभियानको टोलीले आज कृषि थोक बजारमा अनुगमन गर्दा नेपाल सरकारले स्थापना गरेको विषादी अवशेष द्रुत विश्लेषण इकाई (प्रयोगशाला) चार दिनदेखि बन्द रहेको तथ्य फेला पारेको थियो ।

प्रयोगशाला बन्द रहेको तथ्य फेला पारेपछि उपभोक्ता जागरण अभियानको अनुगमन टोलीले आजै विर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेल र बिर्तामोड वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईलाई भेटेर उक्त प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन पर्ने माग गरेको हो ।

बिर्तामोडको कृषि थोक बजार झापाको सबैभन्दा ठूलो र नेपाल सरकारले मुलुकका ११ स्थानमा सञ्चालन गरिरहेको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो कृषि बजार हो । यहाँ भारतबाट आयातित तरकारी र फलफूल ल्याउने गरिएको छ भने पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित सागसब्जी र फलफूल विक्रीका लागि किसान र व्यापारीले सोझै ल्याउने गरेका छन् ।

उपभोक्ता जागरण अभियान झापाले मानिसको स्वास्थ्यका लागि हानिकारण विषादीको मात्रा रहेको कुनै पनि तरकारी र फलफूल विक्री वितरणमा बन्देज लगाइनु पर्दछ भन्ने मान्यता राख्दछ । यसका लागि पहिलो शर्त भनेको विषादी अवशेष जाँच गरेर खानयोग्य ठहरिएपछि मात्र कुनै पनि सागसब्जी र फलफूल बजारमा विक्री वितरणका लागि लगिनु पर्दछ भन्ने हो । यसका लागि विर्तामोडमा रहेको उक्त प्रयोगशाला कुनै हालतमा बन्द गरिनु हुँदैन ।

अभियानले आज अनुगमन गर्दा साउन १२ गतेदेखि प्रयोगशाला बन्द रहेको, त्यहाँ कार्यरत संघीय सरकारका तर्फबाट खटिएका दुई कर्मचारी प्रयोगशालामा ताला लगाएर सम्पर्कविहीन रहेको, विर्तामोड नगरपालिकाबाट खटिएका दुई कर्मचारी हाजिर गर्न नगरपालिका कार्यालयमा पुगेको र चार दिनदेखि कृषि थोक बजारमा विषादी अवशेष जाँच नगरी तरकारी तथा फलफूल विक्री वितरण भइरहेको तथ्य फेला पारेको छ ।

कृषि मन्त्रालय अन्तर्गत सञ्चालित उक्त विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईका कर्मचारीले आर्थिक अभाव देखाउँदै चार दिन अघि सेवा बन्द भएको जानकारी गराएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बताए ।

प्रयोगशाला बन्द भएपछि त्यहाँबाट तरकारी तथा फलफूलको दिनहुँ हुँदै आएको विषादी परीक्षण कार्य ठप्प भएको छ । विषादी नजाँची बजारमा दैनिक उपभोग्य तरकारी तथा फलफूल बिक्रीवितरण भइरहेको हुँदा आम उपभोक्ताहरुलई सचेतता अपनाउन जागरण अभियानले अपिल गरेको छ । अनुगमनमा जागरण अभियानका अध्यक्ष मोहन काजी, उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापा, सहसचिव अनिता दाहाल र कोषाध्यक्ष शेखर अधिकारी लगायत सहभागी थिए ।

प्रकाशित मिति : श्रावण १६, २०८० मंगलबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]