बैशाख २३, २०८१ आईतबार

बर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरु

झलनाथ खनाल

१. हाम्रो पार्टीको विद्यमान स्थिति
हाम्रो पार्र्टी केन्द्रमा निकै ठुलो ढाँचा भएको पार्र्टी छ । केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय विभागहरु छन् । पार्र्टीको नेतृत्वमा सात प्रदेश कमिटी, अधिकांश जिल्लामा जिल्ला कमिटीहरु,त्यसपछि पालिका कमिटीहरु र निश्चित ठाउँहरुमा वार्ड कमिटीहरु पनि छन् । हामीले केन्द्रीय कमिटी, केन्द्रीय परिषदका बैठकहरु गर्ने र एक वा अर्को दस्तावेज पनि पारित र प्रसारित गर्दै आएको छौं । पार्र्टीका आन्तरिक सर्कुलरहरु पनि बेलाबखत जारी भएकैछन् । यी सबै कुराका बाबजुद हाम्रो पार्टी पंक्तिको मनस्थिति निम्न बमोजिम देखिन्छ ।
१. जतिबेला विद्रोह भएको थियो, त्यसवेला पार्टी पंक्तिमा निकै ठुलो उत्साह र उमङ्ग थियो, तर आज त्यो छैन ।
२. विद्रोह गर्दा हामीसंग जुन शक्ति थियो आज त्यो पनि छैन ।
३. विद्रोह गरेको वेला युवा र विद्यार्थीहरुमा जुन उत्साह, जांगर र अठोट थियो,आज यी क्षेत्रमा त्यो देखिदैन, उनीहरु दिशाहिन जस्तो महशुस गरिरहेछन् । तर अझै पनि उनीहरु पार्टीले सहि नीति ल्याउछ कि भनेर पर्खिरहेका छन्् ।
४. विद्रोह गर्दा हामीसंग जस्तो संसदीय दल र शक्ति थियो, संघ र प्रदेश दुवैमा आज त्यस्तो छैन ।
५. विद्रोह गर्दा हामी राष्ट्रिय पार्टी मानिएका थियौ, आज यो पनि छैन ।
६. विद्रोह गर्दा पार्टी वरिपरि जुन जनमत थियो त्यो पनि खुम्चिदै गएको छ ।
—स्थानीय चुनावमा मात्र पनि हाम्रो पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावमा आउँदा ३ लाख मात्र पनि नघाउन सकेन । केहि महिना भित्र मै ५० प्रतिशत जनमत खुम्चिनु दुखद कुरा हैन ?
७. तीनवटा क्षेत्रमा संसदका तीनवटा सीटमा उपचुनाव हुँदा हाम्रो पार्टीले आफ्ना उमेदवार सम्म उठाउन सकेन । हाम्रो पार्टी नीरिह देखियो ।
८. यतिवेला पार्टी संगठनात्मक ढाँचा कमसेकम जिल्ला तह सम्म देखिन्छ, कतिपय ठाउँमा तल सम्म पनि छ । जन वर्गीय संगठनको ढाँचा बिकास गरेको छ । युवा विद्यार्थी संगठन पनि छन् तर निस्कृय र दिशाहिन छन् । आम कार्यकर्ताहरुमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृतिहरु विकास भईरहेका छन् ।
९. हाम्रो पार्टी यतिवेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गाहारो पर्ने अवस्थामा भएको महसुस हुन्छ । त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठीक उल्टो हो ।
१०. संसदमा पनि हाम्रो प्रभावकारी र क्रान्तिकारी ढङ्गले संसदीय संघर्ष भएको महसुस हुदैन । अधिकांस सासदले त बोलेकै सुनिदैन ।
११. हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले)का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन सकिएको छैन । हाम्रो पार्टीमा पनि जबज कै धङधङी छ र (एमाले)ेमा पनि जबज कै धङधङी छ । त्यसले गर्दा पनि ठुलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ । किन यस्तो भईरहेको छ ? हामी भित्र कहाँ कमजोरी छ ? हामीले यी सम्पुर्ण कमि कमजोरीहरुलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका द्द आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरुलाई निर्ममता पुर्वक हटाउनुपर्छ, बैचारिक तथा संगठनात्मक दुबै क्षेत्रबाट यस्ता कमजोरीहरुलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, संशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ र प्रधान अन्र्तविरोध र प्रधान प्रतिद्धन्दीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउदै अघि बढ्नुपर्छ । तब मात्र पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको संचार हुनेछ ।
१२. आजको आवश्यकता
हामीले हाम्रो पार्टीलाई दक्षिणपंथी कार्यदिशाबाट होइन प्रष्ट रुपले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तका आधारमा अघि बढाउनुपर्छ ।
विगत दुई वर्षको अनुभवहरुको निर्मम ढङ्गले समिक्षा गर्नुपर्छ । गलत दृष्ट्रिकोण नीति र अडानबाट पार्टीलाई मुक्त, गर्नुपर्छ ।
पार्टीका सहि बैचारिक– राजनीतिक कार्यदिशा,नीति,सिद्धान्त, लक्ष्य, क्रान्तिकारी कार्यशैली,कार्य पद्धति र विधि विधानका आधारमा पार्टीको महाअधिवेसन यथाशीघ्र गर्नुपर्छ ।
हामीले यो कार्यदिशाबाट अघि बढ्ने हो भने छोटो समयमा आशातित परिवर्तन अनिवार्य छ ।२. हामीले प्रस्ट हुनुपर्ने केही सैद्धान्तिक सवालहरु
२.१. ०६२–६३ को क्रान्ति

  •  त्यो पुँजीवादी जनवादी क्रान्ति हो ।
  •  त्यो राजनीतिक क्रान्ति मात्र होइन,अधिसंरचनामा मात्र परिवर्तन हुने क्रांन्ति राजनीतिक क्रान्ति हुन्छ ।
  • अधिसंरचना र आंर्थिक आधार दुबैमा हुने क्रांन्ति सामाजिक क्रान्ति हुन्छ ।
  • ०६२–६३ को क्रान्ति सामाजिक क्रान्ति हो ।
  • यसले नेपाली समाजलाई पूँजीवादी सामाजिक–आर्थिक ढाँचामा रुपान्तरित गरेको छ ।

२.२. नेपाली समाजको वर्तमान स्वरुप

  • यतिबेला नेपाली समाज एउटा पुँजीवादी सामाजिक–आर्थिक ढाँचा भएको समाजमा रुपान्तरित भएको छ ।
  • यहाँ पूँजीवादी उत्पादन पद्धति र पूँजीवादी उत्पादन सम्बन्ध पूर्णरुपले स्थापित भएको छ ।
  • यो पुँजीवादी ढाँचाले सिर्जना गर्ने दुई आधारभूत वर्गहरु भनेका पूँजीपति बर्ग र श्रमिक वर्गहरु हुन् । समाजवाद बाहेक प्रत्येक सामाजिक–आर्थिक ढाँचाले दुई आधारभूत वर्गहरु जन्माउँछ । साथसाथै ती आधारभूत वर्गहरुका बीचमा विभिन्न वर्गस्तरहरु पनि जन्मिने गर्छन् । तिनीहरूको आ–आफ्नै भूमिका हुन्छ ।
  • अहिले नेपाली समाज यी विभिन्न वर्ग र वर्गस्तर सहितको पुँजीवादी समाजका रुपमा रहेको छ । हामीले त्यो समग्र वर्गीय संरचनाको विश्लेषण गर्न सक्नु पर्छ ।

२.३. वर्तमान नेपाली समाजको वर्गीय संरचना

  • वर्तमान नेपाली समाजमा आम रुपमा दुई आधारभूत वर्गहरुका साथसाथै पाँचवटा वर्ग र वर्ग स्तरहरु विकसित भएका छन् ।
  • ती वर्गहरु हुन् १.दलाल पुँजीपतिवर्ग २.राष्ट्रिय वा मध्यम पुँजीपति वर्ग ३.निम्न पूँजीपति वर्ग ४. किसान समुदाय (आजको पुँजीवादी उत्पादन सम्बन्धमा उठेको किसान समुदायभित्र पनि वर्ग स्तरहरु छन्,तिनीहरूको पनि विश्लेषण गर्न सकिन्छ) ५.व्यापक श्रमजीवी वर्ग
  • अहिलेको पुँजीवादी समाजमा आमरुपमा उपरोतm ५ वर्गहरु रहेका छन्् । यो संरचनाका बारेमा नयाँ धरातलबाट विश्लेषण र संश्लेषण आजको आवश्यकता भएको छ ।

२.४. नेपाली समाजका आधारभुत र प्रधान अन्तरविरोध
यतिबेला नेपाली समाजमा थुप्रै अन्तरविरोधहरू छन् । त्यसमध्ये तीनओटा आधारभूत अन्तरविरोधहरू रहेका छन् ।
१. दलाल पुजिबाद र व्यापक जनताका बीचको अन्तर्विरोध
२. साम्राज्यवाद र नेपाल राष्ट्रका बीचको अन्तर्विरोध
३. प्रभुत्ववाद र नेपाल राष्ट्र बीचको अन्तर्विरोध
त्यसबाहेक स–साना वर्गीय अन्तरविरोधहरू छन् । विभिन्न जातीय, भाषिक, लैङ्गिक,सामाजिक, आस्थागत र क्षेत्रीय अन्तरविरोधहरू पनि छन् । तर ती सबै माथिका आधारभूत अन्तरविरोधहरुबाट जन्मिएका हुन । यी हाम्रा सामु रहेका बस्तुगत यर्थाथ हुन ।

२.५. नेपाली समाजको प्रधान बर्गीय अन्तरविरोध बारे

  •  जहिले पनि समाजमा रहेका आधारभूत अन्तरविरोध मध्ये एउटा प्रधान अन्तर्विरोध बनेको हुनेछ ।
  •  यतिबेला नेपाली समाजमा वाह्य अन्तरविरोधहरू प्रधान अन्तर्विरोध बनेको अवस्था छैन ।
  • आन्तरिक अन्तरविरोध नै अहिलेको प्रधान अन्तर्विरोध बनेको छ ।
  • यसरी हेर्दा दलाल–पुँजीवाद र व्यापक जनता बीचको अन्तर्विरोध नै अहिलेको प्रमुख वर्गीय अन्तर्विरोध हो भन्ने कुरा छलङ्ग छ । यो पनि एउटा बस्तुगत यर्थाथ हो ।

२.६. प्रमुख राजनीतिक अन्तरविरोध बारे

  • कुनैपनि देश वा वर्गीय समाजमा क्रान्तिलाई अघि बढाउन प्रधान वर्गीय अन्तरविरोध पत्ता लगाएर मात्र पुग्दैन, त्यसबेलाको प्रधान राजनीतिक अन्तर्विरोध पत्ता लगाउनै पर्छ
  • त्यो पत्ता नलगाए सम्म हाम्रो क्रान्तिकारी संघर्ष निशाना बिहिन कुहिराको काग जस्तै हुन्छ । अझ कार्यनीतिक हिसाबले प्रधान राजनीतिक अन्तरविरोध पत्ता लगाउने कुरा क्रान्तिका निम्ति पहिलो प्राथमिक महत्वको कुरा हो ।
  • कुनै पनि देशमा दलाल पूँजीवादको पनि एउटै मात्र प्रतिनिधि हुँदैन । उनीहरुका पनि गुटहरु हुन्छन् । त्यसमध्ये दलाल पुँजीबादको मुख्य प्रतिनिधि जो छ, त्यहि सँग आमजनताको अन्तरविरोध नै त्यस बेलाको प्रमुख अन्र्तबिरोध हुन्छ ।
  • यो एक वस्तुगत यथार्थ हो, हाम्रा इच्छा भन्दा बाहिर रहेको कुरा हो । प्रमुख अन्र्तविरोध भनेको समाजमा वर्गसंघर्षको नियम अनुरुप बनिरहेको हुन्छ । त्यसलाई हामीले चिन्ने वा नचिन्ने भन्ने कुरा मात्र हो ।
  • हाम्रा दिमागमा माक्र्सवादी बिज्ञान राखेर अध्ययन र विश्लेषण गर्दा सजिलै देख्न सकिन्छ । तर दिमागमा अरु कुनै स्वार्थ राखेर निष्कर्ष निकाल्न खोजियो भने बस्तुगत यर्थाथ पनि देख्न सकिदैन ।
  • त्यसैले यतिबेला मुख्यतः दक्षिणपन्थी शक्ति–नेपाली कांग्रेसको नेतृत्व र व्यापक जनताको बीचको अन्तर्विरोध प्रधान राजनीतिक अन्तरविरोध हो । अरु सबै प्रतिक्रियावादी गुटहरु संगको अन्तरविरोधहरू तिखा भएर पनि तिनीहरु सबै गौण अन्तरविरोधहरु नै हुन ।
  • त्यस बाहेक सबै वामपन्थी राजनीतिक समूह वा समाजवादी तथा लोकतान्त्रिक राजनीतिक समूहहरुसँगका राजनीतिक अन्तरविरोधहरू मित्रतापूर्ण अन्तरविरोधहरू हुन ।
  • एमालेको नेतृत्वसँग हाम्रो पार्टीको वैचारिक अन्तरविरोध चर्को छ,तर राजनीतिक शक्तिको हिसाबले त्यो संगको अन्तरविरोध पनि मित्रतापूर्ण अन्तरविरोध नै हो । एमालेलाई “शत्रु शक्ति” जस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई “मित्र ठान्ने”र एमालेलाई “मुख्य निशाना” ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट हाम्रो पार्टी सर्तक रहनु पर्छ । आजको मुख्य संघर्ष नै दक्षिणपन्थी र वामपन्थी बीचको संघर्ष हो ।

२.७. हाम्रो प्रमुख प्रतिद्धन्दी बारे

  •  क्रान्ति र पार्टी निर्माणको हर कालखण्डमा प्रतिद्वन्दी निक्यौल गर्ने सवाल अर्को आधारभूत सबाल हो ।
  •  हामीले कसका विरुद्ध प्रतिद्वन्दिता गर्ने, त्यसमाथि पनि कुन राजनीतिक शक्ति वा गुट मुख्य प्रतिद्वन्दीता गर्ने र कसलाई आफ्ना वरिपरि गोलबन्द गर्ने यस बारेमा भुल गरियो भने हाम्रो क्रान्तिकारी यात्रा एक पाइला पनि अघि बढ्दैन ।
  •  यतिबेला नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै बामपन्थी समूहरुको मुख्य प्रतिद्वन्दी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रुपमा रहेको नेपाली काँग्रेस बाहेक अरु कुनै हुन सक्दैन । यस बारेमा हामी लगायत सबै बामपन्थी समूहरुले प्रष्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्छ ।
  • तर अन्य अधिकांश बामपन्थी समूहहरु ठीक यही बिन्दुमा चुकिरहेका छन् । उनीहरु मुख्य प्रतिद्वन्दी शक्तिसँग “गठबन्धन”, “कार्यगत एकता” वा “मोर्चा” बनाउँदै सत्ताका चुस्की लिइरहेका छन् । यो दक्षिणपन्थी कार्यदिशा हो ।
  • यो दक्षिणपन्थी कार्यदिशाले वामपन्थीहरुलाई निरन्तर अधोगति, सुस्तता, विभाजन र पलायन तिर लगीरहेछ । दक्षिणपन्थीहरुलाई लगातर फाइदा पुगी रहेछ । उनीहरु वामपन्थीहरुलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेछन् । यसरी बामपन्थी समूहरु दक्षिणपन्थी शक्तिका प्यादा र बैशाखी जस्ता बनेका छन्  आफ्नो शाख निरन्तर गिराईरहेका छन् ।
  • हामीले यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई बचाउनुपर्छ । हाम्रो अनुभवहरूको समीक्षा गर्नुपर्छ । आफ्ना गल्तीहरुलाई स्वार्थ मुक्त भएर आटका साथ सच्याउनुपर्छ र पार्टीलाई सहि वैचारिक– राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको जगमा उभ्याउनुपर्छ । प्रधान राजनीतिक अन्तरविरोध र प्रमुख राजनीतिक प्रतिद्वन्दीलाई ठीक ढंगले ठम्याउनु पर्छ र क्रान्तिको प्रवाहलाई निशाना केन्द्रीत ढंगले अघि बढाउनुपर्छ ।

३. आजको हाम्रो कार्यनीतिक कार्यदिशाका आधार तत्वहरु
१. प्रधान राजनीतिक अन्तरविरोध निक्यौल गर्नु ।
२. प्रधान शत्रुवा प्रतिद्धन्दीको निर्धारण गर्नु ।
३. मुख्य कार्यनीतिक लक्ष्य प्रष्ट पार्नु ।
४. मुख्य कार्यनीतिक नारा तय गर्नु ।
५. संगठनको मुख्य रुप प्रष्ट पार्नु ।
६. संघर्षको मुख्य रुप तोक्नु ।
७. संघर्षको नेतृत्वदायी शक्ति श्रमिक बर्गलाई दरो जगमा उभ्याउनु ।
८. संघर्षको मुख्य शक्ति ठम्याउनु ।
९. विभिन्न जनसंगठनहरुको महत्व अनुसार परिचालन

  • युवा विद्यार्थीका संगठन
  • किसान, महिला र मजदुरका संगठन
  • सांस्कृतिक संगठन
  • सम्पर्क मंच र आम संगठनहरु

१०. क्रान्तिका सहायक शक्तिहरुको पहिचान र परिचालन

४. समाजबादी क्रान्तिका तीन मुख्य हतियारहरु

  •  एउटा क्रान्तिकारी, सहि कार्यदिशा, नीति र सिद्धान्तले युक्त, वर्ग आधारित, जन आधारित,देशव्यापी र लोकप्रिय कम्युनिष्ट पार्टीको निर्माण
  • पार्टीका वरिपरि सबै वर्ग, तह, लिङ्ग, समुदाय, जाति, भाषा, संस्कृति र आस्थाका जनता र उनीहरुका प्रगतिशील,जनमुखी र समाजवादी शक्तिहरूको व्यापक संयुक्त मोर्चा निर्माण,
  • दलाल पूंजीवाद, साम्राज्यवाद, प्रभुत्ववाद र सबै प्रकारका प्रतिक्रियावादका विरुद्ध नेपाली जनता र राष्ट्रका बहुआयामिक वर्गसंघर्षको विकास । जसलाई संसदभित्र र बाहिरबाट क्रान्तिकारी ढंगले अघि बढाउनुपर्छ ।

यी तीन हतियारहरु समाजवादी क्रान्तिका आधारभूत हतियारहरु हुन । यी कुराहरु जति धारिलो ढङ्गले निर्माण गर्दै अघि बढ्छौं, नेपालको समाजवादी क्रान्ति त्यति नै गतिका साथ अघि बढ्छ ।

५. समाजबादी क्रान्ति र संयुक्त मोर्चा
१.जनवादी क्रान्ति वा समाजवादी क्रान्ति दुवै काल खण्डमा संयुक्त मोर्चा क्रान्तिको एउटा महत्वपुर्ण हतियार हो ।
२. संयुक्त मोर्चाका दुई स्वरुपहरु हुन्छन् ।

  • वर्गीय संयुक्त मोर्चा
  • राजनीतिक संयुक्त मोर्चा

३. वर्गीय संयुक्त मोर्चाः यो रणनीतिक चरित्रको मोर्चा हुन्छ, त्यो क्रान्तिको सिङ्गो काल भरि रहन्छ र दिर्घकालिन प्रकृया हुन्छ । त्यसलाई बनाउन, विस्तार गर्ने र सुदृढ गर्ने काम निरन्तर जारी राख्नु पर्छ ।
४. राजनीतिक संयुक्त मोर्चा : आम रुपमा कार्यनीतिक मोर्चा हुन्छ ।

  • त्यो अवधिक हुन्छ
  • त्यो अस्थायी हुन्छ
  • त्यो खास वेलाको राजनीतिक शक्ति संतुलनको उपज हुन्छ ।
  • त्यो शक्ति संतुलन फेरिएपछि उक्त मोर्चा पनि अन्त्य हुन्छ ।

५. संयुक्त मोर्चा वर्गीय होस वा राजनीतिक सबै अवस्थामा क्रान्तिको प्रधान शत्रुका विरुद्ध बन्ने गर्छ र बनाउनुपर्छ । प्रधान शत्रु वा प्रधान प्रतिद्धन्दी किटान नगरी बनाईने मोर्चा कुईरोको काग जस्तै हुन्छ ।
६. वर्गीय संयुक्त मोर्चा सधै भरि प्रधान बर्गीय शत्रुका विरुद्ध संगठित हुन्छ । त्यसलाई निरन्तर विकास र विस्तार गर्दै लगिन्छ ।
७. राजनीतिक संयुक्त मोर्चा जहिले पनि प्रधान राजनीतिक शत्रु वा प्रमुख प्रतिदन्द्धी.वा प्रमुख अवरोध आदिका विरुद्ध हुन्छ । त्यो बिशेष अबधि भरि जारी रहन्छ ।
८. त्यसैले हामीले सबै भन्दा पहिले कुनै पनि संयुक्त मोर्चा निमार्ण गर्दा निम्न कुरामा प्रष्ट हुनपर्छ ।

  • तत्कालको प्रमुख राजनीतिक अन्तरविरोध के हो ? पहिला पत्ता लगाउनु पर्छ
  • तत्कालको प्रमुख राजनीति प्रतिद्धन्द्धी के हो ? त्यसको पनि प्रष्ट पहिचान हुनुपर्छ ।

९. यी दुई कुरा तय भएपछि तिनीहरुका विरुद्ध रहेका संम्पुर्ण संभव राजनीतिक शक्तिहरुलाई साझा नीति, हित, कार्यक्रम र लक्ष्यका आधारमा संयुक्त मोर्चा निर्माण गर्नुपर्छ । त्यो मात्र वास्तविक क्रान्तिकारी,क्रान्तिमुखी वा क्रान्तिलाई सघाउने मोर्चा बन्न सक्छ ।
१०. यो हाम्रो बर्तमान कार्यनीतिक कार्यदिशाको अभिन्न अङ्ग हो र हुनुपर्छ । यो भन्दा देब्रे .वा दाहिने लाग्नु भनेको उग्रवामपंथ वा दक्षिणपंथ तिर लाग्नु हो ।
११. केहि समय अघि घोषणा गरिएको “समाजवादी मोर्चा”लाई पनि यहि दृष्ट्रिकोण, नीति र अडानका आधारमा हेर्नुपर्छ र तद्नरुप रुपान्तरण गर्न कोशिस गर्नुपर्छ ।
१२. संयुक्त मोर्चा भित्र विभिन्न घटक वीच लिईने स्वतन्त्रता, पहलकदमी र साझा सवालमा संयुक्त संघर्षका बारेमा अझ गहिरो गरी छलफल गर्नुपर्ने त छदैछ ।

६. माक्र्सवाद र लोकतन्त्र

  •  माक्र्सवादले यो वर्गीय समाजमा उत्पन्न भएका सबै चिन्तन, विचार, सिद्धान्त,तन्त्र लोकतन्त्र, बहुदलिय प्रणाली र शासन पद्धति सबैको वर्ग स्वरुप हुन्छ भन्ने कुरा सिकाउछ ।
  • ठीक त्यसरी नै लोकतन्त्रको वर्ग स्वरुप हुन्छ । वर्गभन्दा माथिको लोकतन्त्र हुँदैन र वर्ग भन्दा बाहिर पनि लोकतन्त्र हुँदैन । जहाँ वर्गहरु छैनन वा हुँदैनन, त्यहाँ लोकतन्त्र पनि हुँदैन । तर जहाँ वर्गहरु छन्, त्यहाँ स्थापना गर्ने लोकतन्त्रको समय सापेक्ष वर्ग स्वरुप हुनै पर्दछ ।
  • त्यसैले लोकतन्त्र भनेको बर्ग तन्त्र हो, वर्ग शासन हो र त्यो वर्गीय सत्ताको विशिष्ट स्वरुप हो । एउटा वर्गीय प्रणालीले त्यहि कालको त्यहि विशिष्ट वर्गको सेवा गर्छ । त्यहि बर्र्गीय प्रणालीलाई त्यो भन्दा उन्नत अर्को वर्गीय प्रणालीको सेवामा लान सकिँदैन ।
  • त्यसैले आदिम साम्यवादमा वर्गहरु थिएनन,वर्गीय सत्ता थिएन, वर्ग तन्त्र थिएन र लोकतन्त्र पनि थिएन । ठीक त्यसरी नै वैज्ञानिक साम्यवादमा पुगेपछि वर्गहरूको उन्मूलन हुनेछ,वर्ग शासन समाप्त हुनेछ र वर्गीय लोकतन्त्रको पनि विलोपन हुनेछ । माक्र्सवादले हामीलाई यी दुई ऐतिहासिक सामाजिक चरणका बीचमा बिकास गर्ने चार ऐतिहासिक चरणहरुमा मात्र बिभिन्न बर्ग चरित्रका लोकतन्त्रहरु हुन्छन् । समाजको बिकास हुदैँ जादा तिनीहरुका बर्ग स्वरुपहरु पनि बदलिदैँ जान्छन् ।
  • त्यसैले माक्र्सवादले हामीलाई लोकतन्त्रका चार ऐतिहासिक स्वरुपहरु मात्र हुन्छ भनेर सिकाउँछ । यो ऐतिहासिक भौतिकवादी विकासको अर्थात मानव समाजको विकासको अपरिहार्य नियम हो ।

७. लोकतन्त्रका चार ऐतिहासिक स्वरुपहरु
१) दास लोकतन्त्र
आदिम साम्यवाद टुट्दै गएपछि मानब समाजमा दास मालिकका रुपमा इतिहासमा पहिलो मावन वर्गका रुपमा दास मालिक वर्गको उत्पति भयो । यो पहिलो वर्ग नै खुंखार शोषक वर्ग थियो । त्यसले आफ्नो वर्ग शासन स्थापना गर्ने र त्यसलाई बलियो बनाउने क्रममा विभिन्न गणराज्यहरु स्थापना गर्न थाले । ती गण राज्यहरु भित्र गण सभाहरु गठन गर्ने, तीनै गण सभावाट गण प्रमुखहरु निर्वाचन गर्ने, गण सभावाट नै निणय गरेर शासन चलाउने अभ्यासको सुरुवात गरे । विश्वभरि मानव समाज यसरी नै वर्गीय–शासन भएको अवस्था तिर परिवर्तन हुदैँ गयो । ठिक यहि प्रकृया हाम्रो देशको ठोस इतिहासमा पनि देखापर्छ । मेरो अध्ययन अनुसार नेपालमा पनि प्राचिन आदिम साम्यवादी समाज टुटेपछि विभिन्न वर्गीय गण राज्यहरुको विकास भयो । शाक्य गण राज्य, कोलिय गण राज्य, विदेह गण राज्य र नेपा गण राज्य हाम्रो देशमा विकसित त्यहि प्रकृयाका उपज हुन । ती गणराज्यहरुमा दासहरुलाई कमारा कमारित्व गर्नुबाहेक कुनै अधिकार थिएन । उनीहरु दास मालिकका सम्पति मात्र थिए । तर दास मालिकहरु भने गण सभाहरु आयोजना गर्थे, विभिन्न विषयमा छलफलद्धारा निणर्य गर्थे । युद्ध,शान्ति, आपत विपत, नँया विउ रोप्ने, उत्पादन गर्ने जस्ता विषयहरुमा समेत गण सभावाट लोकतान्त्रिक विधिबाट निर्णय गरिन्थ्यो । यो मानव इतिहासमा र हाम्रो देशको इतिहासमा पनि विकसित भएको लोकतन्त्रको पहिलो रुप हो ।
२) सामन्ती लोकतन्त्र
उपरोक्त दास कालिन गणराज्य र लोकतन्त्र लामो समय टिक्न सकेन । गण राज्यहरु भित्र विस्तारै ठुलठुला प्लट जमिन कब्जा गरेर दासहरुलाई र किसानहरुलाई भूदास बनाएर काम गराउने र सम्पति कमाउने सामन्तहरु वा जमिन मालिकहरु विकसित भए । गण प्रमुखहरुले पनि तिनीहरुलाई नै समर्थन गर्न थाले र स्वंय गण प्रमुखहरुले आफ्नो जेठो छोरालाई उत्ताराधिकार बनाउदै बंशगत राजतन्त्रको विकास गरे । ती राजाहरु साना मझौला थुम्के राजा, रजौटा देखि लिएर ठुलाठुला राजतन्त्रात्मक साम्राज्यहरुको विकास हुदै गयो । यसरी राज्यको सार्वभौम सत्ता वा सर्वाधिकार नै एउटा राजामा केन्द्रित गर्ने प्रणालीको विकास भयो । त्यहि क्रममा वंशको शासन विकास भयो । शाहवंश, राणा वंश, मल्ल वंश, लिच्छिवी वंश, सेन वंश भनेका तिनै राजतन्त्रको विभिन्न वंशगत शासनका रुपहरु हुन । तर त्यसरी वंशगत शासन गरेपछि त्यो वर्गको शासन एउटा व्यक्तिले मात्र होइन, सिँगै वर्गको शासन होस भन्नका निम्ति उनीहरुले कहिले सल्लाहकार सभा, कहिले भारदारी सभाको गठन गरे । तिनीहरु सामन्तहरुका वर्गीय सभाहरु थिए । ती सभाहरुको निणर्य अनुरुप राजाहरुले सामन्त वर्गको शासन गर्थे । उनीहरुले आफ्नो वर्गलाई उपयुक्त ढंगले अधिकार दिन्थे । यो सामन्ति लोकतन्त्रको रुप हो । नेपालमा भुरे टाकुरे राजतन्त्रहरुमा ड होस वा एकिकृत केन्द्रीय राजतन्त्रमा पनि सल्लाहकार सभा बनाएर आफ्नो वर्गलाई अधिकार दिन्थे । शाह वंश र राणा वंशको शासनमा पनि हामी यहि कुरा पाउँछौ । २००७ सालको परिवर्तन पछि पनि राजाले सल्लाहकार सभा बनाएका थिए । त्यहि प्रकृयालाई अझ अघि बढाउँदै मुलुकमा जुन पंचायती व्यवस्था र राज परिषद बनाइयो । तिनीहरु नेपालमा सामन्ति लोकतन्त्रका विशिष्ठ नमुनाहरु हुन । तर तिनीहरु पनि टिक्न संभव थिएन । सन २००६ मा आएर नेपालमा अंतिम रुपमा पुँजीवादी–जनवादी क्रान्ति सम्पन्न भयो । तब सामन्ति लोकतन्त्र र सामन्तवाद नै उन्मुलन भयो र अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यो पुँजीवादी लोकतन्त्र हो ।
३) पुँजीवादी लोकतन्त्र
३.१ उत्पति र बिकास

  •  यो पुँजीवादको उत्पति पछि शाताब्दी औँ लगाएर विकसित भयो ।
  • १६८८ को गौरवपुर्ण क्रान्ति, संसदको विकास, द्यष्िि या चष्नजत को स्थापना, शासक वर्गकै अल्पमत बहुमतको सृजना, पुँजीवादी संसदीय गुटहरुको विकास वेलायतबाट भयो ।
  • फान्स राज्यक्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामका क्रममा राजनीतिक पार्टीहरुको विकास, पुँजीवादी संविधान, संसद र निर्वाचन पद्धतिको विकास भयो
  • पश्चिम युरोपबाट पुँजीवादी लोकतन्त्रले बहुदलिय प्रतिस्पर्धाको लोकतन्त्रको रुप लियो । १९ औ शताब्दीमा पुँजीवादी लोकतन्त्रले आकार लियो ।

१. राजनीतिक पार्टीहरुको उदय पुँजीवादको ऐतिहासिक उपलब्धी हो ।
२. पुँजीवादी लोकतन्त्रः अनिवार्यत बहुदलिय प्रतिस्पर्धाको लोकतन्त्र हुन्छ ।
३ विट्रिस,अमेरिकन, फेन्स, जर्मर्नी, युरोपेली र विश्वभरी पुँजीवादी लोकतन्त्रका धेरै नमुनाहरु छन् । तर तिनीहरुको सार एउटै हो – बहुदलिय प्रतिस्पर्धाको प्रणाली ।
३. मानव जातिले आदिम साम्यवादको लाखौ वर्षको अवधि पार गर्यो । तर त्यो समाजमा वर्ग थिएनन, वर्गीय शासन थिएन, राज्यको उत्पति भएको थिएन र लोकतन्त्रको पनि विकास भएको थिएन । समाज प्राकृतिक नियम अन्तर्गत चल्दै आयो । तर वर्गहरुको उदय भएपछि क्रमश लोकतन्त्रका विभिन्न रुपहरु विकसित हुदै गए ।

३.२. विगत १९७० – २००० को अवधिमा पुँजीवादी लोकतन्त्रको विस्तार

  •  विश्वका अधिकांस देशमा पुँजीवादी बहुदलिय प्रतिस्पर्धाको लोकतन्त्र विस्तार भयो । त्यसको एक मात्र कारण विश्वव्यापी रुपमा पँजीवादी अर्थतन्त्रको विकास र विस्तार हो । यो वीचमा धेरै देशमा सामन्तवाद विघटन हुँदै गयो र पुँजीवाद विस्तृत बन्दै गयो ।
  •  विश्व पुँजीवाद – भुमण्डलीय पुँजीवादमा विकसित भयो ।
  • नवोदित समाजवादी मुलुक बाहेक सबै देशमा पुँजीवादको विस्तारका साथ साथै बहुदलिय जनवाद स्थापना भयो ।
  • यो कहि पनि गुणमा विकास भएको छैन, तर यो मात्राको विकास मात्र हो ।
  • हाम्रो देश सहित विश्वका सबै पुँजीवादी लोकतन्त्रको सार एउटै छ – बहुदलिय प्रतिस्पर्धाको लोकतन्त्र । यो पंश्चिम युरोपबाट विकसित भएको पुँजीवादी लोकतन्त्र हो ।
  • पुँजीवादी लोकतन्त्रको यो विस्तारले कतिपय वामपंथीहरुलाई समेत लोकतन्त्र भनेको त यहि रहेछ भन्ने परेको छ र उनीहरु पनि बहुदलिय जनवादका पछि लाग्दै आएका छन् ।

३.३. आखिर यो बहुदलिय प्रतिस्पर्धाको लोकतन्त्रको वस्तुगत आधार के हो त ?

  •  यो कुरालाई गहन ढङ्गले अध्ययन गर्नुपर्छ । यो गंभिर सैद्धान्तिक सवाल हो ।
  • पुँजीवादको जन्म र विकासको क्रममा दुई वटा आधारभूत अन्तरविरोधहरु विकसित भए

१. पुँजीपति वर्ग र श्रमिक वर्ग वीचको अन्तरविरोध
२. एकाधिकारी पुँजीवादी गुटहरुवीचको अन्तरविरोध

  •  यो वर्गीय प्रतिस्पर्धाको अनिवार्य प्रतिविम्ब स्वरुप राजनीतिक संरचनामा बहुदलीय प्रतिस्पर्धाको विकास भयो ।
  • यो पुँजीवादको सामाजिक विकासको नियम अनुरुप छ र त्यो अनिवार्य कुरा पनि हो ।

३.४.विकसित पुँजीवादी मुलुकमा विकसित भएको यो पद्धति विकाशोन्मुख मुलुकमा पनि त्यहि बस्तुगत कारणले फैलियो ।
१.पुँजीपति र श्रमिक बीचको अन्र्तविरोध यहाँ पनि छ ।
२. दलाल पुँजीपतिका यहाँ पनि अनेक समुह र गुट हुन्छन् र छन् ।
उनीहरु अन्तराष्ट्रिय एकाधिकारी गुटकै दलाल हुन, बाह्य अन्र्तविरोधको विस्तार हुँदै जाने र त्यसले आन्तरिकीकरण हुने क्रममा विकासोन्मुख मुलुकहरुमा दलाल पँजीवादका पनि अनेक गुटहरु जन्मिदै गए । यीनै दुई अन्तरविरोधको बस्तुगत आधार माथि बहुदलिय प्रतिस्पर्धाको लोकतन्त्र स्थापित हुँदै गयो ।

३.५.नेपालमा स्थापना भएको पूँजीवादी जनवाद पनि यहि दुई आधारभुत अन्र्तविरोधको कारणले बहुदलिय प्रतिस्पर्धाको लोकतन्त्रका रुपमा विकसित भएको छ ।

३.६. त्यसैले बहुदलिय जनवाद भनेको पुँजीवादी जनवाद नै हो । त्यसमा कसैले भ्रममा पर्नु जरुरी छैन । बहुदलिय प्रणाली चाँही वर्ग भन्दा बाहिरको कुरा होइन । त्यो नै पुँजीवादी प्रणाली हो ।

३.७. हामीले हाम्रो देशमा जनवादी क्रान्तिको कालमा अघि सारेका नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद, जनताको बहुदलिय जनवाद सबै कार्यक्रमहरु आम रुपमा पुँजीवादी जनवादका कार्यक्रमहरु हुन । ती सबै रुपका कार्यक्रमहरु पुँजीवादी क्रान्ति सम्पन्न भईसकेपछि ऐतिहासिक रुपले नै कालातित भईसकेका छन् ।

३.८.अब हाम्रो देश ऐतिहासिक रुपले नै समाजवादी क्रान्ति र रुपान्तरणाको नयाँ युगबाट अघि बढ्दै छ । अब हामीले हाम्रो कार्यक्रमलाई समग्ररुपमा नै परिवर्तन गर्नुपर्छ । त्यो कार्यक्रम भनेको एक मात्र वैज्ञानिक समाजवादको कार्यक्रम हो । त्यो भनेको नेपाली विशेषताको समाजवादी कार्यक्रम हो ।

४. समाजबादी लोकतन्त्र र समाजवादी समाज
(१) समाजवाद वर्ग शासनको अंतिम रुप हो । यो श्रमिक वर्गको नेतृत्वमा स्थापित हुने लोकतन्त्र हो । समाजवाद वर्गीय लोकतन्त्रको सर्वोच्च रुप हो । वस्तुगत रुपले समाजवादी लोकतन्त्र जन्मिएको लगभग १०० वर्ष पार भएको छ । समाजवादी लोकतन्त्रमा विभिन्न रुपहरु विकसित हुँदैछन् । यो नयाँ लोकतन्त्र हो । यो अझ विकसित र परिस्कृत हुदैछ र गर्नुपर्छ ।
(२) जब पुँजीपति वर्ग सत्ताच्युद हुन्छ, तब श्रमिक वर्गको नेतृत्वमा ब्यापक जनताको लोकतन्त्र स्थापना हुन्छ ।
(३) त्यो नै इतिहासको पहिलो बहुसंख्यक जनताको लोकतन्त्र हो । समाजवाद भनेको नै श्रमिक वर्गको नेतृत्वमा बहुसंख्यक जनताको लोकतन्त्र हो ।
(४) यहाँनेर पुग्दा पुँजीवादले जन्माएका दुई वटै आधारभुत अन्र्तविरोधहरु समाधान भईसकेको हुन्छन् वा विलिन भईसकेका हुन्छन् ।
(५) समाजवादमा पुग्दा बहुदलिय प्रतिस्पर्धाको बस्तुगत आधार पनि समाप्त हुन्छ ।
(६) समाजवादमा कुनै वर्ग विचमा शत्रुता र प्रतिस्पर्धा हुदैन । त्यहाँ शुरुमा श्रमिकहरु, किसानहरु र निम्न पुँजीपति वर्गका जनता हुन्छन् । राष्ट्रिय पुँजीपति वर्गलाई कानुनी हिसाबले ब्यवस्थित गरिन्छ । विदेशी पुँजी ल्याउदा पनि कानुनका आधारमा ल्याइन्छ ।
(७) श्रमिक, किसान र निम्न पुँजीपति वर्ग वीच एक आपसमा संधैँ मित्रतापुर्ण सम्बन्ध हुन्छ, अहिले पनि र पछि पनि । पछि त श्रमको दौरानमा वर्ग विभेदहरु मेटिदै जान्छन् । हामी सबै श्रमजीवि बन्छौ । प्रतिस्पर्धाको गुन्जाइस नै हुदैन । निषेधको प्रतिस्पर्धा हुँदैन, अग्रगतिको प्रतिस्पर्धा हुन सक्छ ।
(८) समाजवादी आर्थिक सम्बन्ध, सामुहिक वितरण प्रणाली मार्फत उनीहरु भित्र रहेका सबै वर्ग भेदहरु अन्त्य गरिनेछ र सिङ्गो समाज श्रम प्रेमी समाजका रुपमा विकसित हुदै जानेछ
(९) समाजवादमा पनि पार्टी खोल्न पाईन्छ । तर अन्य सबै पार्टीले कम्युनिष्ट पार्टीको नेतृत्व र समाजवादी बाटो मान्नैपर्छ । त्यहाँ बहुदलिय प्रणाली बनाउने हो भने समाजवाद नै रहदैन ।
(१०) हामीले ब्यवस्थित रुपले समाजवादी लोकतन्त्रको विकास गर्नुपर्छ, जनप्रतिनीधि सभाहरु केन्द्र देखि इकाई सम्म गठन गर्नुपर्छ, जनतालाई सबै मौलिक अधिकार दिनुपर्छ ।
(११) सबै जनतालाई समेट्ने गरी निर्वाचन प्रणालीको विकास गर्नुपर्छ । पुँजी, मशल, प्रचार सत्ता र षडयन्त्रले गर्ने पुँजीवादी निर्वाचन प्रणालीको सदाका निम्ति अत्त्य हुनेछ ।
(१२) सिङ्गो समाजले चार आधारभुत नीतिलाई अनुशरण गर्नुपर्छ ।

  • माक्र्सवाद–लेनिनवादको मार्गदर्शन
  • कम्युनिष्ट पार्टीको नेतृत्व
  • समाजवादी समाजिक–आर्थिक रुपान्तरणको वाटो
  • साम्राज्यवाद, प्रभुत्ववाद, नब उपनिवेशवाद र शतिm राजनीतिको विरोध

(१३). उत्पादक शक्तिको निरन्तर विकास गर्दै जाने, उत्पादन सम्बन्धलाई निरन्तर परिष्कृत गर्दै जाने, विश्वसंगका सम्बन्ध निरन्तर विकास गर्दै जाने र क्रमश एउटा समृद्ध समाजवादी नेपालको निमार्ण गर्दै जाने समाजवादको वाटो हो ।
(१४). समाजवादले आखिर सबै वर्ग विभेदहरु जाति, भाषा, संस्कृति र आस्था विभेदहरुको अन्त्य गर्नेछ । एउटा अभुतपुर्व समानतापुर्ण समाजको निर्माण गर्नेछ । समाजका हर ब्यक्तिले श्रमलाई माया गर्ने स्थिति बन्नेछ र एउटा अभुतपुर्व सुखी समाजको निमार्ण हुनेछ । त्यो समाज नै वास्तविक मानव अधिकारले सुसम्पन्न विलकुलै नयाँ समाजको निमार्ण हुनेछ ।
(१५). नेपाली विशेषताको समाजवादको समग्र संरचनाको खाका हामीले प्रस्तुत गर्नुपर्छ । त्यसमा समाजवादले बर्तमान पुँजीवादी समाजलाई कसरी समाजवादी समाजमा रुपान्तरण गर्छ ।त्यसका राजनीतिक संरचना, औद्योगिक संरचना, कृषि संरचना, वितरण प्रणाली, राजकीय, सामुहिक र निजी क्षेत्रको भुमिका, शिक्षाको व्यवस्था, स्वास्थ्यको व्यवस्था, संचारको प्रणाली, खेलकुदको व्यवस्था, पर्यटन विकासको व्यवस्था, बन व्यवस्थापन, पर्यावरण व्यवस्थापन, पारवहन व्यवस्थापन, विदेश सम्बन्धको नीति लगायतका राष्ट्रिय जीबनका हाम्रा संरचना र नीतिहरु कस्ता हुनेछन्, ती कुराहरु व्यवस्थित रुपमा हाम्रो कार्यक्रमिक दस्ताबेजले अघि सार्नु पर्ने छ ।
(१६). समाजवादले विदेशीहरु संगका सबै असमान संधि र संझौताहरु अन्त्य गर्नेछ । मुलुकलाई वास्तविक रुपमा स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न, राष्ट्रिय अखण्डताले युक्त एउटा स्वाभिमान राष्ट्रका रुपमा खडा गर्नेछ । विश्वभरि छरिएर बसेका नेपालीहरुका निम्ति स्वतन्त्र समाजवादी नेपाललाई एउटा गौरव र प्रेरणाको पुञ्ज बनाइने छ ।
(१७) समाजवादी नेपालले सम्पुर्ण नेपालीलाई रोजगारी उपलब्ध गराउने छ, अदक्ष श्रमशक्ति विदेश पठाउने र हाम्रो नेपाली ब्रेनलाई बाहिर तिर ड्रेन गर्ने प्रकृयालाई बन्द गर्ने छ । बाहिर पठाउनै परे संमानजनक कामका निम्ति दक्ष जनशक्ति बनाएर मात्र पढाइने छ ।
(१८). भ्रष्टचारलाई समाजवादले शत्रुका रुपमा लिनेछ, वास्तविक रुपले शुन्य सहनशीलताको नीति लागु गरिनेछ र आम जनता र कर्मचारीहरुका निम्ति “भ्रष्टाचार गर्नै नपर्ने र भ्रष्टचार गर्नै मन नलाग्ने” व्यवस्थाको विकास गरिने छ ।

८. हामीले गरेको विद्रोह र त्यस्को औचित्य पुष्टि गर्ने सवाल

  • अहिले विद्रोह भएको २ वर्ष पुग्दा पनि पार्टी व्यापी रुपमा विद्रोहको औचित्य सावित भएन भन्ने असन्तुष्टी रहि रहेको देखिन्छ ।
  • हामीले दक्षिणपंथी औसरवादका विरुद्ध, गुटबादका विरुद्ध, व्यक्तिवादका विरुद्ध विद्रोह गरेको भन्यौ
  • तर त्यो विद्रोहका राजनीतिक–सैद्धान्तिक, वैचारिक, दार्शनिक, सांगठनिक, सांस्कृतिक, विधिगत सबै पक्षमा अहिले सम्म पुष्टी गर्ने काम भएको छैन । त्यस्ता कुनै दस्तावेजहरु नेतृत्वबाट तयार हुन सबै पक्षमा सकेनन । यो काम नेतृत्व बाहेक अन्तबाट हुन सक्ने काम पनि होइन ।

९. विगत दुई बर्षको समिक्षा
विगत दुई बर्षमा हाम्रो पार्टीले अघि सारेका, नीति, निणर्य र हाम्रो व्यवहारका बारेमा समग्र रुपमा समिक्षा गर्न जरुरी छ । त्यो काम नगरी महाअधिवेसनमा पुग्न अप्ठेरो छ । त्यो काल खण्डका निम्न सवालहरुमा भएका नीति निर्णयहरुको गहिरो समिक्षा जरुरी छ ।

९.१. एम सि सि संझौता ड्ड यो एउटा गंभिर राष्ट्रिय मुद्दा थियो ।

  •  अमेरिकाको हिन्दप्रशान्त रणनीतिको अङ्ग बन्ने कि नबन्ने भन्ने सवाल थियो ।
  •  अमेरिकाले हामीलाई ५५ करोड दिने सबाल होइन, हामी समानपुर्ण ढङ्गले दिन्छ भने अमेरिकाबाट ५५ अर्ब डलर पनि लिन तयार नै छौ । तर जुन शर्त र स्वार्थ उसले त्यो संझौतामा अघि सारेको छ, त्यसलाई मानेर हाम्रो पार्टीले समेत नेपाल र नेपालीको स्वाभीमानमा सदाका निम्ति कलंक लगाउने काम गर्यो ।
  •  यो राष्ट्रलाई दुरगामी रुपले प्रभाव पार्ने गल्ती हो ।
  • अझ कथित, व्याख्यात्मक घोषणा त्यो केहि मानिसहरुको लागि लाज ढाक्ने धोति बाहेक केहि भएन । त्यसलाई अहिले सम्मका घटनाक्रमले साबित गरेको छ ।
  • यतिलामो समय सम्म न अमेरिकाले न नेपाली कांग्रेसलेन माओवादी पार्टीले न कसैले त्यो व्याख्यात्मक घोषणा बारेमा चर्चा गरेका छन् । सबैले त्यसलाई विर्सिदै गएका छन् । त्यस संझौतामा दर्जनौ अपमानजनक शर्तहरु छन् । कमसेकम कथित व्याख्यात्मक घोषणामा भएका १२ हुँदा मात्र सच्चिए पनि सकारात्मक कुरानै हुने थियो । तर यति गंभीर राष्ट्रिय सवालमा कसैले मतलब राखेका देखिदैन ।
  • यहि २०२३ अगस्तबाट अमेरिकनहरु एम.सि.सि लागु गर्दैछन् । डोलाल्ट लुले अस्ति भर्खर आएर सबै नेताहरुलाई “खबरदार लागु नगरेमा” भनेर औला ठ्ड्याएर गईसकेको छ ।
  • त्यसलाई लागु गर्दा संघर्ष र प्रतिरोधका नयाँ झिल्काहरु देखा पर्न सक्ने छन् । हामी गर्न सक्छौ के ? त्यहि नीयति दोहोरिले खतरा हाम्रा सामु छ ।
  • यस्तो संवेदनशील विषयका बारेमा हामीले राम्ररी समिक्षा गर्नुपर्छ ।

९.२. स्थानिय चुनावको समिक्षा :
१. राष्ट्रिय, क्षेत्रीय वा स्थानीय सबै तहका चुनावी अभियानहरु वर्ग संघर्षका अभियानका रुपमा प्रकट हुने गर्छन ।
२. त्यस्ता वेलामा जनता अरु बेलामा भन्दा बढी जागरुक, उत्सुक र गतिशील हुन्छन् ।
३. त्यस्तो बेलामा एउटा क्रान्तिकारी पार्टीले स्वतन्त्र झण्डा, चिन्ह र कार्यक्रम लिएर जनता संग जानुपर्छ ।
४. हामीले त्यसवेला मोटामोटी प्रगतिशील घोषणापत्र पनि बनायौँ । तर त्यो जनता संग लान सकेनौँ ।
५. अब सबै वामपंथीहरु (एमाले लगायत) लाई नयाँ धरातलबाट मुक्त मनले .विश्लेषण गरेर जाआँै, प्रतिगमन विरोधी आन्दोलन सकियो, अन्र्तविरोध बदलिईसक्यो । त्यसैले अब गठबन्धनमा बाधिएर होइन, नयाँ स्वतन्त्र र क्रान्तिकारी ढङ्गले जानुपर्छ भन्ने कुरा चुनाव पुर्व कैबैठकमा मैले राखे । तर त्यसलाई सुनिएन ।
६. आखिर हाम्रो पार्टी दक्षिणपंथी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बड्यो ।
७. नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिराई दियो । कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो ।
८. यदि हामीले स्वतन्त्र पहल लिएर देशैभर आफ्ना उमेदवार उठाउने, जहाँ जो संग सम्भव हुन्छ, स्थानीय स्तर मै कार्यगत एकता गर्ने नीति लिएको भए निम्न परिणाम आउन सक्थ्यो ।

  •  हाम्रो पार्टीको प्रचार देशभरि जाने थियो ।
  •  हाम्रा नेता, कार्यकर्ता, समर्थक र सुभेच्छुक सबैमा भरपुर उत्साह सृजना हुने थियो ।
  • सिङ्गो पार्टीको मनस्थिति जनता तिर फर्किने थियो ।
  • पार्टी चिन्ह र झण्डा देशभरि पुग्ने थियो ।
  • पार्टीको क्रान्तिकारी विचार जनजनमा पुर्याउन सकिने थियो ।
  • हाम्रो जन आधार विस्तृत हुने थियो ।
  • त्यो अभियान कै दौरानमा हामीहरु जन वर्गीय संगठनहरुको संजाललाई व्यापक पार्न सक्ने थियौ ।
  • चुनाव प्रसार समितिका नाममा मात्र हजारौ हजार जनतालाई संगठित गर्न सकिने थियो ।
  • हाम्रो जनमत क्रान्तिकारी गतिले विस्तार गर्ने थियो ।
  • हाम्रो पार्टीलाई राष्ट्रिय चुनावका लागि निकै वलियो आधार तयार पार्न सकिने थियो ।
  • यो चुनावले मात्र पनि हाम्रो १२–१५ लाखको जनमत विस्तार गर्न सकिने थियो । अपशोच ! गलत कार्यदिशाले गर्दा हामीले त्यो अवसर गुमायौँ, हाम्रो पार्टीले गुमायो ।

९.३. राष्ट्रिय स्तरको र प्रदेश स्तरको चुनावको समिक्षा

  • राष्ट्रिय र क्षेत्रीय स्तरको चुनावी अभियान पनि वर्ग संघर्षको अझ उच्चस्तरको अभियान हो ।
  • तर हाम्रो पार्टीको नेतृत्वले त्यसलाई वर्ग संघर्षका रुपमा विल्कुलै देखेन ।
  • यस चुनावमा पनि स्थानिय चुनाव कै गल्ती दोहोरियो ।
  • हामीले स्वतन्त्र पहलकदमीका साथ अघि बढ्नुपर्दथ्यो ।
  • पार्टीको प्रचारलाई ब्यापक पार्ने,कलम चिन्हलाई लोकप्रीय बनाउने,संगठनलाई ब्यापक बिस्तार गर्ने,बढी भन्दा बढी समानुपातिकमा मत प्राप्त गर्ने लक्ष्य हुनु पर्दथ्यो ।
  • त्यसो भएको भए हामी १२–१५ लाख मत कम्तिमा पनि ल्याउथ्यौँ । केहि सिट माथि पनि जित्ने थियौँ ।
  • सजिलै राष्ट्रिय पार्टी बन्ने थियो ।
  • दक्षिणपन्थीहरुको पिछुवा बन्ने र उनीहरु माथि भरोशा गर्ने गलत कार्यनीतिको पार्टी यस चरणमा पनि शिकार हुन पुग्यो । त्यसले गर्दा हाम्रो पार्टीको जनमत झन खुम्चिन पुग्यो ।

९.४. नागरिकताको सवाललाई कसरी हेर्ने

  •  हाम्रो जस्तो देशले जनसांख्यिक अतिक्रमणलाई पनि गंभीर रुपमा लिनुपर्छ ।
  •  हाम्रा दुई छिमेकिहरुबाट ०.५ प्रतिशत जनसंख्या मात्र नेपाल छिर्यो भने हाम्रो राष्ट्रिय पहिचान परिवर्तन हुन सक्छ ।
  •  त्यसैले हामीले नागरिकताका बारेमा सधै सर्तक रहनुपर्छ ।
  •  तर भारतबाट विभिन्न कालखण्डमा नेपालमा आएर बसेका भारतीयहरुलाई एक पछि अर्को पटक कटअफ वर्ष बनाउँदै नागरिकता दिने काम हाम्रो राष्ट्रका एक पछि अर्को सरकारले गर्दै आएका छन् ।
  •  विरोधका बाबजुद ०४६ चैत मसान्तलाई कटअफ बर्ष बनाईयो, फेरी ०६३ मंसीर ताका अर्को कटअफ बर्ष बनाईयो, फेरी ०७२ असोज ३ गतेसम्म नेपालमा जन्मिएका लाई नागरिकता दिने बनाईयो । यी सबै राष्ट्रिय हित विपरितका कदमहरु हुन । वास्तविक नागरिकलाई नागरिकता दिने भनेको भए पुग्थ्यो ।
  •  अहिले फेरी २०८० मा अर्को ऐन बन्यो । यस मार्फत पनि धेरैले नागरिकता पाईरहेका छन् । नेपालीले पाए त ठीकै छ । तर गैर नागरिकले समेत नागरिकता पाउने भए भनेर सर्बत्र चिन्ता छ ।
  •  उपरोक्त एक पछि अर्को कटअफ बर्ष बाट धेरै भारतीय मुलकका मानिसहरुले नेपाली नागरिकता लिएका छन् । यो सरासर राष्ट्रिय हित विपरितको कार्य हो ।
  •  नेपालको तराईमा रहेका बास्तविक तराई मुलका नेपाली प्रत्येकले नागरिकता पाउनैपर्छ । तर तराई मुलका नाउँमा भारतीय नागरिकहरुले नेपाली नागरिकता लिने जुन प्रकृया जारी छ त्यो नेपालको राष्ट्रियता माथि गंभिर खतरा हो ।
  • अहिले नेपालमा पहाड र तराईको जनसंख्याको अनुपात बडो तीब्र रुपले बदलिई रहेको छ ।
  •  पछिल्लो जनगणना अनुसार पहाडमा ४३ प्रतिशत र तराईमा ५३ प्रतिशत जनसंख्या पुगिसकेको छ ।
  • अहिलेको नागरिकता विधेयकले यो अनुपातलाई अझ गहिरो बनाउने छ ।
  •  त्यसले तराई र पहाडको राजनीतिमा ठुलो तनाव र उथलपुथल ल्याउन सक्ने खतरा छ ।
  •  त्यसैले निम्न काम गर्नु जरुरी छ

१. यो कटअफ वर्ष बनाउने राष्ट्रघाति कामलाई सदाका निम्ति वन्द गराऔ ।
२. विगतमा नागरिकता वितरणमा भएका अनियमितताको छानवीन गर्न र गैर नागरिकको नागरिकता रद्द गर्न एउटा उच्च स्तरको शक्तिशाली छानवीन समिति बनाऔँ ।
३. राजनीतिक स्वार्थ र गुट स्वार्थबाट प्रेरित भएर बनाइएका सबै नागरिकता सम्बन्धि ऐनहरु खारेज गरौ र राष्ट्रिय हितलाई सर्वोपरि राखेर दिगो र दिर्घकालिन आधारमा नयाँ नागरिकता कानुन बनाऔँ ।

९.५. आममाफीको प्रावधान कसरी प्रयोग गर्ने ?

  •  खास व्यक्तिलाई उ निर्दोष भएर पनि सजाय भोगिरहेको अवस्था छ, उ परिवन्दमा परेको छ र उसलाई न्याय दिनुपर्ने आवश्यकता छ भने त्यस्तो खास अवस्थामा खास व्यक्तिलाई मंत्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले माफि दिने प्रावधान संविधानमा छ । तर त्यस्ता प्रावधानलाई वडो विवेकपुर्ण ढङ्गले प्रयोग गर्नुपर्ने हुन्छ ।
  •  तर बर्तमान सरकारले त्यस्ता व्यक्तिलाई माफि दिएको छ । जसले गरेका कृयाकलापका आधारमा जिल्ला अदालतले, उच्च अदालतले र सर्वोच्च अदालतले एउटै स्वरमा सजाय तोकेका, त्यो पनि भर्खरै फैसला गरेका व्यक्तिलाई आम माफि दिन पुगेको छ । त्यसले मुलुकको न्यायिक प्रणाली माथि नै गंभिर प्रश्नहरु उठाएको छ ।

१०. राष्ट्रिय महाअधिवेशन र त्यसका लागि गर्नुपर्ने कार्यभारहरु
१. अब पार्टीले राष्ट्रिय महाधिवेशनलाई केन्द्रिय कार्यभारका रुपमा लिनुपर्छ र त्यसको तयारी र सफल आयोजनाका निम्ति सम्पूर्ण प्रयत्नलाई केन्द्रित गर्नुपर्छ ।
२. महाधिवेशनको तयारीका निम्ति सबैभन्दा पहिले हाम्रा दस्तावेजहरु तयार हुनुपर्छ । त्यसका निम्ति (क)राजनीतिक प्रतिवेदन (ख)नेपाली विशेषताको समाजवादी कार्यक्रम (ग)पार्टीको संगठनात्मक प्रस्ताव ( घ)पार्टी विधान जस्ता चारवटा आधारभुत महत्वका दस्तावेजहरू कम्तिमा पनि तयार पार्नुपर्छ ।
३. यी दस्तावेजहरुलाई लिएर पार्टी व्यापी रुपमा व्यापक बहस संगठित गर्नुपर्छ । हाम्रा दृष्टिकोण, नीति, कार्यदिशाका बारेमा समस्त कार्यकर्तालाई, जनवर्गीय संगठनहरुलाई,बुद्धिजीवी हरुलाई, विशेषज्ञहरुलाई र सकारात्मक ढंगले सहभागी हुन चाहने सबैलाई व्यापक लोकतान्त्रिक बहस छलफलमा सामेल गर्नुपर्छ ।
४. यो वहस छलफल महाधिवेशन सम्म पुगुन्जेल एउटा पार्टी व्यापी र राष्ट्रब्यापी, वैचारिक, सैद्धान्तिक अभियानका रुपमा संगठित गर्नुपर्छ । यसमा प्रवासी नेपालीलाई पनि व्यापक रुपले सामेल गर्नुपर्छ । यो पार्टी भित्र महाधिवेशन पूर्वको सबैभन्दा व्यापक अभियान हुनेछ ।
५. महाधिवेशनका लागि दस्तावेज लेखी सक्ने,ती दस्तावेजहरुलाई पार्टीका केन्द्रीय निकायबाट पारित गरी सक्ने,पार्टी सदस्य सम्म छलफल र सुझावका निम्ति समय दिने, महाधिवेशनकोप्रतिनिधिहरु निर्वाचित गर्ने, महाधिवेशनको थलो निर्धारण गर्ने,महाधिवेशनको व्यवस्थापन गर्ने र सफलतापूर्वक आयोजना गर्ने सम्पूर्ण कुराको व्यवस्थित समयतालिका निर्माण गर्नुपर्छ । हामीलेयी सबै काम पार्टीको हैसियत अनुरुप गर्नुपर्छ ।
६. हामीले उपरोक्त कामहरुका साथै पार्टीको समग्र संगठानात्मक ढाँचा जुन छ, केन्द्रीय कमिटी देखि वडा कमिटी सम्म नै सबै कमिटीहरुलाई यथाशक्य सक्रिय र गतिशील बनाउनुपर्छ । उनीहरुलाई विधिसम्मत ढंगले परिचालित हुने बनाउनुपर्छ र ती सबै कमिटीहरुलाई महाधिवेशन तिर केन्द्रित गराएर अघि बढाउनुपर्छ ।
७. त्यसरी नै पार्टीका स्थापित र बैध जनसंगठनलाई पनि सक्रिय र गतिशील बनाउनुपर्छ र उनीहरुलाई पनि महाधिवेशन केन्द्रीत गराएर अघि बढाउनुपर्छ ।
८. हाम्रो पार्टीको केन्द्रीय कमिटी मातहत रहेका सबै पार्टी कमिटीहरु र जनसंगठनको समग्र स्थिति र सदस्यहरूको समग्र अभिलेखहरु निर्धारित समयभित्र तयार गरी केन्द्रमा पठाइ सक्ने व्यवस्था गर्नुपर्छ ।ती सम्पूर्ण अभिलेखहरुलाई सम्बन्धित तहको प्रदेश कमिटीको निगरानीमा पठाउने व्यवस्था गर्नुपर्छ ।
९. हामीले दस्तावेज तयार गरिसकेपछि पार्टीका केन्द्रीय निकायदेखि आधारभुत तह सम्म व्यवस्थित रूपले खुला र खुलस्त भावनाको साथ दस्तावेजहरुको अध्ययन, छलफल, बहस, विश्लेषण र संश्लेषण गर्ने व्यवस्था गर्नुपर्छ । योछलफलका निम्ति पर्याप्त समय दिनुपर्छ ।
१०. त्यसरी व्यापक र पार्टीब्यापी छलफल,वहस र विवादपछि विभिन्न क्षेत्रबाट आएका आलोचना, सुझाव, टिप्पणीहरुलाई संकलन गर्नुपर्छ । तिनीहरुका बारे पार्टीको नेतृत्वदायी कमिटीले विश्लेषण गर्नुपर्छ र संश्लेषण गर्नुपर्छ । यसरी व्यापक जनवादी छलफलपछि मात्र अधिवेशनबाट केन्द्रीकृत रूपमा पार्टीका कार्यदिशा,नीति र सिद्धान्त सम्बन्धि सम्पूर्ण दस्तावेजहरुलाई पारित गरिनेछ । पार्टीमा यसरी जनवादी केन्द्रियताको व्यापक अभ्यास गरिने छ । जनवादका आधारमा केन्द्रियताको निमार्ण गरिने छ ।

PDF LINK : My Drive – Google Drive

प्रकाशित मिति : श्रावण २१, २०८० आईतबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]