बैशाख २१, २०८१ शुक्रबार

भारतीय पोल्ट्रीको मारमा झापाली किसान

गगन ढकाल

झापा । मेचीनगर-६ स्थित सालघारीका किरण तिम्सिना सीमावर्ती क्षेत्रबाट भारतीय पोल्ट्री सहजै भित्रिने भएकाले आफ्नो व्यवसाय संकटमा परेको बताउँछन् ।

तिम्सिनाले आफ्नो परिवार धान्नको लागि पोल्ट्री फार्म खोलेका छन् । पोल्ट्रीबाट भएको आम्दानी नै उनको परिवारको मुख्य आर्थिक स्रोत हो । तर, राज्यले आफ्नो नीति पूर्णरुपमा लागू गर्न नसक्दा उनी मारमा परेको गुनासो गर्छन् । मासु र मासुजन्य पदार्थ भारतीय बजारबाट नेपाल ल्याउन निषेध छ । झन् पोल्ट्री कुखुरा त सीमा वारी ल्याउनै प्रतिबन्ध छ । तर, झापाका अधिकांश बजारमा भारतीय पोल्ट्री कुखुराको मासु छ्यापछ्याप्ती पाइने व्यवसायीहरु बताउँछन् ।

व्यवसायीहरु नेपालमा पोल्ट्री व्यवसायको राम्रो सम्भावना भएको तर, खुला सीमाले मार पारेको बताउँछन् ।
यसैगरी धुलाबारीको अर्का व्यवसायी सुबोध निरौला पनि भारतबाट अवैध रुपमा तस्करी मार्फत नेपाल आउने पोल्ट्रीले आफ्नो व्यवसायमा धेरै असर गरेको बताउँछन् । सुबोधले करिब १० करोड लगानीमा ५० हजार पोल्ट्री पालेका छन् । तर, आफ्नो व्यवसायको सुरक्षा भने राज्यले नगरिदिएकोमा उनी चिन्तित छन् । पोल्ट्री व्यवसायमा राज्य, व्यवसायी र सम्पूर्ण सरोकारवाला निकायहरु इमान्दार भई आफ्नो कर्तव्य पूर्ण रुपले पालन गरे नेपालमा यो व्यवसायको राम्रो सम्भावना भएको उनको बुझाई छ । उनले झापामा पछिल्लो समय भारतीय पोल्ट्री प्रवेशमा धेरै नियन्त्रण भए पनि मधेस प्रदेशका जिल्लाहरुबाट भारतीय पोल्ट्री नेपाल भित्रिरहेको जिकिर गरे । उनी भन्छन्, ‘भारतीय पोल्ट्री निर्यातलाई पूर्ण रुपले निषेध गरे हामी व्यवसायीलाई धेरै राहत पुग्ने थियो ।

व्यवसायीहरुको गुनासो भारतीय पोल्ट्रीको प्रवेशमा राज्य निकायले नीतिगत रुपमा प्रवेशमा निषेध गरे तापनि लागु गर्नु नसकेको प्रमुख समस्या रहेको छ भने राज्यले उनीहरुलाई अन्य व्यवसायमा झैं अनुदान नदिएको अर्को गुनासो रहेको छ । यसका साथै बजारको उचित व्यवस्थापन नहुनु र कोल्ड स्टोरेजको व्यवस्थापन नहुँदा उनीहरुले गुनासो गर्दै आएका छन् । उनीहरु भन्छन्, ‘हामीले राज्यलाई कर तिरेका छौं तर, हाम्रो संरक्षण भने राज्यले गरेको छैन ।’

कुखुरा उत्पादन व्यवसायी संघ झापाका सचिव हरि तिम्सिना पछिल्लो समय पोल्ट्री व्यवसायीहरुको स्थिति केही हदसम्म सुध्रिएको बताउँछन् । उनले पछिल्लो समय भारतबाट नेपाल प्रवेश हुने पोल्ट्रीको संख्यामा धेरै गिरावट आएकाले व्यवसायीहरुको स्थिति अलि सुध्रिएको बताए । तर, अहिले पनि भारतीय बजारबाट पोल्ट्री नेपाल प्रवेशको संख्या शून्य नहुनु दुखद् रहेको उनले बताए । पछिल्लो समय प्रहरी प्रशासनद्वारा पोल्ट्री व्यवसायको लागि भइरहेको कामको उनले प्रसंशा पनि गरे । उनले भारतीय पोल्ट्री नेपाल नआए यो व्यवसाय निक्कै राम्रो हुने बताउछन् । उनी भन्छन्, ‘भारतीय पोल्ट्रीको अवैध निर्यातमा केही न्यूनीकरण हुँदा पनि हाम्रो व्यवसाय निक्कै बढेको छ । यो व्यवसायमा चुनौती र अवसर दुवै छन् । व्यवसाय कस्तो बनाउने भन्ने कुरा व्यवसायीको मिहेनतमा भर पर्छ ।’

उनले सम्पूर्ण कुखुरा व्यवसायीहरुको तर्फबाट राज्य समक्ष केही मागहरु राखेका छन् । उनले बजारको उचित व्यवस्थापन गरिनुपर्ने, भारतबाट आउने कुखुरालाई पूर्ण रुपले रोकिनु पर्ने, कोल्ड स्टोरेजको व्यवस्थापन गरिनु पर्ने र कुखुरा पाल्दा तातो चिसो व्यवस्थापनको निम्ति धेरै विद्युतको खपत हुने भएकाले विद्युत महसुलमा सहुलियत लगायतको माग राखेका छन् । उनले राज्यले अन्य व्यवसायलाई झैं यो व्यवसायमा पनि अनुदानहरु दिए व्यवसायीहरुलाई धेरै राहत पुग्ने बताए ।

पशु विज्ञ केन्द्र झापाका सूचना अधिकारी गणेश भट्टराईले कुखुरा व्यवसायमा राज्यले राहत नदिए पनि निःशूल्क रुपमा प्राविधिक सहयोग गरिरहेको बताए । उनले किसानहरुले मरेको वा बिरामी भएको कुखुरा पशु विज्ञ केन्द्र झापाको प्रयोगशाला कार्यालयमा ल्याए पोस्मार्टम र उपचारको व्यवस्थापन भएको बताए । उनले कुखुरा व्यवसायीहरुलाई पशु विज्ञ केन्द्रले सुझाव र सरसल्लाह पनि दिदै आएको बताए ।

प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]