बैशाख २५, २०८१ मंगलबार

मन्सुरीले निर्णायक मत दिए के हुन्छ ?

काठमाडौं । कोशी प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गर्ने व्यक्तिले पनि मतदान गर्ने निर्णय गठबन्धनले गरेकोमा त्यसो भए संविधानको ठाडै उल्लंघन हुने संविधानविद्हरूले बताएका छन् ।

उपसभामुख सिर्जना दनुवारसहित केही ज्येष्ठ सदस्यहरू अनुपस्थित रहने भएपछि कांग्रेसका इस्राइल मन्सुरीले अध्यक्षता गरेर प्रदेशसभा बैठक बस्ने भएको छ ।

प्रदेशसभामा सत्तागठबन्धनको ४७ सीट छ । तर, अन्सारीले बैठकको अध्यक्षता गरेपछि ४६ मतमात्र हुनेछ । विश्वासको मत पाउनका लागि ४७ मत आवश्यक पर्छ ।

सभाको अध्यक्षता गर्ने व्यक्तिले दुवैतर्फ मत बराबर भएमात्र निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था रहेको वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले बताए ।

संविधानको धारा १८६ मा भनिएको छ, ‘प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर, मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ ।’

संविधानको यति प्रष्ट व्यवस्था हुँदा हुँदै पनि मन्सुरीले विश्वासको मत दिएमा संविधानको उल्लंघनमात्र नभएर दण्डनीय अपराध हुने अधिवक्ता समेत रहेका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

सत्ता गठबन्धनले पहिलोपटक गरेको संविधान उल्लंघनलाई अदालतले सच्याएकोमा फेरि सोही बाटोमा गएको आरोप एमालेको छ । यदि सभाध्यक्षले मतदान गरेमा विपक्षीले स्वीकार नगर्ने भएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरू भइसकेको छ ।

प्रकाशित मिति : भाद्र ४, २०८० सोमबार  ३ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]