बैशाख २६, २०८१ बुधबार

दुषित पानी बेच्ने झापाका तीन उधोग विरुद्ध मुद्धा

झापा । झापाका तीन वटा पानी उद्योग विरुद्ध मुद्धा परेको छ । दुषित पानी बेचेको प्रमाणित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झापाका तीन वटा सहित देशभर गत आर्थिक वर्षमा २१ वटा उधोग विरुद्ध मुद्धा दायर गरेको हो ।

झापाको बुद्धशान्ती–३ को भगवती बेभरेज इन्डष्ट्रिज, बुद्धशान्ती-७ को सुनमाई वाटर प्रा.लि र अक्वा टप मकालु मिनरल वाटर प्रा.लि विरुद्ध मुद्धा परेको विभागले जनाएको छ । पानीको गुणस्तरमाथि प्रश्न उठेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अध्ययन गरेको थियो । आर्थिक वर्ष २०७९-८० मा पानीको गुणस्तर सम्बन्धी अध्ययन गर्दा झापाका तीन पानी उद्योगहरुमा उत्पादित पानी दुषित देखिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७९-८० मा दुषित पानी वितरण गरेका २१ वटा उद्योगहरुलाई मुद्दा दर्ता गर्ने क्रममा झापाका तीन वटा उद्योगहरु पनि परेका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानेपानी गुणस्तर मापदण्ड -२०७९ थप परिस्कृत गरेर सार्वजनिक गरेको छ । जोखिम तथा सान्दर्भिकताका आधारमा थप परीक्षण गर्नुपर्ने पारामिटर विभागले तय गरेको छ । त्यसअन्र्तगत पिउने पानीमा २८ वटा रासायनिक पारामिटरहरु उद्योगले पूरा गर्नुपर्छ । ती मापदण्डमा भौतिक, रासायनिक र सूक्ष्म जैविक समूहमा छन् । मापदण्डअनुसार १९ वटा पारामिटर अनिवार्य परीक्षण गर्नुपर्नेछ भने ९ वटा आवश्यक र जोखिमको आधारमा गर्न सकिने उल्लेख छ ।

यस्ता पानीको स्रोत, अनिवार्य लेबल जस्ता प्रावधान पनि मापदण्डमा पर्दछन् । सफा बोटल र जारमा पानीको प्याकेजिङ, उत्पादन र उपभोग्य मिति अनिवार्य, पानीमा रहेको तत्वहरुको ब्याख्या र उक्त पानीको गुणस्तरयोग्य रहेको प्रमाण उत्पादकले उपभोगकर्तालाई निश्चित गर्नुपर्ने हुन्छ ।

वाणिज्य र खाद्य प्रविधि विभागले उपभोक्तालाई बोतलबन्द पानीको प्रयोग गर्दा गुणस्तरको आधारभूत मान्यता ख्याल गर्न भनेको छ । पानीमा रहेको जैविक गुणस्तरका कुरा प्रयोगशाला परीक्षणबाट मात्रै खुल्ने भएकाले उपभोक्ताले आधारभूत गुणस्तर भने आफैं ख्याल गर्न सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतले बताए ।

पानीको जार तथा बोतलको सरसफाई, सिलप्याक भए नभएको, पानीको उत्पादन र उपभोग्य मिति तथा पानी उत्पादन र बिक्रीका लागि अनुमति लिए नलिएको विवरण ख्याल गर्न सकिने विभागले जनाएको छ । पानीमा ब्राण्ड नामको डुप्लिकेसन गरिएको छ कि छैन भन्नेजस्ता कुराहरु पनि ख्याल गर्नुपर्ने उनी बताउँछन् । साथै, सरकारी निकायबाट गुणस्तर प्रमाणित भए नभएको अनिवार्य ख्याल गर्नु पर्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ५, २०८० मंगलबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]