बैशाख २०, २०८१ बिहीबार

काँकरभिट्टामा अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने

काँकरभिट्टा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसले आउँदो भदौ १५ बाट अन्तर कलेज टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । आज क्याम्पस परिसरमा सो विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

मेचीनगर–६, काँकरभिट्टा स्थित तुर्केनी खेल मैदानमा भदौ १५ गतेदेखि आयोजना हुने प्रतियोगिता भदौ २६ गतेसम्म सञ्चालन हुनेछ ।

स्ववियुले क्याम्पसमा अध्यनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुका लागि सहयोग गर्न छात्रवृत्ति कोष स्थापना गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगिताका लागि झापाका १६ वटा क्याम्पसको सहभागिता रहने छ ।

प्रतियोगिताका विजेता र उपविजेतालाई क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक योगेन्द्र खड्काले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

उनका अनुसार खेल आयोजनाका लागि ४ लाख १६ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

स्थानीय अग्रज व्यक्तित्व, समाजसेवी तथा विभिन्न संघ–संस्थाहरुबाट सहयोग उठाउने उनको भनाई छ ।

क्याम्पसले खेल आयोजनाका लागि ८० हजार नगद सहयोग गर्ने बताइएको छ ।

प्रतियोगिता विभिन्न विधामा पनि अवार्डको व्यवस्था गरिएको छ । म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट क्याचर, फ्लेयर प्ले अवार्ड लगायतको व्यवस्था गरिएको स्ववियु सदस्य विश्वास दाहालले बताए ।

काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियु सभापति विशाल तामाङले शिक्षाबाट बञ्चित हुनुहुँदैन भन्ने नीतिलाई आत्मसाथ गर्दै गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिमार्फत सहयोग गर्न स्ववियु कोष स्थापना गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

उनले जिल्लाका क्याम्पसहरूबीच आत्मिय सम्बन्ध बढाउन, क्रिकेटको उर्वरभुमि रहेको मेचीनगरलाई थप चिनाउन पनि प्रतियोगिताको आयोजना गरिएको बताए ।

प्रकाशित मिति : भाद्र ९, २०८० शनिबार  २ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]