असार २, २०८१ शनिबार

चारपुस्तादेखि चिया मजदुर

लक्ष्मी उप्रेती

झापा । झापा मेचीनगर —७ की ५० वर्षीया कर्मी मुण्डा करुवाका बाबु असारु मुण्डा चिया बगानमा काम गर्दागर्दै बिते । आमाको समेत सोही चिया बगानमा मजदुरी गर्दागर्दै मृत्यु भयो । हजुरबुवाले समेत बाचुञ्जेलसम्म चिया मजदुरकै रुपमा विताए । उनकै बाबुले बगान बसाएका थिए । बगानमा ६० वर्षसम्म सरदारी काम गर्दागर्दै उनी बिते । आज कर्मीको सिङ्गो परिवार त्यही चिया बगानमा आफ्नो भाग्य र भविष्य खोजी रहेको छ, जहाँ हिजो आफ्नो दुई पुस्ताले भाग्य र भविष्य खोज्दैं गर्दा वितेर गए ।

हजुरबुवा, बाबुआमाले गर्दै आएको चिया मजदुरको काम आज उनीसँगै उनका श्रीमान राम करुवा, चारपुस्ताका छोरा सुरज करुवाले गर्दै आएका छन् । करुवा दम्पतिका छोरी मेलिना विहे गर्नुअघि समेत चियाका बुट्टाहरुसँग कहिले चिया टिप्दैं त कहिले चिया गोडमेल गर्ने काम थिईन् । उनको चारपुस्ता चिया बगानमा मजदुरकारुपमा काम गर्दै आएको छ ।

बगानका अधिकाँश मजदुरका सन्तान यो चिया बगान छाडेर अन्यत्र मजदुरी गर्न गएका छैनन् । दर्जनौं मजदुरका तीन चार पुस्ता यहाँ काम गरिरहेका छन् । दुईदशकअघिदेखि तेस्रो चौथो पुस्ता बगानमा मजदुरी गरिरहेका छन् । चिया बगानमा मजदुरले हरेक दिन मजदुरीमै दिन बिताउनुपर्छ ।

५३ वर्षीया मुन्की करुवाका बाबु निताई करुवाको बगानमै भविष्य खोज्दा खोज्र्दै जीवन समाप्त भयो । आमा मातुली करुवाको उमेर समेत चिया बगानमै मजदुर गर्दा गर्दै वित्यो । अहिले उनको सिङ्गो परिवार मजदुरमै रमाईरहेको छ । उनीहरुको भन्दा अलि फरक छ सोही ठाउँका ४७ बर्षका राजन करुवा र लक्ष्मण करुवाको दैनिकी । दुवैले बाबुबाजेको मजदुरी पेशालाई अंगाले पनि आफ्नो चौथो पुस्ताका सन्तानलाई भने बेलैमा विदेश पठाए । सन्तानको राम्रो कमाई भएका कारण आफुहरुमा सन्तुष्ट मिलेको अनुभव सुनाउछन् ।

राजन आफ्नो परिवारका तीन पुस्ताका चिया मजदुर हुन् । हजुरबुबा मद करुवाले गर्दै आएको काम बाबु सञ्चरुवा करुवाले सर्लक समाए । बाबुसँगै आम बैजयन्ती करुवा पनि चिया मजदुरका रुपमा बगानमा भर्ना भइन् । हजुरबाबु र बाबुको निधन भइसकेको छ भने राजनकी आमा उमेरका कारण मजदुरी पेशाबाट अहिले सरिटायर भएकी छिन् । त्यही कामलाई अहिले राजन र उनकी श्रीमती सुशीलाले निरन्तरता दिर्दै आएका छन् । तर, दुई सन्तान मध्ये छोरा कतार र छोरी दुवईमा छन् । लक्ष्मणका तीन सन्तानमध्ये दुईजना विदेश र एकजना साथमै छन् । झापाको सतिघट्टा चिया बगानमा अभिभावकसँगै पढ्ने उमेरका बालबालिका पनि मजदुरकारुपमा काम गर्छन् ।

‘पुस्तौदेखि मजदुरी गरे, थातथलो केही जोड्न सकिन,’ कर्मीले भनिन्,’ आर्थिक अवस्था कमजोर हुँदा स्कुल जाने छोरा छोरी पनि काम गर्न आउँछन् ।’ उनका छोरा सुरज र छोरी मेलिनाले १०÷१० कक्षासम्म त पढे । तर, त्यो भन्दा माथि उच्च शिक्षा पढाउन उनको परिवारले नसक्ने भएपछि दुवैले हरेक दिन विहान चिया बगानमा पत्ती टिप्ने, खन्ने, चिया गोडमेल गर्नुको विकल्प थिएन् । र, मजदुरी बाटो रोजे । दिनहुँ चिया बगानमा पत्ती नटिपे वा बगानमा काम गर्न नआए साँझ चुलो पनि नबल्ने मुन्की करुवा बताउँछिन् ।

उनका पनि एक छोरा र एक छोरी छन् । छोराछोरीले पढ्न पाएका छैन्न । उनको पनि कम दुःख छैन । अहिले छोराछोरी नै चिया बगानमा मजदुरकारुपमा काम गर्छन् । छोरीको भने विहे भइसकेको छ । ‘पुस्तौ मजदुरीमै बित्यो, कहिले सुख पाइन,’ उनले भनिन् । मजदुरीबाट कमाएको रुपैयाँ घरव्यवहार चलाउनमै खर्च हुने गरेको उनले सुनाईन् त्यही भएर पढाई छाडेर छोरा छोरीलाई समेत आफुसँगै मजदुरीमै ल्याएको सुनाउँछिन् । जतिनै दुःख गरे पनि यी मजदुरहरुले सुखको श्वास फेर्न कहिल्यै नपाएको गुनासो गरेका छन् । बगानले दिएको थोरै जगामा सानो कटेरो बनाएर बढो दुःख कष्ट गरेर बस्नु परेको पीडा उनीहरुको छ ।

‘दिनभरि काम गरेर थाकेको शरिरलाई राम्ररी आराम दिन सकिँदैन’ मुन्कीले भनिन्—‘आकाशबाट खसेको पानीलाई छानोले रोक्न सक्दैन, रातभरि भाडा थापेर रात कटाउनु पर्छ । छानोले न घाम छेक्छ न पानी यस्तै छ हामी मजदुरको जिन्दगानी ।’ नेपाल स्वतन्त्र चिया मजदुर यूनियनका पूर्व केन्द्रिय सदस्य रामचन्द्र अधिकारीका अनुसार सतिघट्टा चिया बगानमा करीव डेढदेखि दुईसय मजदुर छन् । उनीहरु तीन चार पुस्तादेखि मजदुरी गर्दै आएका छन् । तर, पनि सवैको जीवनस्तर खासै माथि उठ्न सकेको छैन् । ‘हजुरबाबुले पनि यसै गरी, बाबुआमाले पनि त्यही काम गरे, हामीले पनि यसैलाई निरन्तरता दिनुपर्छ भन्ने सोचका कारण पनि आज पुस्तौपुस्तादेखि चिया मजदुरमै छन् ।’ अधिकारीले भने । केही परिवारका चार पुस्ताले समेत मजदुरी गरेको अभिलेख भेट्न सकिने अधिकारीको भनाइ छ । उनले भने ‘एकै परिवारका चार जनासम्म अहिले बगानमा मजदुरी गर्दै आएका छन् ।’

राजनका हजुरबुवाले काम गर्दा उनको ज्याला १ रुपैयाँ ५० पैसा थियो । तेस्रो पुस्ताकोरुपमा १७ वर्षको उमेरदेखि चिया बगानमा मजदुरी गर्दै आएका राजनको जीवनमा पनि खासै परिवर्तन आउन नसकेको पीडा उनी सुनाउँछन् । उनको शुरुका ज्याला १० रुपैयाँ थियो । उनले भने, ‘घरको आर्थिक अवस्था कमजोर थियो, खान लगाउन नै धौ धौ, थियो । पढन सकिएन् अनि बाबुबाजेले जे काम गरे त्यसैलाई निरन्तरता दिन थालियो ।’

‘अहिले पो दैनिक ४ सय ३५ रुपैयाँ ज्याला भयो । शुरुमा त थिएन् । मैले २ रुपैयाँ ५० पैसा हाजिरा हुदाँदेखि काम गरेको हुँ । अहिले ४ सय ३५ भएपनि काम भएको दिनको मात्र हाजिरा पाईन्छ । घर चलाउँन निक्कै कठिनाई छ ।’ यो चिया बगान यहाँका मजदुरका सन्तानकालागि लागि वैदेशिक रोजगारी मुलुकझैं भएको राजनले बताए । बगानमा काम गरेर कर्मी परिवारका सबैको गरेर सातामा सात हजार पाँचसय रुपैयाँ आउँछ । यो कमाइले घर खर्च राम्रो चलेको भए पनि भने जस्तो घर बनाउँन नसकेको भनाई छ । चिया बगानमा कार्यरत मजदुरलाई आर्थिक रुपमा जीवन चलाउन समस्या भएको छ ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९२० सालमा चीन भ्रमणबाट फर्कने क्रममा चियाको बीऊ उपहारमा ल्याएका थिए । त्यसयता ब्रिटिस सरकारको इष्ट इण्डिया कम्पनीमार्फत दार्जीलिङको विभिन्न पहाडी भागमा चियाको खेती भएको थियो । दार्जीलिङको चियाको खेती हेरेर नेपालको पहाडी क्षेत्र सर्वप्रथम इलाममा चिया रोपण गरिएको थियो । त्यसपछि पाँचथर, ताप्लेजुङ र धनकुटामा चियाको खेती गर्न शुरु गरेको तथ्यांक छ ।

इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती हुँदै आएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टरमा चिया खेती हुँदै आएको छ । झापामा एक हजार ६ सय भन्दबढी चिया बगान रहेका छन् ।

प्रकाशित मिति : भाद्र ९, २०८० शनिबार  ३ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]