बैशाख २३, २०८१ आईतबार

राजनीतिक अवस्थाले निम्त्याएको वितृष्णा

गोमा पोख्रेल

म नेपाल सरकारको एक राष्ट्रसेवक कर्मचारी जो एउटा जिम्मेवार नागरिकको हैसियतले आफ्नो देशको राजनीतिक अवस्थाप्रति हुनपर्ने सचेतता भन्दा बढि भित्र पसेर राजनीतिमा चासो नदिने नागरिकको एक प्रतिनिधि पात्र हुँ ।
नेपालको संविधानले नेपाललाई संघीय राज्यको रूपमा मान्यता दिदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेर संघीयताको कार्यान्वयन भईरहँदा देशमा भईरहेको राजनीतिक अवस्थाले निम्त्याएको परिणामबाट विचलित मात्र नभई राजनीतिप्रति नै बितृष्णाको भावना जागृत हुन पुगेको छ ।

म एक जिम्मेवार नागरिकको स्थानमा रहेर हेर्दा राजनीतिका नाममा देशले दिनप्रतिदिन ठूलो आर्थिक संकट झेलिरहनु परेको मात्र छैन भोलीको भविष्य नै कहालीलाग्दो बन्दै गईरहेको अनुभूत भईरहेको छ । नेपालको संविधानले व्यवस्था गरेको तीन तहको सरकार संरचना कार्यान्वयनका क्रममा भईरहेको अस्तव्यस्त अभ्यासले स्थानीय सरकार देखि संघीय सरकार समेत अछुतो छैन ती सबैको परिणाम भनेकोे बढ्दो आर्थिक संकटको क्रमसँगै युवा एवं बौद्धिक वर्गहरूको पलायन (ब्रेनड्रेन) पनि हो ।

संविधानले राष्ट्रको समग्र विकासका लागि संघीय सरकार र स्थानीय सरकारको बीचमा रहेर कार्य गर्ने सरकारको परिकल्पना स्वरूप गरेको प्रदेश सरकारको व्यवस्था अहिले आएर नकाम जस्तै बन्न पुगेको छ । प्रदेशको आवश्यकता नरहेकोमा धेरै मतहरु सुनिन थालेका छन् । मेरो विचारमा अहिलेको नेपालको सन्दर्भमा बिना उपलब्धी व्ययको भार थप्ने सबैलाई मन्त्री र सासंदको भागवण्डा पुग्याउने थलो मात्र बन्न पुगेको छ प्रदेश । मन्त्री, सासंदको सुविधा, गाडी, इन्धन, चियापान उद्घाटन र समापनका नाममा मात्र करोडौ करोड एउटा प्रदेशको एक मन्त्रालयको मासिक खर्च हुन आउँछ । जसको उपलब्धि भन्नेको औलामा गन्न पनि धौं धौं छ ।

यति मात्र नभई निर्वाचनका नाममा हुने अरबौं खर्च भेलमा बगाए जस्तै बन्न पुगेको छ । सबैलाई मन्त्री नै बन्न पर्ने, सासंद नै हुन पर्ने होडबाजी चलिरहँदा देशको चिन्ता एक हात नेतामा पाउन पनि मुस्किल देखिन्छ । प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र, संघीयता जे–जे परिवर्तन आएपनि भागवण्डाको राजनीति अन्त्य भएको छैन, सरकारको स्थिरता छैन, नागरिकले अनुभूत गर्ने र सरकारप्रति अपनत्वबोध गर्ने परिवर्तन भएको छैन । जे–जे भईरहेको छ यसैको ठीक विपरीत भईरहेको अवस्था छ ।

यहाँ एउटा साधारण नागरिकले विदेश जाँदा र घर बनाउँदा लिएको ऋण तिर्न नसकेर आत्मदाह भईरहेको छ । एउटा कलेजमा ३५ वर्ष नोकरी गरेको प्राध्यापकले मृगौलाको पत्यारोपण र डायलाइसिसका लागि फेसबुकका भित्तामा चन्दा मागेर मर्नुपर्ने स्थिति छ । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । जब कि यही देशका नेता सामान्य उपचारका लागि दिल्ली र अमेरिका पुग्दछन् । नागरिक प्रति सरकारको दायित्व कहाँ छ ? हामीले हाम्रा सन्ततिलाई के भनेर आफ्नो देशमा नै पढ्नु पर्छ, रोजगारी गर्नु पर्छ हाम्रो देश यी र यस्ता कुरा राम्रो छ भन्ने कुरा के ? एउटा त ठाउँ राखी देउ । कि अब पनि सगरमाथा भएको र बुद्ध जन्मेको देश भनेर नै पढेर बसेर मात्र पुग्छ ! नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा खोइ ? रोजगारीका अवसर कहाँ छ ? लगानी के मा सुरक्षित छ ? अध्ययन र अवसरको नाममा होस् यात सामान्य रोजागारका नाममा बिदेश नगएको परिवार छैन ।

मध्यरातमा भावविव्हल हुँदै विमानस्थलबाट परिवारका सदस्यले गरेको बिदाईका तस्वीर कति हेर्नु ! ती सबै सास लिएरै फिर्ता हुन्छन् भन्ने सुनिश्चितता पनि छैन । यता घरमा वृद्ध बुवा आमालाई तातो पानी दिने औषधी उपचार सोध्ने मान्छे छैन । मेनपावरको उद्घाटनमा रिवन काटेर यो वर्षमा यति नेपाली रोजगारीका लागि जापान, कोरिया, मलेसिया, कुवेत र इजरायल गए भनेर गजक्क परेर भाषण ठोक्ने नेता भएको हाम्रो देशमा र हामीजस्ता राष्ट्रसेवक कर्मचारी जो स्थायीत्वको लोभमा आजसम्म नेपाल मैें छौ सबै भिरको चिन्डो बन्न पुगेका छौ । कर्मचारी समायोजनका नाममा गरिएको विभेदले प्रदेश र स्थानीय तहमा समायोजन भएका हामी कर्मचारीले नियुक्ति हुदाँका बखत निजामति सेवा ऐनले गरेको व्यवस्था अनुसारका सेवा सुविधा नै संकटमा पुगिसक्यो । स्थानीय तहमा जबरजस्ती गरिएको समायोजन अनि वृत्ति विकासमा हालिएको तगारोले जागिर नै निल्नु न ओकल्नु भएको छ ।

यहाँ आशाका कुरा भन्दा निराशाका कुरा बढी छन् । बुद्ध जन्मेको देश, सगरमाथाको देश, गोर्खालीको देश भनेर धेरै सताब्दि बितिसके । देशमा राजनीतिक अस्थिरता जिउँका तिउँ छ । बीना उपलब्धीका क्षेत्रमा व्यय, भ्रष्टाचार, दण्डहिनता मौलाउँदो गइरहेको छ । सन्दुक रुइत र महावीर पुन देशले चिन्दैन । खानी कहाँ थाहा छैन, भौगर्भिक सर्बे गरि तथ्याँक दिन फेरि टोनी हेगन जन्मिनु पर्छ अनि नेपाल आउन पर्छ । जडिबुटी र कच्चा पदार्थको महत्व भन्दा कुर्सी र सत्ताको महत्व कयौंले बढी छ ।

नेपालको पहिचान झल्काउने र विश्वमा नेपाललाई चिनाउने बस्तुहरु भनेको भगवानको मकै जस्तै हो, त्यसलाई ब्रान्डिङ गर्यो भने पाप लाग्छ । त्यही मकैको दुई दाना बिन्ती बिसाएर प्रसाद स्वरूप लगेको एउटा विदेशी नागरिकले मकैको उन्नत जात उत्पादन गरेकाले विश्वमा नाम कमायो, ठूला ठूला अवार्ड पायो तर बाँकी घोगाको मकै पूजा गरेर बसेका हामी प्रगति र विकासलाई अझै बुझ्न सकेनौ ।

सही र गलत चिन्न मै समय बितायौं तै पनि सही छुट्याउन सकेका छैनौं । भोट माग्न आउँदा ती नै नेतालाई भोट दिने र सत्तामा पुगेपछि राम्रो काम गरेनन् भनेर गाली गर्ने हामी नेपाली आफूहरूले नै राजनीतिप्रति भाग्यवादी सोच विकास गरिसक्यौं । यसलाई तोड्न सक्षम नेतृत्वको चयन गर्न सक्नु आम नागरिकको कर्तव्य हो । नेपाल र नेपाली हुनमा गौरव गर्न सक्ने राजनीतिक व्यवस्था र विकासका लागि पैरवी र पहल गर्नुपर्दछ । अब हरेक नागरिक, राजनीतिदल र सरकारले आफ्नो स्वार्थ भन्दा माथि उठेर देशलाई बचाउनु पर्छ । नेपालको साख जोगाउन नसके भावी पिढीले धिकार्ने छन्, त्यसैले देशको अस्तित्व नै संकटमा पर्न सक्ने खतराबाट जोगाउन आम नेपाली जनता सचेत बन्नुपर्दछ ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  ५ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]