बैशाख २१, २०८१ शुक्रबार

कचनकवल ‘उत्तर चुवाहट’ प्रकरण : छानविनका लागि परीक्षा स्थगित, विज्ञ हटाइने

बिर्तामोड । झापा कचनकवल गाउँपालिकाको शिक्षक छनौट परीक्षामा ‘उत्तर चुवाहट’ प्रकरणले बुधबारको परीक्षा रोकिएको छ ।

आधारभुत तहका लागि ११ जना शिक्षक छनौट गर्न गाउँपालिकाले परीक्षा लिइरहेको थियो । मंगलवार पहिलो पत्र परीक्षा सञ्चालन गरेको गाउँपालिकाले सोही प्रकरणका कारण दोस्रो दिनको परीक्षा तत्काललाई स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले जानकारी दिइन् ।

परीक्षाका लागि विज्ञका रुपमा काम गरेका डिल्ली पोखरेलले चुवाहट गरेको अधिकांशले आरोप लगाएपछि उनलाई हटाउने सहमति भएको छ । विज्ञमाथि धेरै प्रश्नहरु उठेपछि उहाँलाई राखेर काम गर्न सकिएन, यादवले भनिन् । उक्त प्रकरण बारे के भएको हो जानकारी गराउनु भन्दै गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले निर्देशन दिइसकेका छन् ।

साउन ३२ गते सञ्चालित परीक्षामा उत्तर चुवाहट भएको आशंकाले चौतर्फी विरोध भइरहेको छ । अंग्रेजी शिक्षकको छनौटका लागि लिइएको परीक्षामा उत्तर चुवाहट गरिएको भन्दै उक्त परीक्षामाथि प्रश्न उठेको हो । परीक्षाको एक दिनअघि उत्तरहरु ‘पास गराउनु पर्ने’ परीक्षार्थीलाई पठाइएको भेटिएपछि स्थानीय अगुवाले प्रश्न उठाएका हुन् ।
गाउँपालिकाले आधारभुत तहका लागि निजी दुई जना अंग्रेजी शिक्षक नियुक्ती गर्न परीक्षा सञ्चालन गरेको थियो । गाउँपालिकाले गत जेठ १० गते सूचना जारी गरेर शिक्षकको लागि विज्ञापन खुलाएको थियो । पालिकाले साउन ३२ गते स्थानीय लक्ष्मी माविमा परीक्षा सञ्चालन गरेको थियो ।

शिक्षक नियुक्तिका लागि गाउँपालिका परीक्षा सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई समितिको संयोजक तोक्ने व्यवस्था छ । तर, कार्यपालिकाले चाहेको खण्डमा निर्णय गरेर अर्को व्यक्तिलाई संयोजक बनाउन सक्ने बताइएको छ ।

उक्त परीक्षा पूर्व उत्तर सार्वजनिक भएको प्रमाण फेला परेपछि गाउँपालिकाले नियक्त गर्ने नगर्ने भन्ने बारे अन्यौलता प्रकट गरेको छ । प्रमुख प्रशासकीय अधिकृत यादवले परीक्षाका बारेमा विभिन्न कुराहरु उठेकाले सहजै नियुक्ती दिएर जान नसकिने बताइन् । उनले भनिन्, मैले मंगलवार उत्तर लेखिएको कागज भेटेपछि छक्क परेको छु । विज्ञलाई सोधपुछ गर्ने काम पनि भएको छ । परीक्षाको विश्वसनीयतामाथि प्रश्न उठेपछि छलफल गरेर निर्णय लिने सोच छ ।

परीक्षा सञ्चालनका लागि शिक्षा शाखा प्रमुख सचिव, प्रशासनको कर्मचारी र विषय विज्ञ समितिमा रहने व्यवस्था छ । कचनकवलको अहिलेसम्मका सबै परीक्षाहरुमा विज्ञका रुपमा डिल्ली पोखरेलले नै काम गरेको पाइन्छ । अधिकांशले परीक्षा विश्वसनीय नभएको भन्दै पुनःपरीक्षाका लागि माग समेत गरिएको छ ।

अंग्रेजी महिनाको अगस्ट १७ तारिख ९ बजेर ४० मिनेटमा उत्तरहरु लेखिएको कागजात इजलासले फेला पारेको छ । विज्ञ पोखरेलले परीक्षार्थीसँग पैसा लिएर उत्तर पठाएको हुन सक्ने आशंका स्थानीयहरुले गरेका छन् ।
साउन ३२ गते सकिएको परीक्षाको नतिजा आइसकेको छ । तर, परीक्षा समितिले हालसम्म नियुक्तिका लागि सिफारिस नगरेको प्रमुख प्रशासकीय अधिकृत यादवको भनाई छ ।

विज्ञ मार्फत ‘उत्तर चुवाहट’ भएको आशंका लागेपछि बुधबार सञ्चालन हुने परीक्षा स्थगित भएको हो । गाउँपालिकाभित्रबाटै प्रश्न परीवर्तन गर्नुपर्छ भन्ने आवाज उठेपछि परीक्षा तत्काललाई स्थगित गरिएको छ । सोही विषयमा गाउँपालिकामा छलफल गरेर परीक्षामाथि उठाइएको प्रश्न बारे अध्ययन गरेर अगाडि बढिने जनाइएको छ ।

प्रकाशित मिति : भाद्र १४, २०८० बिहीबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]