जेष्ठ १, २०८१ मंगलबार

ताप्लेजुङ गोल्डकप : रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा

ताप्लेजुङ, १५ भदौ : ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा झापाको गोर्खा स्पोर्टिङ क्लबलाई २–० गोलको अन्तरले पराजित गर्दै इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफको १० औँ मिनेटमा रेडहर्षका युवराज राईले एक पहिलो गोल गर्नुभएको थियो भने ५८ औँ मिनेटमा आशिष राईले दोस्रो गोल गर्नुभएको थियो ।

यसअघि हिजो भएको खेलमा घरेलु टिम मानाभरा युथ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरीको जुट विकास एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसैबीच भोलि दिउँसो १ बजेपछि हुने खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र पथरी ११ मोरङबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जिलिङको युनाइटेड खर्साङ क्लबसहित आठ टिम सहभागी छन् । विसं.२०२९ देखि लाखेजात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ को महामारीलगायतका कारण रोकिएको थियो । यसअघि पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यो पटक ताप्लेजुङ गोल्डकपका रूपमा सञ्चालन भएको हो ।

यही भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

लाखेजात्रासँगैको खेलकुद प्रतियोगितामार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाई राख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पूर्णरूपले जुटेको अध्यक्ष गुरुङले बताउनुभएको छ ।

प्रकाशित मिति : भाद्र १५, २०८० शुक्रबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]