तीजलाई भड्किलो नबनाऔं
सम्पादकीय
हिन्दु नारीहरुको विशेष पर्वको रुपमा रहेको तीज पर्वको चहलपहल सुरु भइसकेको छ । तीज आउन एक हप्ता बाँकी रहँदा तीजको चहलपहल सुरु भइसक्यो । कोभिड महामारी र आर्थिक मन्दीले प्रभावित नेपाली समाजमा केहि वर्षयता ठुलो उत्साह छैन । किनभने, कोभिडले धेरै परिवारमा दुख भित्रायो । मन्दीको चपेटाले उस्तै कठिनाईपूर्ण जीवन चलिरहेको छ । यसैबीचमा आइपर्ने चाडवाडहरु सुखद ढंगबाट मनाउन पाइरहेको अवस्था पनि छैन । तर, यो वर्षको तीज नजिक आउदै गर्दा विभिन्न कार्यक्रमहरु सुरु भइसकेका छन् । भाई टिका त्यहि दिन मात्र मनाइन्छ । दशैंको टिका लगाउने पनि साइत छ । तर, तीजलाई हरेक वर्ष हप्तादिनअघि देखि रमझम बनाइन्छ ।
नेपाली चाडवाडहरुको आफ्नै मौलिकता छ । तर, चाडवाड मान्ने परिपाटीले यसको मौलिकता खल्लो बनाइरहेको छ । यस तर्फ ख्याल गर्न सकिएको छैन । अब, ख्याल गरिएन भने विस्तारै यस प्रकारका चाडको महत्व समेत घटेर जानेछ । तीजलाई सभ्य र भव्य बनाउन अपरिहार्य छ । भव्यताका नाममा उश्रृङ्खल बनाइयो भने गरिव, विपन्न महिलाको अगाडि तीज पर्वको मर्म भत्किन्छ । यसलाई सामाजिक हिसावले मनाउन जरुरी छ । समाजमा दुई छाक मिठो मसिनो खान नसक्ने महिलाहरुको साथमा तीज बनाउने हो भने धेरै अर्थपूर्ण हुन्छ ।
हरेक पर्वहरुलाई समायनुकुल पनि बनाउनुपर्छ । अहिलेको सामाजिक समस्याहरु के हुन् ? आम महिलाका समस्याहरु के कस्ता छन् । यस प्रकारका समस्याको समाधानका लागि छलफल अन्तरक्रिया गरेर चाड मनाउनुपर्छ । धार्मिक विधिहरुमा पनि पाच्य संस्कृतिलाई अवलम्बन गर्नुपर्छ । यो बेला आश्रममा बसेका वृद्ध आमाहरुसँग तीज मनाउन सकियो भने ठुलो पूण्य हुन्छ । गरगहना, कपडा, भड्किलो खानपिन, लामो समयसम्मको नाचगान आदि अनुत्पादक कार्यहरूले तीजजस्ता चाडवाडहरूलाई भड्किलो मात्रै बनाउछ । त्यसले मौलिकतालाई समेत ख्याल गरी तीज मनाऔं ।