अस्पतालमा शिशुको विवरण राखौं
सम्पादकीय
बच्चा नभएका अभिभावकहरुलाई बच्चा नहुँदाको पीडा थाहा छ । बच्चा भएकाहरुलाई त्यसको पीडा र सामाजिक दवाव थाहा हुदैन । बच्चा नभएकाहरुले बच्चा नहुँदा असिमित पीडा छ । त्यो स्वभाविक पनि हो । आफ्नो सन्तान नहुने कुरा कल्पना बाहिरको विषय हो । तर, कतिपय ठाउँमा बालबच्चामाथि गरिएका दुव्र्यवहारजन्य घटनाले मनहरु चिसो बनाइदिन्छ । जिउ जिरिङ्ग हुन्छ । मान्छेहरुमा हराएको मानवता प्रष्ट देख्न सकिन्छ । मानवता हराइरहेका मानवहरुले अबोध शिशुमाथि गर्ने व्यवहारले जो कोहि मनकारीहरुलाई पीडा हुन्छ नै ।
झापाको भद्रपुरस्थित एमरेल्ड स्कुल नजिकै एउटा झाडीमा दुई साताअछि शिशु फेला परेको थियो । शिशु फेला परेको केहिबेरमा अस्पताल पुराएर रेखदेख थालिएको छ । शिशुको आवश्यक व्यवस्थापनका लागि नगरपालिकाले पहिलो चरणमा अभिभावक नै खोजी गरेको छ । विभिन्न चरणमा शिशुको उचित व्यवस्थापनका लागि नगरले गरिरहेको पहल उदाहरणीय छ । वेवारिसे अवस्थामा फेला परेको शिशुको अभिभावक नभेटिए पनि जिम्मा लिनेहरुको भीड ठुलै छ । यो भीडले शिशुको जीवन राम्रो बनाउने गरि काम गर्न सकोस् ।
कुनै पनि आमाले आफ्नो बच्चा फालेर हिड्ने कल्पना गर्न सकिन्न । यो अपराध मात्र होइन, यो त महापाप पनि हो । यसलाई कुनै पनि हालतमा क्षमा समेत दिन सकिन्न । अब,स्थानीय सरकारहरुले शिशुको जन्मपछि आइपर्ने संभाविकत यस प्रकारका दुर्घटनाबाट बचाउन एउटा प्रयासको थालनी गर्नैपर्छ । त्यसका लागि अस्पतालहरुले बच्चाको जन्म भइसकेपछि शिशु,आमा र बुबाको अनिवार्य तस्वीर राख्ने नियम बनाउनुपर्छ । जसले यस प्रकारको दुर्घटनापछि पहिचान गर्न पनि सहज हुन्छ । सबै अस्पतालहरुले बच्चा जन्मिएको विवरण तस्वीरसहित पालिकाहरुलाई बुझाउन सक्ने हो भने यस्ता दुर्घटना दोहोरिने थिएनन् । यस तर्फ विशेष ध्यान दिऊ ।