जेष्ठ ७, २०८१ सोमबार

एमाले कोशी प्रदेश अधिवेशनको लोगो सार्वजनिक

विराटनगर – नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक भएको छ । आगामी असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको हो ।

लोगोको पृष्ठभूमिमा सगरमाथा त्यहाँबाट बग्दै आएको नदी राखिएको छ । नदीको दायाँवायाँ खेताका फाँटहरु राखिएका छन् । यसैगरी लोगोको वायाँतिरको भागमा नेपालकै होचो भूमि केचनाको स्तम्भ देखिन्छ ।

अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १२ गते गर्ने कार्यक्रम रहेको एमाले कोशी प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार प्रदेश अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि प्रदेश इञ्चार्ज, प्रदेशका पदाधिकारी, प्रदेशका केन्द्रीय सदस्य लगायतका नेता कार्यकर्ता तोकिएको जिम्मेवारी अनुसार काममा खटिएका छन् ।

प्रदेश अधिवेशन सम्पन्न गर्ने विभिन्न उपसमिति बनाएर कार्य विभाजन गरिएको छ । प्रदेश अधिवेशनका लागि १४ वटै जिल्लामा एकै दिन असोज ५ गते प्रतिनिधि छनौट हुँदै छन् । सबै पालिका र तहमा एकै दिन प्रतिनिधि छनोट हुने प्रचार उपसमितिका संयोजक शैलेश लामाले जानकारी दिनुभयो ।

प्रदेशभरी करिब ११ सय प्रतिनिधि हुनेछन् । अहिलेका प्रदेश कमिटी सदस्यसमेत प्रतिनिधि हुन तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : भाद्र ३०, २०८० शनिबार  ११ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]