बैशाख १८, २०८१ मंगलबार

झापामा पहिचानवादी युवाको शक्ति प्रदर्शन

बिर्तामोड । प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलनरत पहिचानवादी राजनीतिक दलहरुले झापामा १ हजार ५ सय १ सदस्यीय युवा दस्ता गठन गरेको घोषणा गरेका छन् । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा युवा दस्ता गठन भएको घोषणा गर्दै शक्ति प्रदर्शन गरिएको छ ।

‘पहिचानका लागि युवा’ नारासहित युवा दस्ता गठन भएको हो । युवा दस्ताको संयोजकमा सामी पालुङवा चयन भएका छन् । सह–संयोजकमा सुमन सम्वाहाम्फे र कर्ण राजबंशी तथा सदस्य सचिवमा गौरिमान राई चयन भएका छन् ।
संयोजक पालुङवा लामो समयदेखि लिम्बुवान प्राप्तीको आन्दोलनमा सक्रिय युवा हुन् । राजनीतिक रुपमा खारिएका युवाको नेतृत्वले युवा दस्ताले अघि सारेको आन्दोलन सफल बनाउन मद्दत पुग्ने बिश्वास पार्टीले लिएको छ ।

युवा दस्ता गठनसँगै बिर्तामोडमा ¥याली र कोणसभासमेत आयोजना भएको थियो । कोणसभामा सम्बोधन गर्ने वक्ताहरुले प्रदेशको नाम कोशी खारेज गराएरै छोड्ने दावी गरेका थिए । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत दलहरुको अगुवाईमा युवा दस्ता गठन भएको हो ।

पहिचानवादी दलहरुको गतिविधिलाई नजिकबाट नियालिरहेको प्रशासनले भने ठुलो संख्यामा प्रहरी परिचालन गरेको थियो । कार्यक्रम स्थलमा सयौं सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो । युवा दस्ताले लाठी लिएर ¥यालीमा सहभागिता जनाएका थिए । हातमा लाठी र सञ्चारसेट बोकेका सयौं युवाहरुले बिर्तामोडको सिटी सेन्टरमा आयोजित दस्ता घोषणापछि प्रदर्शन गरेका थिए । बिर्तामोडको सिटी सेन्टरमा युवा दस्ता गठन भएको घोषणापछि घरेलु हतियार लठ्ठीसहितको जर्सीधारी युवाहरुलाई बिर्तामोडमा मार्चपास गराईएको थियो । कोशी प्रदेश खारेजीको नारामा हातमा लठ्ठी उचल्दै उनीहरुले मार्चपास गरेका थिए ।

पहिचानवादी दस्ताले बोकेको सञ्चारसेटको आधिकारिकताको बिषयमा प्रहरीले भने अनविज्ञता प्रकट गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीलाई युवा दस्ताका कार्यकर्ताले ‘मिडियाको सञ्चारसेट’ भन्ने जवाफ दिएको बताए । कार्कीले सञ्चारसेटकोे आधिकारिताका बिषयमा बुझेर जानकारी दिने बताए ।

सञ्चारसेट प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ । तर, शनिवार घोषित युवा दस्ताले प्रशासनबाट अनुमति नलिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनले प्रहरीले अनाधिकृत रुपमा प्रयोग भएको भए जफत गर्नेसमेत बताए ।

प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]