फक्ताङ्लुङ तीर्थयात्रा सुरु
फुङ्लिङ । ताप्लेजुङमा अवस्थित किराती धर्मावलम्बीको साझा तीर्थस्थल फक्ताङ्लुङमा तीर्थका लागि जाने मौसम सुरु भएको छ । फक्ताङ्लुङ दर्शन गर्ने उपुक्त मौसम भएसँगै पूर्वका विभिन्न स्थान तथा विदेशबाटसमेत तीर्थयात्राका लागि फक्ताङ्लुङ थालेको हो ।
जिल्लाका फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा रहेको विश्वका किरातीको धार्मिक सांस्कृतिक पर्यटकीयस्थल, पवित्र आस्थाको केन्द्र महातीर्थभूमि, ज्ञानभूमि, कर्मभूमि, पूण्यभूमि ‘सेन्छेइ फक्ताङ्लुङ’ किरात धर्मावलम्बीको विगत झैँ यो वर्ष पनि तीर्थयात्राका लागि लस्कर लाग्न थालेको छ । आफ्नो पवित्र पावनभूमि सम्झेर सेवा भक्तिका निम्ति तीर्थयात्रामा निस्कने गरेको झपाको दमकदेखि तीर्थ यात्राका लागि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ आइपुग्नुभएको अर्थबहादुर नेम्वाङले बताउनुभयो ।
किरातीहरू फक्ताङ्लुङ फेदीमा रहेको ढुङ्गामा पुग्ने गरेका छन् । सो ढुङ्गाको दायाँबायाँ दुई ओढार छन् । सो ओढारलाई किरात मुन्धुमी पानमा ‘मारुम तेम्बे पारुम तेम्बे’ अर्थात् ‘मातृ ओढार पितृ ओढार’ भनेर चिनिने गरेको किरात मुन्धुमका जानकार ज्ञानु फुरुम्बो (चरपे) बताउँछन् । त्यही स्थलमा पुगेर किरात धर्मावलम्बी सेवा भक्ति आराधाना गर्ने गर्दछन् । “यहाँसम्म पुगेपछि सबै घर परिवारमा सुख, शान्ति हुन्छ भन्ने विश्वास रहेको छ । त्यसैले फक्ताङ्लुङ दर्शनका लागि आएका हौँ ।” इलामबाट किरात धर्मावलम्बीको टोलीलाई लिएर रामकृष्ण लिम्बूले भन्नुभयो, “फक्ताङ्लुङ पुग्नका लागि आआफ्नो घरबाट नै खाने भाँडादेखि खाद्यान्न, लत्ताकपडाकोसमेत प्रबन्ध मिलाएर डोकोमा बोकेर हिँडेका छौँ ।”
झापा, इलाम र पाँचथरबाट आएको यस टोलीमा ३० जना तीर्थयात्री रहेको लिम्बूले बताउनुभयो । उहाँहरू खानेकुरा, लत्ताकपडा साथै सम्पूर्ण सामग्री डोकोमा बोकेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट आज अघि बढेका छन् । दर्शन गर्ने स्थान पुग्नका लागि मात्रै पाँच दिनसम्म लाग्ने दर्शन गरेका र आफ्नो घर पुग्नका लागि करिब १५ दिनको समय छुट्याएको लिम्बूले बताउनुभयो ।
मुन्धुम र महागुरुको धार्मिक उपदेशमा उल्लेख भएअनुसार यो स्थल किरातीको उत्पत्ति स्थल र किरात धर्मावलम्बीले पुज्दै ल्याएको हाङ्साम थेवा हाङसाम युमा अथवा ज्ञान, विवेका शक्ति सिद्धि शक्तिका धनी सत्यकी रानी सत्यका राजा, पितृदेव मातृदेवहरूको बासस्थान हो त्यसैले पवित्रस्थल सेन्छेइ फक्ताङ्लुङमा जानेको यो सिजनमा त लर्को लाग्छ ।
किरात महागुरुको उपदेशअनुसार सम्पूर्ण किरात धर्मावलम्बी वर्षको एकपटक सो स्थलमा सेवा भक्ति गर्न पुग्नैपर्ने नसक्नेले जिन्दगीमा एकपटक अनिवार्य पुग्नैपर्ने, सक्नेले वर्षैपिच्छे जानुपर्ने र जो व्यक्ति सो स्थलमा पुगेर सेवा दर्शन गर्न सक्छ पछिल्लो जन्ममा ज्ञानशक्ति, धनशक्ति, जनशक्ति र राजशक्ति लिएर जन्म हुन्छ र जीवनमा आफूले गरेको कुकर्म, पाप सबै नष्ट हुन्छ । तीर्थका लागि नेपाललगायत भूटान, भारतको दार्जिलिङ, सिक्किम, आसाम, वर्मा, युके, हङ्कङ, अमेरिका, कोरिया, मलेसिया, साउदीअरबजस्ता देशबाट भक्तजन आउने गरेका छन् ।
फक्ताङ्लुङमा दर्शन गर्न कति तीर्थयात्रीहरु आउँछन् भन्ने तथ्याङ्क भने अहिले कसैले राखिएको पाइदैन । तर प्रत्येक वर्ष पाँचसयदेखि एक हजारसम्म आउने गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक जितेन चेम्जोङले बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रमा आउने बाह्य पर्यटकको भने तथ्याङ्क राख्ने गरिन्छ । तर आन्तरिक पर्यटकको पनि तथ्याङ्क राख्नुपर्ने तर अहिलेसम्म तथ्याङ्क राखिएको छैन ।”
फुङ्लिङबाट दुई बाटो
ताप्लेजुङ सदरमुकामबाट सो स्थलमा जान दुई वटा बाटो रोज्नुपर्ने हुन्छ । ताप्लेजुङ बजारदेखि सिवा, छिरुवा, तागेरा निवाङ भुफुकु, लेलेप, आम्चिलेसा, गोप्ला, फले, घुन्सा हुँदै पाँच दिनको पैदलयात्रामा तीर्थभूमि ‘फक्ताङ्लुङ मारुम देन पारुम देन’ पुग्न सकिन्छ । अर्को बाटो भने ताप्लेजुङको काबेली श्रीङचोक हुँदै १६ दिनको यात्रामा पुग्न सकिन्छ । मौसमका हिसाबले असोज र कात्तिक महिना अनुकूल हुने स्थानीय अगुवाको भनाइ छ ।
चारैतिर माई कोपिला, बिखमा, भइरुङपाती, सुनपाती, सर्मगुरु, यार्सागुम्बाजस्ता वनस्पति पाइन्छन् । किरात धर्मावलम्बीले विगत समयमा आफ्नो धार्मिक तीर्थभूमि कहाँ हो भन्ने अन्योल रहेको अवस्थामा महागुरु फाल्गुनन्द लिङ्देनले पहिलो पटक १९९३ सालमा भक्तजनको साथमा फक्ताङ्लुङ यात्रा गरेका थिए । सोही समयदेखि किरात धर्मावलम्बीले आफ्नो तीर्थभूमि, कर्मभूमि र पूण्यभूमिका रूपमा पुज्ने र सो स्थलका लागि वर्षैपिच्छे तीर्थ यात्रा गर्दै आइरहेका छन् ।