बैशाख २४, २०८१ सोमबार

सम्पादकीय : फौजी किरा नियन्त्रणमा स्थानीय तहको ध्यान जाओस्

झापाको किसानलाई अहिले फौजी किराको संक्रमणले हैरान बनाइरहेको छ । धानबाली उठाउन नपाएका किसान फौजीको कारण आक्रान्त छन् । हरेक वर्ष विभिन्न समस्याले पीडा भोग्ने किसानलाई यो वर्ष फौजी किराले धुरुक्कै बनायो । धेरै वर्षपछि झापामा देखिएको फौजी किरा नियन्त्रणको प्रयास पनि सफल हुन सकेन । फौजी किराको बारेमा धेरै ज्ञान नभएका किसान अन्नतः हेरिरहन मात्र बाध्य भए । उनीहरुसँग यसको नियन्त्रणको लागि बलियो उपाय नै भएन । एकै रातमा बाली सखाप बनाउने किराले धेरै किसानलाई बाली नै उठाउन दिएन ।

वातावरणीय प्रभावका कारण देखा पर्ने फौजी किरा नियन्त्रण गर्न नसकेका किसानले यो वर्ष सयौं हेक्टरको धान गुमाए । धानमा फौजीले शून्य बनाएका किसान मकै जोगाउने ध्याउन्नमा छन् । धानमा ठुलो क्षति भयो । धान ,मकै र उखुमा विशेष गरी यो किराको संक्रमण हुने प्राविधिकहरुको भनाई छ । लार्भा उमेरमा फौजी किराले सबैभन्दा धेरै क्षति गर्छ । किसानले फौजी किरा चिन्न नसक्नु पनि यो पटकको समस्या बन्यो । यदि फौजी किराको जीवनचक्र बुझिएको भए यति क्षति हुने थिएन । पुतलीले अनुकुल वातावरणमा झारेको अण्डाबाट फैलिने समस्या समाधानको एउटै विकल्प भनेको पूर्व तयारी नै हो ।

बाली लगाउँदा नै माटोको उपचार गर्न सक्यो भने पनि फौजी किराको संक्रमण अन्त्य हुन्छ । किसानलाई सचेतना प्राप्त नहुँदा पनि बालीको सुरक्षा हुन सकिरहेको छैन । कृषि प्रधान देशमा बाली सुरक्षाको सामान्य ज्ञान समेत प्राप्त नहुनु विडम्बना हो । केन्द्र सरकारले आफ्नो नीति अनुसार काम गरिरहेको छ । त्यति मात्र पर्याप्त छैन । यसका लागि अब कृषि ज्ञान केन्द्रले आफ्नो उपस्थिति जनाउन जरुरी छ । स्थानीय सरकारले आम किसानको समस्या समाधान गर्न अभियान नै सञ्चालन गर्नुपर्छ । यदि प्रभावकारी अभियान सञ्चालन भयो भने किसानले थप पीडा भोग्नु पर्दैन । यसको नियन्त्रणमा सरोकारवाला जुट्नै पर्छ ।

प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार  ११ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]