बैशाख २३, २०८१ आईतबार

मेचीनगरका औषधि पसलमा अनुगमन

स्वास्थ्यमा खेलवाड गर्नेलाई कारबाहीको चेतावनी

लक्ष्मी उप्रेती

धुलावारी । झापाको मेचीनगर नगरपालिकाले शुक्रबार नगरका औषधि पसलमा अनुगमन गरेको छ । नगरस्तरीय अनुगमन टोलीका संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय झापाको प्रतिनिधि, जनस्वास्थ्य निरीक्षक, सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरुका प्रतिनिधिसहितको टोलीले नगरको मुख्यः व्यापारिक केन्द्रविन्दु धुलावारी बजारको पोलिक्लिनिक तथा निजी अस्पतालसहित औषधि पसलको अनुगमन गरेको हो ।

औषधि बिक्री–वितरतणको अवस्थासँगै कानुनी प्रक्रिया, दर्ता नवीकरण, तालिम प्राप्त र दक्ष स्वास्थ्यकर्मी लगायतको पनि अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । अहिले डेंङ्गी सक्रमण बढिरहेका बखत नगरका विभिन्न स्थानमा सञ्चालनमा रहेका औषधि पसल तथा निजी अस्पाल, औषधि पसलले सञ्चालन गरेका प्रयोगशालाले डेंङ्गी परीक्षणमा मनपरी शुल्क लिएको, औषधि पसलहरु मापदण्ड विपरीत चलेको, औषधि क्षेत्रमा विकृति बढेको गुनासो आएपछि नगरपालिकाको नगरस्तरीय अनुगमन टोलीले छड्के अनुगमन गरेको टोलीका संयोजक एवम् उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

उपप्रमुख उप्रेतीले भनिन्, ‘नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएका औषधि पसलको अवस्था बुझ्नका लागि अनुगमन गरिएको हो, दर्ता, नवीकरण मिति, दक्ष स्वास्थ्यकर्मीलगायतका विषय पनि अनुगमन भएका छन् ।” औषधि र औषधिजन्य वस्तुको सहीरूपमा उपभोगका साथै फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका लागि बजार अनुगमन अघि बढाउन आवश्यक रहेको उनको भनाई छ ।

अनुगमनका क्रममा मेचीनगर स्वास्थ्य शाखाका प्रमुख सविता सापकोटा निरौलाले औषधि पसललाई म्याद गुज्रेका औषधि नबेच्न र छुट्टै भण्डारण गर्न सचेत गराएको बताइन् । औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु औषधि पसलहरुले बिक्रीका लागि नराख्न वा नबेच्न र आफ्नो व्यवसाय सम्बन्धित सबै निकायमा दर्ता गरी समयमै नविकरण गर्न समेत उनले पसल सञ्चालकलाई निर्देशन दिइन् । नगरमा औषधि पसलले सञ्चालन गरेका प्रयोगशालामा डेंङ्गी परीक्षण शुल्क फरक फरक लिने गरेको फेला परेको शाखा संयोजक निरौलाले जानकारी दिए । ६ सय देखि एकहजार रुपैयाँसम्म लिने गरेको पाईएको अनुगमन टोलीमा संलग्न नगरका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिए ।

व्यवसाय सञ्चालन गर्दा पर्याप्त स्थानको व्यवस्था गर्न, व्यवसाय दर्ता सम्बन्धी कागजात ग्राहकले देखिने गरी राख्न, सबै ग्राहकलाई अनिवार्य रूपमा बिल दिन, प्रतिबन्धित औषधि डाक्टरको सिफारिसमा मात्रै बिक्री गर्न र तोकिएको ढाँचामा रेकर्ड राख्न निर्देशन दिएको अनुगमन टोलीका सदस्य एवम् जनस्वास्थ्य निरीक्षक रामप्रसाद अधिकारीले बताए । केही औषधि पसलहरु स्थानीय सरकारमा दर्ता नभएको, केहि फार्मेसीहरुको दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएको छ ।

अनुगमनका क्रममा केही औषधि पसलमा व्यवसाय दर्ता प्रमाणपत्र ग्राहकले देखिने गरी नराखेको, पर्याप्त स्थानको अभाव, औषधि किन्दा बिल नदिने गरेको जस्ता कमजोरी देखिएको अनुगमन टोलीले जनाएको छ । नगरका केही स्थानमा दर्ता नगरी औषधि पसल सञ्चालन भएको भन्ने सुनिएकाले नगरका सबै भेगमा अनुगमनलाई निरन्तरता दिने अनुगमन टोलीका संयोजक एवम् उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

विभागमा दर्ता नभएका औषधिहरु पनि फार्मेसीमा नराख्न, जसको नाममा औषधि पसल दर्ता भएको छ, उनका अनुसार फर्मासिस्टहरु नै पसलमा उपस्थित हुन्, औषधि पसलमा कष्मेटिक औषधि पनि बिक्री वितरणका नराख्न पनि व्यवसायीहरुलाई सुझाव दिइएको छ । फार्मासिस्ट भन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका कारण पनि औषधि क्षेत्रमा समस्या रहेको स्थानीयको भनाई छ । व्यवसायीले पनि औषधि पसलको अनुगमन समय–समयमा हुँदा आफूहरूले पनि थप कुरा बुझ्न र जानकारी दिन सहज हुने प्रतिक्रिया दिईएका छन् ।

टोलीले हरि हलेसी मेडिकल हल एण्ड क्लिनिक मेचीनगर—९, रुपा प्याथोलोजी एण्ड क्लिनिक सेवा, आगमन क्लिनिक मेचीनगर –१० मञ्जु फार्मेसी, महामायाँ मेडिकल हल, रोशन मेडिकल हल, शिखर अस्पताल, प्रालि दिपज्योति मेडिकल हल, मिलन मेडिकल हल, प्रतिभा जनुमा मेडिकलसहित दशवटा पसलको अनुगमन गरेको थियो ।

प्रकाशित मिति : आश्विन ५, २०८० शुक्रबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]