जेष्ठ ८, २०८१ मंगलबार

प्रभावकारी बन्दैछ बिर्तामोडको मेयर पकेट कार्यक्रम : बाख्रा बेचेरै करोडौ कारोवार

बिर्तामोड । झापा बिर्तामोड नगरपालिका–८ मा एउटा बाख्रा पालक कृषक समूहले छोटो समयमा चमत्कारिक प्रगति हासिल गरेको छ । बिर्तामोड नगरपालिकाको सहयोगबाट सुरु भएको बाख्रा पालनले सो समूहमा आवद्ध कृषकको जीवनमै परिवर्तन ल्याएको पाइएको छ ।

बिर्तामोड नगरपालिकाले ग्रामीण क्षेत्रमा महिलाको आर्थिक जीवन उकास्ने उदेश्य राखेर सुरु गरिएको मेयर पकेट प्याकेज कार्यक्रमले परिणाम हासिल गर्न थालिसकेको छ । मेयर पकेट प्याकेज कार्यक्रममा नगरपालिकाले बाख्रा, बंगर र कुखुरा साटासाट कार्यक्रम सञ्चालन गरेको थियो । ०७४-७५ देखि सुरु गरिएको मेयर पकेट प्याकेज कार्यक्रममा कुखुरा साटासाट सफल हुन सकेन । बाख्रा र बंगुर साटासाट कार्यक्रम प्रभावकारी भइरहेको पाइएको छ ।

बिर्तामाड– ८ किसानभिट्टाका ति महिला कृषकको मेहनतले नगरपालिकाको उद्देश्य पनि पुरा हुन थालेको छ । सो समूहका १५ जना कृषकलाई नगरपालिकाले उन्नत जातको ४५ वटा बाख्रा उपलब्ध गराएको थियो । त्यसको एक वर्षमा साटासाट कार्यक्रम अनुरुप ४५ वटा पाठा नगरलाई फिर्ता गरिएको थियो । नगरले फिर्ताको भएको पाठा सोही अनुसार अर्को समूहकलाई उपलब्ध गराएको पशुपंछी तथा मत्स्य विकास शाखाले जनाएको छ ।

नगरले सो समूहलाई ०७५÷७६ मा बाख्रा उपलब्ध गराएको थियो । ४५ वटा पाठा फिर्ता गरेर पनि बाख्रा पालक किसान समूहमा आवद्ध १५ जना महिनाले १ करोड २० लाख रुपैयाँको बाख्रा विक्री गरिसकेका छन् । अहिले १५ वटा खोरमा १३५ वटा उन्नत जातका बाख्रा मौज्दात रहेको समूहकी अध्यक्ष पवित्रा राईले जानकारी दिइन् । उनका अनुसार समूहमा आवद्ध महिलाहरुले वार्षिक रुपमा बाख्राबाटै २ देखि ४ लाखसम्म खुद मुनाफा आम्दानी गरिहरेका छन् ।

समूहले आज आफ्नै गाउँमा बाख्रा प्रदर्शन समेत गरेका छन् । कृषकले मेयर पकेट कार्यक्रमपछि पनि बाख्रा पालनलाई निरन्तरता दिदैं राम्रो आम्दानी गरेका हुन् । उनीहरुले बाख्रा प्रदर्शन गर्दै आगामी दिनमा थप विस्तार समेत गर्ने जनाए ।

मेयर पकेट प्याकेज कार्यक्रममा बाख्रा पाएपछि घरपरिवार खर्च, बालबालिकाको पठनपाठनमा मद्दत पुगेको उनीहरुको भनाई छ ।

बाख्रा प्रदर्शनी कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रमको उद्देश्य पुरा हुन थालेको भन्दै कृषकलाई धन्यवाद दिएकी छन् । ग्रामीण महिलालाई स्वरोजगार बनाउने र आर्थिक रुपमा सवल बनाउने उद्देश्य अनुरुप बाख्रा साटासाट कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले घरपरिवार खर्च, बालबच्चाको पठनपाठनसँगै चाडवाड र उपचार खर्च समेत बाख्रा पालनबाटै पुराउन सुझाव दिइन् । उनले भनिन्, बाख्रा अझै थपेर आम्दानी वृद्धिमा लाग्नुहोस् ।

यस्तै, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बाख्रा पालनमा कृषक समूहले गरेको मेहनतको प्रसंशा गरेका छन् । उनले मेहनत गर्ने कृषकलाई सबैखाले सहयोगका लागि नगरपालिका तयार रहेको उनको भनाई थियो । संग्रौलाले आम्दानी अझै वृद्धि गरेर समृद्धि हासिल गर्न आग्रह गरेका छन् ।

पशुपंछी शाखा प्रमुख सावित्रा दाहालले कृषक समूहहरु मध्ये धेरै राम्रो काम गरेकोमा धन्यवाद दिदैं आर्थिक जीवन माथि उठाउन कृषि तथा पशुपालन प्रभावकारी हुने बताइन् । उनले बिर्तामोड नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रमले प्रतिफल प्राप्त गर्ने थालेको जानकारी दिइन् । किसानको हकहितमा समेत नगरपालिकाले प्राथमिकतामा काम गर्दै आएको भन्दै उनले उक्त कार्यक्रम अन्तर्गत कृषकहरुलाई प्राविधिक सहयोग उपलब्ध गराइरहेको बताएकी छन् ।

बाख्रा प्रदर्शनीमा शाखाका प्राविधिक निमेश थापा लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : आश्विन ६, २०८० शनिबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]