मंसिर १६, २०८० शनिबार

सभामुखसँग नगरबासीको साक्षात्कार : समस्या र योजनाबारे छलफल

बिर्तामोड । झापा बिर्तामोडबासीले सभामुख देवराज घिमिरेलाई यहाँको विद्यमान समस्या र आगामी योजनाहरुका बारेमा जानकारी गराएका छन् । उक्त अवसर बिर्तामोड नगरपालिकाले प्रदान गरेको हो ।

आज विहान बिर्तामोड नगरपालिकाले होटल टाइमलेस मोमेन्टमा सभामुखसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा यहाँका नगरवासी, स्थानीय जनप्रतिनिधिहरु र विभिन्न दलहरुका प्रतिनिधिहरुले समस्या र योजनाबारे सभामुख घिमिरेलाई अवगत गराएका हुन् ।

अधिकांश सहभागीहरुले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणमा ढिलाई भइरहेको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । निर्माण पक्षबाट चरम लापरबाही भइरहेको र उक्त सडकलाई तत्काल निर्माणका लागि दवाव दिनुपर्ने अधिकांशको माग थियो । झापा क्षेत्र नं. २ मा निर्माण व्यवसायीहरुले अलपत्र बनाएका योजनाहरु बारे सभामुख घिमिरेलाई जानकारी गराइएको छ ।

सभामुख घिमिरेलाई विराटपोखरको विकासमा सरकारको तर्फबाट पर्याप्त लगानी हुनुपर्ने माग उठेको छ । विराटपोखरका अध्यक्ष इन्द्र नारायण प्रसाईले विराटपोखरको विकास र प्रवद्र्धनमा सरकारको तर्फबाट पर्याप्त सहयोगको अपेक्षा राखेको जानकारी दिए ।

यस क्षेत्रको स्वास्थ्य शिक्षामा पर्याप्त लगानी गरेर रोजगारको समेत सिर्जना गर्न सभामुख घिमिरेलाई आग्रह गरिएको छ । झापा २ बाट निर्वाचित घिमिरेलाई सहभागीहरुले किसानको उत्पादनलाई बजारीकरणमा कठिनाई भएको विषय ध्यानाकर्षण गराइएको छ । कृषि मार्फत अत्याधिक रोजगारी सिर्जना गर्न सकिने भन्दै कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सहभागीहरुको भनाई थियो ।

यस्तै, ऐन कानुन निर्माण नहुँदा तल्लो तहसम्म लथालिङ्ग अवस्था बनेको भन्दै सभामुख घिमिरेलाई कानुन निर्माणमा ध्यान दिन आग्रह गरिएको छ । बिर्तामोडको शहिद राम थापा मार्ग निर्माण नहँुदा ठुलो समस्या आएको भन्दै तत्काल निर्माणमा चासो दिन सभामुखसँग निवेदन गरिएको छ ।

बिर्तामोडमा रहेको इन्द्रचन्द्र क्याम्पसमा भौतिक पूर्वाधारको अभाव भएको जानकारी गराइएको छ । पूर्वी पहाडी क्षेत्रबाट ठुलो संख्यामा विद्यार्थीहरु अध्ययन गर्न आउने क्याम्पसमा पूर्वाधारको व्यवस्थापन गर्नुपर्ने बताइएको छ ।
बिर्तामोडको औधोगिक क्षेत्र अस्तव्यस्त भएको भन्दै जनप्रतिनिधिहरुले व्यवस्थापन मिलाउन आवश्यक पूर्वाधार निर्माण गरिनुपर्ने धारणा राखेका थिए । निर्माणधिन बाटो रोकिएको, सुरक्षा चुनौति बढेको समस्याहरु सभामुखलाई अवगत गराइएको छ ।

सभामुख घिमिरेलाई बिर्तामोडमा प्राविधिक शिक्षाको आवश्यकता रहेको भन्दै त्यसतर्फ ध्यानदिनुपर्ने बताइएको छ । प्राविधिक शिक्षाले रोजगारी सिर्जना गर्ने भन्दै त्यसका लागि आवश्यक योजना ल्याउनुपर्ने माग गरिएको छ ।
सभामुख समक्ष सुकुम्बासी समस्या समाधानका लागि आवश्यक पहल गर्न माग गरिएको थियो । तीन दिवसीय गृह जिल्ला भ्रमणमा आएका सभामुखलाई पूर्व जनप्रतिनिधि राजेन्द्र प्रसाद लिङ्देन, विराटपोखरका अध्यक्ष इन्द्र नारायण प्रसाई, वडाध्यक्षहरु अग्नि पाण्डे, मदन बुढाथोकी, किशोर पौडेल, सुर्य कन्दङवा, कृष्ण अविरल खरेल, राप्रपाबाट रञ्जु प्याकुरेल, पत्रकार गणेश पोखरेल, माओवादीमा बिर्तामोड इञ्चार्ज कमल कडरिया लगायतले समस्या तथा आगामी योजनाहरुबाट बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाको कार्यप्रगति बारे प्रगति विवरण राख्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वागत गरेका थिए । उनले शाखागत प्रगति सार्वजनिक गरेका थिए ।
कार्यक्रममा सभामुख घिमिरेले विकासमा लागि सबैले सच्चिनुपर्ने धारणा राखे । उनले विकास साझा एजेण्डा भएका बताउँदै उनले त्यसमा सहकार्य अनिवार्य भएको बताए । विकासको नेतृत्व दलहरुले नै गर्ने सभामुख घिमिरेको भनाई थियो । राजनीतिक दलहरु र जनताका प्रतिनिधिहरुले विकासमा चासो दिनुपर्ने बताए । यस क्षेत्रको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

सभामुख घिमिरेले तीन दिने झापा बसाईका क्रममा निर्माणधिन योजनाको अनुगमन गरिरहेको जानकारी दिए । ढिलाई भएका काममा निर्माण पक्षलाई राखेर कुरा राख्ने काम भएको बताए । उनले सहभागीहरुले उठाएका आगामी योजना बारे ध्यानाकर्षण भएको बताएका छन् । सरकार र स्थानीय जनप्रतिनिधिमार्फत अन्य योजनाहरु निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोड नगरपालिकाले विकासमा सधैं सबैसँग हातेमालो गर्दै आएको बताइन् । उनले आगामी दिनमा थप सहकार्य गर्दै जाने धारणा राखिन् ।

प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार  २ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]