बैशाख २१, २०८१ शुक्रबार

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

अम्बिका भण्डारी
झापा, १४ असोज : गौरादह नगरपालिका–५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत छवटा नमूना उद्योग सञ्चालन गरेका छन् ।

सहकारीमा आबद्ध महिलाले आफू स्वरोजगार बन्ने र स्थानीय क्षेत्रमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले उद्योग सञ्चालन गरेको बताएका छन् । यसमध्ये आचार उद्योग भने राम्रैसँग फस्टाएको छ । आचार बिक्रीबाट मात्र महिलाले वार्षिक रु छ लाख बढी आम्दानी गर्दै आएका छन् ।

सहकारीमा आबद्ध सेयर सदस्यले उत्पादन गरेका अग्र्यानिक कृषिजन्य वस्तु कागती, आँप, गाँजर, तामा, जलपाई र चारपाटे, अकबरे खुसार्नीलगायत विभिन्न प्रकारका आचार चार वर्षअघिदेखि उत्पादन गर्दै आएको नमूना आचार उद्योगकी अध्यक्ष सकुन्तला प्याकुरेलले बताउनुभयो । उहाँले अकबरे खुर्सानी भने इलाम, पाँचथरबाट खरिद गरेर ल्याउने गरेको बताउनुभयो ।

महारानी झोडा साना किसान कृषि सहकारी र एकीकृत नमूना सहकारी खेतीमा दैनिकजसो मुलुकका विभिन्न स्थानका सङ्घसंस्थाबाट भ्रमणमा आउन थालेपछि पर्यटकलाई यस क्षेत्रको कोसेली हुने र आम्दानीको स्रोत पनि बन्ने देखेर नमूना अचार उद्योग सञ्चालन गरेको उहाँले बताउनुभयो ।

सुरुमा छजना महिला मिलेर रु १८ हजार लगानीबाट सुरु गरेको आचार उद्योगको हाल आफ्नै भवनसहित सुविधासम्पन्न ल्याब र अचार बनाउने औजारसहित रु ३५ लाख बराबरको सम्पत्ति रहेको छ । उहाँले वार्षिक आचार बिक्रीमार्फत मात्र रु छ लाख आम्दानी हुने गरेको बताउनुभयो ।

महिलाहरूको जाँगर र पौरख देखेपछि उद्योगलाई भवन बनाउनका लागि गौरादह नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक सहयोग गरेका थिए । घरायासी कामधन्दा सकेर बचेको समय महिलाहरूले आचार उद्योगलाई दिँदै आएको उहाँको भनाइ छ । “नाफा बाँडेका छैनाँै, जति कमाउँछौँ त्यही उद्योगमा लगानी बढाइरहेका छौँ”, अध्यक्ष प्याकुरेलले भन्नुभयो, “यहाँ उत्पादित अचारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छाँै । जब लक्ष्यमा पुग्छौँ अनि मात्र मुनाफा बाड्छौँ ।”

महिलाहरूको मेहनत र परिश्रम देखेर एक वर्षका लागि सिट कन्ट्याक्ट नामक विदेशी एनजिओले सहज नेपालमार्फत आर्थिक सहयोग गरिरहेको उहाँले बताउनुभयो । नेपालले बजारीकरण, प्रयोगशाला सञ्चालन र कर्मचारीलगायत विभिन्न कार्यमा लाग्ने खर्चको ५५ प्रतिशत सहयोग गरिरहेको अध्यक्ष प्याकुरेल बताउनुहुन्छ ।

नेपालले आचार, पापड र दुग्ध परिकार उद्योगलाई नै जम्मा लगानीको ५५ प्रतिशतले आर्थिक सहयोग गरिरहेको छ । सहकारीले हाल चिप्स उद्योग, माछापालन, नमूना कडटम हाइरिङ, बागबानी खेती, गाई फार्म, नमूना फड्स् उद्योग, नमूना घरबास र नमूना खाद्य उद्योग सञ्चालन गरिरहेको छ ।

यहाँ उत्पादित सामग्री बिक्री वितरणका लागि कोसेली घर स्थापना गरिएको छ । सहकारी क्षेत्रका भ्रमणमा आउनुहुने आन्तरिक तथा बाह्य पर्यटकले दैनिक रु १० देखि १५ हजारसम्मको आचार कोसेली घरबाट खरिद गरेर लैजाने गरेका छन् ।

उद्योगमा उनीहरूले आफूमात्र नभएर, गाउँका अन्य महिलालाई समेत रोजगारी दिँदै आएका छन् । उहाँले भन्नुभयो, “यहाँ सञ्चालित उद्योग व्यवसायले हामी सदस्यलाई मात्र फाइदा गरेको छैन, उद्योगमा काम गर्ने सबैलाई आर्थिक उपार्जनको बाटो खोलेका छौँ ।” यहाँ उत्पादित सामान झापा, मोरङ, सुनसरी, इलाम, हेटाँैडा र काठमाडौँसम्म पुग्ने गरेको छ ।

प्रकाशित मिति : आश्विन १४, २०८० आईतबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]