जेष्ठ ४, २०८१ शुक्रबार

सभामुख घिमिरे र भूमि व्यवस्था मन्त्रीबीच झापाको भूमि समस्या समाधान गर्न छलफल

बिर्तामोड । सभामुख देवराज घिमिरे र भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठबीच आज भेटवार्ता भएको छ । झापाको विद्यमान भूमि समस्याबारे मन्त्री श्रेष्ठलाई जानकारी गराई समाधान गर्न सभामुख घिमिरेले आग्रह गरेका छन् ।

बिर्तामोड नगरपालिका वडा नं ८ स्थित गरामनी बजारमा विगत ६२ वर्ष देखि बसोबास गर्दै आएका २८ घरधुरीको धनीपुर्जा प्राप्त भएपनि हालसम्म मोठ कायम नभएकाले नापी विभाग भूमि व्यवस्था विभागसँग आवश्यक छलफल गरि मन्त्रालय स्तरबाट गर्न सक्ने भए गर्ने नत्र मन्त्रीपरिषदमा लगेर भएपनि तत्काल समस्या समाधान गर्ने सभामुख घिमिरेले आग्रह गरेका छन् ।

यस्तै, सभामुख घिमिरेलाई देशैभरीका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई जग्गा दिदा तिर्नुपर्ने राजस्व घटाउनका लागि मन्त्रालयले आवश्यक तयारी गरी सकेको हुनाले चाडै नै मन्त्रीपरिषदमा लैजाने मन्त्री श्रेष्ठले जानकारी गराएकी छन् । वन ऐन र भूमि सम्वन्धी ऐनबीच बाझिएका विषयलाई समाधान गर्न र सच्याउन वन मन्त्रालय तथा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबीच आवश्यक समन्वय गरी ऐन संशोधनको पहल गर्ने उनको भनाई थियो ।

अर्जुनधारा तथा कन्काई नगरपालिका भित्र २०२१ सालको नापीमा खोला भएको ठाउँमा बस्ती बसेको र खोला क्षेत्र निजी जग्गाबाट कुदेकाले ती अव्यवस्थित बसोवासीलाई धनीपुर्जा दिन नसकिएको हुनाले त्यसलाई आवश्यक नीति बनाई धनीपुर्जा दिन सक्ने गरी मन्त्रालयको तर्फवाट आवश्यक कदम चाल्न सभामुख घिमिरेले मन्त्रीलाई जानकारी गराएका छन् ।

अर्जुनधारा नगरपालिका वडा नं १ को खारभित्तामा ३०० भन्दा बढी घरधुरीहरु बसोबास गर्दै आएकोमा नेपाली सेनाको तालिम केन्द्रको क्षेत्र समेत भएको र नेपाली सेनाले उक्त क्षेत्र खाली गर्न पत्राचार समेत गरेको कुराकानी भएको छ । उक्त क्षेत्रमा विगत ६० वर्ष देखि बसोबास गरिरहेका घरधुरीहरुले छोड्न सक्ने अवस्था नरहेको हुँदा त्यसको समाधानका लागि रक्षा मन्त्रालयसँग समेत समन्वय गरी भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कदम चाल्ने छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : आश्विन १४, २०८० आईतबार  ६ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]