बैशाख २४, २०८१ सोमबार

दमकमा छुरा प्रहार गरी हत्या गर्ने मुख्य आरोपीसहित तीन जना सार्वजनिक

झापा । झापा दमकमा चार दिनअघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तसहित ११ जनालाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । दमक १ कुमाल चोकस्थित एक होटलमा युवाको हत्या गरिएको थियो ।

इलाम चुलाचुली ३ का ३८ वर्षीय गोविन्द लिम्बुको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिएको थियो । मुख्य आरोपी दमक ७ सयपत्री टोलका २२ वर्षीय सनम राईसहित अन्य संलग्न व्यक्तिहरु फरार थिए ।

सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी १ टपुस्थित एक घरमा मोटरसाईकलसहित लुकेर बसेका मुख्य आरोपीसहित घटनामा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गर्न सफल भएको थियो ।

इलाका प्रहरी कार्यालय दमकमा सोमवार पत्रकार सम्मेलन गरी झापाका जिल्ला प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घटनामा संलग्न मुख्य आरोपी सनम राईसहित दमक १ स्थित नवदुर्गा टोलका २२ वर्षीय आनन्द भनिने २२ वर्षीय राजकुमार भुजेल र दमक ७ राधाकृष्ण टोलका १८ वर्षीय रोहन भनिने सुवास आलमलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले मुख्य आरोपी राई, भुजेल र आलमलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

पहिलो चरणको बयान अनुसार राईसहित तीन जनाको समुहले मदिराको मातमा आपसी विवादका कारण लिम्बुको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले हत्याको घटनामा प्रयोग भएको छुरा विराटनगरमा रहेको प्रारम्भ्कि बयानबाट खुलेपछि सो हतियार समेत त्यहाँस्थित प्रहरीसँगको समन्वयमा प्रहरीले बरामद गरी दमक तर्फ ल्याउने प्रकृया चलिरहेको जानकारी दिए ।

घटनाका मुख्य अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्ड, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक रुद्र खड्काको कमाण्ड र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले खोजी तथा अनुसन्धान गरी फेला पार्न सफल भएको हो । प्रहरीले घटना लगत्तै अनुसन्धानका लागि घटनास्थल रुवेल माछाफ्राइका सञ्चालक विशाल कुमालसहित ८ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]