असार १, २०८२ आईतबार

बिर्तामोडका कर्मचारीले बुझाए मागपत्र

बिर्तामोड । स्थानीय तह संघर्ष समिति बिर्तामोडले नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई माग पत्र बुझाएको छ ।

समितिले आज नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलाई माग पत्र बुझाएको हो ।

मागहरुका विषयमा प्रष्ट पार्दै स्थानीय तह संघर्ष समिति बिर्तामोडका संयोजक तेजिन्द्र तामाङले केन्द्रीय समितिको सर्कुलर अनुसार माग पत्र बझाएको जानकारी दिनुभयो ।

माग पत्र बुझ्दै नगर प्रमुख प्रसाईले कर्मचारीको मागहरुको विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने बताउनु भयो । कर्मचारीहरुले केन्द्रिय सर्कुलर अनुसार हातमा कालो पट्टीसमेत बांधेका छन् ।आज देखि ३ दिनसम्म हातमा कालो पट्टी बाधेर कामकाज गर्ने जनाईएको छ । दवावमुलक कार्यक्रम अनुसार हातमा कालो पट्टीसंगसंगै समितिले नगरपालिकाको गेटमा मागहरु समेटिएको व्यानर पनि राखेको छ ।

संघर्ष समितिले असोज १९ गतेदेखि देशभर अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने जनाईएको छ ।

संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने स्थानीय तहका कर्मचारीको माग छ ।
त्यसैगरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, विना सहमति ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने माग पनि संघर्ष समितिले अघि सारेको छ।

समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने, तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई पनि निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत दिनुपर्ने माग संघर्ष समितिको छ ।

त्यसैगरी जुनसुकै तहमा वहाल रहेका कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने माग अघि सारेका छन् ।

प्रकाशित मिति : आश्विन १६, २०८० मंगलबार  २ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]