बैशाख २०, २०८१ बिहीबार

एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र

धनुषा, २१ असोज – नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । नेतृत्वका लागि नेताहरू तयारी गरिरहेका छन् । यही असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशको नेतृत्व लिन पाँच जना नेता आकाङ्क्षी देखिएका छन् ।

आठ जिल्ला रहेको यस प्रदेशमा अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ । मधेसका एक सय ३६ पालिका, २३ जनसङ्गठन, आठ प्रदेश विभागबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको एमालेका मधेस प्रदेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाबाट तीन देखि २३ जनासम्म, जनसङ्गठनबाट ७९ र विभागबाट १६ जना छनोट गरिएको छ ।

प्रदेशको नेतृत्वका लागि रेवती पन्त, राजकिशोर यादव, विचारी यादव, पुरुषोत्तम पौडेल र सुमन प्याकुरेलले प्रचारप्रसार गरिरहेका छन् । एमाले सचिव एवं प्रदेश इञ्चार्ज योगेश भट्टराईले मधेसको नेतृत्वका लागि आकाङ्क्षी नेतामध्येबाट सर्वसम्मत नेतृत्व चयन गराउने प्रयास गरिरहनुभएको प्रचार विभाग प्रमुख शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशका इञ्चार्ज रघुवीर महासेठले पनि मधेसमा सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताउनुभएको छ । दुई नेता सर्वसम्मत गराउने प्रयासमा लागिरहे पनि आकाङ्क्षी नेता दुई धारमा बाँडिएकाले निर्वाचन हुने सम्भावना पनि रहेको शर्माको भनाइ थियो । उहाँका अनुसार अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार’ भन्ने रहेको छ ।

जनकपुरधामको महेन्द्रनारायणनिधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने कार्यक्रमको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने प्रदेश अध्यक्ष रामऔतार यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार  १ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]