बैशाख २३, २०८१ आईतबार

सरकारी दमनको विरोधमा उत्रिए मेचीनगरका कर्मचारी

मेचीनगर । आन्दोलनरत् कर्मचारीलाई सरकारले गरेको चर्को प्रहरी दमनको विरोधमा मेचीनगर नगरपालिकाका कर्मचारीहरुले प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौंमा सरकारले आन्दोलनरत् स्थानीय तहका कर्मचारीमाथि निर्मम लाठी प्रहार गरेर दमन गरेको थियो । घटनामा दर्जनौं कर्मचारी घाइते भएका थिए ।

उक्त दमनको विरोधमा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरमा आवद्ध कर्मचारीहरुले आज प्रदर्शन गरेका हुन् ।

कर्मचारी कुटपिट अन्त्य गर, कर्मचारी माथिको दमन बन्द गर लगायतका नाराबाजी गर्दै मंगलबार नगरपालिकाको मुख्य प्रवेशद्वारमा विरोध कार्यक्रमको आयोजना गरियो ।

विरोध कार्यक्रममा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरका निवर्तमान अध्यक्ष रविनसन थापामगर, सल्लाहकार सदस्य जीवन भट्टराई र पवित्रा ढकाललगायतले बोल्नु भएको थियो ।

उहाँहरूले राज्यबाट भएको दमनकारी घटनाको निन्दा गर्दै कर्मचारीहरूको जायज मागलाई चाँडैं सम्बोधन हुनुपर्ने धारणा राख्नु भएको थियो ।

सरकारले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै अहिले देशैभर स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनरत् छन् ।

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति मेचीनगर सचिव आयुसमान निरौलाको अध्यक्षतामा आयोजना भएको विरोध कार्यक्रमको सञ्चालन सहसचिव नरमाया निरौलाले गर्नु भएको थियो ।

सोमवार काठमाडौंमा प्रहरीका तर्फबाट कर्मचारीमाथि निर्मम दमन भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

कर्मचारीको शान्तिपूर्ण प्रदर्शनमाथि सशस्त्र प्रहरीको टोलीले जथाभावी लाठी प्रहार गरेको थियो । त्यसक्रममा महिला कर्मचारी बढी प्रताडित भएका थिए ।

सशस्त्र प्रहरीको जथाभावी लाठी प्रहार रोक्न नेपाल प्रहरीको त्यहीँ खटिएको टोलीले प्रयास गरेको थियो । त्यसक्रममा सशस्त्र र नेपाल प्रहरीका कमान्डरहरुबीच नै विवाद भएको बताइएको छ ।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]