बैशाख २०, २०८१ बिहीबार

गठबन्धन सरकारका कारण राजनीतिक र आर्थिक संकटः शंकर पोखरेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन सरकारका कारण देशमा राजनीतिक र आर्थिक संकटतर्फ धकेलेको आरोप लगाउनुभएको छ।

नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको मंगलबार दाङ घोराहीमा उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो। महासचिव पोखरेलले मुलुक यतिबेला राजनीतिक संकटमा मात्र होइन चरम आर्थिक संकटमा पनि परेको बताउनुभयो। सरकारको असक्षमताको कारण नै यो अवस्था आएको उहाँले बताउनुभयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘आज मुलुकमा जुन प्रकारको संकट उत्पन्न भएको छ, त्यो अहिलेको सरकार र राजनीतिक अस्थिरताको कारणले हो।’

राजनीतिक अस्थिरताकै कारण सामाजिक अराजकता फैलिरहेको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘सामाजिक अराजकता माथि विजय प्राप्त गर्न सकिएन भने नेपाल अगाडि बढ्न सक्दैन।’

महासचिव पोखरेलले नेपालको भूमि र किसान आन्दोलनमा थारु समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ। उहाँले थारु समुदायको आन्दोलन र भाषा संस्कृतिलाई अघि बढाउन नेकपा एमालेले अगुवाइ गरेको बताउनुभयो। एक मधेश एक प्रदेशको नारा लागिरहेको बेला एमाले र थारु समुदायले सो स्वीकार्य नहुने बताएको उहाँले स्मरण गराउनुभयो।

थारु समुदाय लगायत नेपालका सबै वर्ग र समुदायको प्रतिनिधित्व गर्दै समृद्ध नेपाल निर्माणको अभिभारा बोकेर हिँडेको पार्टी नेकपा एमाले भएको उहाँले बताउनुभयो। त्यो कुरा पूरा हुन नदिने र अस्थिरता कायम गर्ने अनेक प्रयत्न भइरहेको उहाँले बताउनुभयो ।

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा लिएर अघि बढ्ने हो भने सामाजिक अस्थिरता अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बलियो राष्ट्रिय शक्तिले मात्र नेपालको विकास र समृद्धिको काम गर्न सक्ने उहाँका भनाइ छ।

देश चलाउने हो भने नेकपा एमालेलाई बलियो राजनीतिक शक्ति बनाउने संकल्प गर्नुपर्ने पोखरेलले बताउनुभयो । त्यसको लागि आउने निर्वाचनमा नेकपा एमालेको एकल बहुमतको सरकार बनाउनु पर्ने उहाँको भनाइ छ।

महासचिव पोखरेलले देश संटबाट गुज्रिरहनुको मुख्य कारण नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस र माओवादीले अवलम्बन गरेको आर्थिक क्रियाकलापको परिणामले देश आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउनु भयो ।

उहाँले कांग्रेस र माओवादी नेतृत्वको सरकारकै कारण देश आर्थिक संकटमा गएको भन्न नसक्नु विकासको बाधक रहेको बताउँदै अब त्यसका विरुद्ध एमालेका नेता तथा कार्यकर्ताहरू मौन नबस्ने चेतावनी समेत दिनुभयो । उहाँले समाजलाई बदल्न एमालेका नेता तथा कार्यकर्ताहरूलाई मौन नबस्न र सत्यका पक्षमा बहस गर्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]