बैशाख २०, २०८१ बिहीबार

कोशी सरकारबारे निर्णय लिन शुक्रबार पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशीमा नयाँ सरकार गठनबारे पार्टीको रणनीति तय गर्न पदाधिकारी बैठक बोलाएका छन् । उनले शुक्रबार बिहान आठ बजेका लागि वैठक डाकेका हुन् ।

कोशीमा सत्तारुढ गठबन्धनले नयाँ सरकारका लागि दावी प्रस्तुत गर्ने तयारी गरिरहँदा राप्रपा निर्णायक शक्तिका रूपमा देखिएको छ । गठबन्धनसँग एक मत अपुग रहेको अवस्थामा राप्रपाको समर्थन अनिवार्य हुन्छ । तर, राप्रपाले भने अहिलेसम्म आफ्नो अडान स्पष्ट गरिसकेको छैन ।

केही दिनअघि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले कोशी सरकारबारे निर्णय लिने अधिकार अध्यक्ष लिङदेनलाई सुम्पिएको थियो । लिङदेनले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर छलफल गरेका थिए । उक्त छलफलमा प्रचण्डले सत्ता गठबन्धनलाई सघाउन आग्रह गरे तापनि लिङदेनले ठोस जवाफ दिएका छैनन् ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पदाधिकारी बैठकले कोशी सरकार गठनमा पार्टीको रणनीतिबारे निर्णय लिने जानकारी दिए । अहिले गठबन्धन र एमाले दुवैतिर छलफलमै रहेको उनले बताए ।

प्रदेशसभामा ६ सीट रहेको राप्रपा अहिले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न सक्ने सम्भावनाको खोजी गरिरहेको छ । कांग्रेस–माओवादीले कोशीको सत्ता दिए केन्द्रमा पनि सहकार्य गर्न सकिने संकेत लिङ्देनले गरेका छन् । तर, कांग्रेस कोशी सरकारको नेतृत्व छाड्न तयार छैन ।

प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि दावी पेश गर्न एकसाताको समय दिएका थिए । उनले दिएको समय शुक्रबार सकिँदैछ । शुक्रबार नै लिङदेनले पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  २ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]