बैशाख २१, २०८१ शुक्रबार

बिर्तामोडको बजार अनुगमन : सुराकी गर्नेलाई पाँच सय पुरस्कार

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ३ स्थित बिर्ता बजारमा अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको नेतृत्वमा आज खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनमा केहि म्याद गुज्रिएको पेय पदार्थ फेला परेको थियो । अर्विन आछामेले सन्चालन गरेको अम्बिका किराना पसलमा भारतीय ब्राण्डको केहि थान ‘निम्बु फ्रेस’ म्याद नाघेको तर बिक्रीका लागि राखिएको फेला परेको थियो ।
अनुगमन टोलीले म्याद नाघेको अखाद्य वस्तु जफत गरि आगामी दिनमा यस प्रकारको गल्ती दोहोरिन नदिन सचेत गराएको छ । यस्तै, गणेश फ्रेस हाउस दुर्गन्धित रहेको पाईएकोले सरसफाईमा ध्यान दिन निर्देशन गरिएको छ । अनुगमनका क्रममा अधिकांसले नगरमा व्यवसाय दर्ता नगरेको, नविकरण नगरेको र मुल्य सूची ठिक ठाउँमा नराखेको फेला परेको थियो ।

उनीहरुलाई नगरपालिकामा आवश्यक कागजात सहित ३ दिनभित्र हाजिर हुन निर्देशन गरिएको छ । नगर उप प्रमुख संग्रौलाले अनुगमनलाई नियमित गरिने जानकारी दिएका छन् । नागरिकको स्वास्थ्यलाई असर गर्ने अखाद्य वस्तु विक्री नगर्न उनले सबैलाई आग्रह गरेका छन् ।

नगर उप प्रमुख संग्रौलाले बजारमा अखाद्य वस्तु वेचेको प्रमाण सहित सुराकी गर्नेलाई नगद ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने पनि बताए । बजार अनुगमनमा कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटा, नगरका राजश्व शाखा प्रमुख पदम घिमिरे , बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य गुन्जन प्रसाई लगायत जनप्रतिनिधि तथा जनपथ प्रहरी र नगर प्रहरीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार  ८ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]