बैशाख २०, २०८१ बिहीबार

दुर्गा प्रसाईलाई शुभदशैं !

प्रदीप परियार

घरमा दशैंको रमझम छ । बल्ल अफिस छुट्टि भएर दशैंको माहोलमा जोडिने प्रयास गर्दैछु । तर, केहि समय यताको घटनाले झापाका दुर्गा प्रसाईको बारेमा केहि नलेखी बस्न मन लागेन । हुन् त प्रसाईको बारेमा विद्वान लेखक, धेरै सस्क्राइभ,भ्यूज भएका युटवरले हरेक दिन सामाजिक सञ्जालमा उनलाई चर्चाको शिखरमै पुराइरहेका हुन्छन् । मेरा कुराले प्रसाईलाई छुन नसक्ला । तर, उनको एउटा पुरानो समर्थक, नयाँ आलोचक हुनुको नाताले उनका बारेमा केहि शब्द लेख्न बाध्य छु ।

काठमाडौंमा प्रसाईलाई मोसो दलियो, त्यो बेठिक भयो । प्रसाईका मान्छेहरुले अर्जुनधारामा युवा संघका नेताहरुको दर्जनौं गाडि फुटाए, त्यो पनि बेठिक भयो । पहिलो घटना, दोस्रो घटना कुनै पनि ठिक होइनन् । फेरि, प्रसाईलाई फुलपातीका दिन इलामको कार्यक्रममा जान गरिएको अवरोध अर्को बेठिक भयो । आगामी दिनमा प्रसाईले युवा संघमाथि गर्ने यसै प्रकारका गतिविधि फेरि पनि बेठिक नै हुनेछन् । यसको समाधान भनेको दुवै पक्ष आफ्नो ठाउँमा ठिक ढंगले बसे पुगिहाल्छ । यतातिर म धेरै जान चहान्न । भिडेर भन्दा मिलेर काम गर्नुपर्छ, मेरो बुझाई हो ।

दुर्गा प्रसाईलाई मैले विएण्डसी शिलान्यास भएदेखि चिनेको हुँ । त्यो बेला उनको हिम्मत देखेर यहाँ सबै चकित परे । सानो ठाउँमा यति ठुलो अस्पताल के होला भन्ने थियो । तर, अहिले विएण्डसी स्वास्थ्य उपचार सेवाका लागि उचित गन्तव्य बनेको छ । स्वास्थ्य सेवा कै कारण आज प्रसाई देशभर चिनिएका छन् । विएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापना गरेर उनले भारत जानैपर्ने बाध्यतालाई कम गरेका छन् । क्यान्सर उपचारका लागि गरेको योगदानको कुनै लेखाजोखा गर्न सकिन्न । सर्वसुलभ उपचार सेवामा उनको योगदान हिसाव गरिसाध्य छैन । सुरुदेखि अहिलेसम्म अस्पतालमा वर्षेनी सयौं विरामीहरुले छुट सेवा पाइरहेका छन् । कतिपयले आर्थिक अवस्था अनुसार निशुल्क उपचार पनि पाइरहेकै छन् ।

अस्पताल भएकाले उपचारमा छुट पाउने कुरालाई ठिकै मान्न सकिन्छ । उपचारमा मात्र होइन, प्रसाईले सामाजिक रुपमा पनि धेरै काम गरिसकेका छन् । उनको सामाजिक काम जारी नै छ । त्यसका लागि धन्यवाद नै दिऊ । सामाजिक कामको श्रृङ्खला लामै छ । त्यो जारी पनि रहनेछ । कमैले मात्र सामाजिक सेवा गर्न सक्छन्, जति प्रसाईले गरेका छन् ।
माओवादी पृष्ठभूमिबाट आएका प्रसाई पछि एमालेमा लागे । एमालेले उनलाई केन्द्रीय सदस्य नै बनायो । एमालेमा केन्द्रीय सदस्य हुन, धेरै दुख गर्नुपर्छ । तर, प्रसाईलाई एमालेले सहजै केन्द्रीय सदस्य बनाइदियो । त्यो निर्णयलाई एमालेका धेरै नेताहरुले रुचाएका थिएनन् । अहिले उनी स्वतन्त्र भन्दै हिडिरहेका छन् । स्वतन्त्रको पछाडि केके छ, त्यो समयले विस्तारै उजागर गर्ने नै छ । चाहे जे होस् ।

दुर्गा प्रसाईले पूर्व नेपालमा आवश्यक भएको मेडिकल कलेज निर्माणका लागि ठुलो लगानीमा संरचना निर्माण सम्पन्न गरेका छन् । तर, अहिलेसम्म सम्बन्धन पाउन सकेका छैनन् । शक्तिशाली व्यक्तिहरुसँग पनि नजिक हुँदा उनले सम्बन्धन पाउन सकेनन् । मापदण्ड पनि पुरा गरेकै थिए । मेडिकल कलेजको संरचना थोत्रे हुदैछ । करोडौं मुल्यका उपकरणहरु कवाडीमा परिणत हुदैछन् । एउटा मान्छे जो आफ्नै देशमा केहि गरौं भन्दा राज्यबाटै असहयोग पाउदा त्यसको पीडा सिमित हुनैसक्दैन । उस्तै, मान्छे यो अवस्थामा आफुलाई सम्हाल्न सक्दैनन् । हामी जस्ता, देशमै सानो लगानी गरेर उद्यम गर्नेहरुलाई कति समस्या छ । प्रसाईको ठाउँमा आफुलाई राखेर हेर्ने हो भने सम्हालिन सक्ने अवस्था छैन । कहिलेकाही त, उनको बोली सुन्दा पनि त्यै पीडाहरु व्यक्त भएजस्तो पनि लाग्छ ।

दुर्गा प्रसाईले स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत आफ्ना विभिन्न व्यवसाय मार्फत सयौंलाई रोजगार दिएका छन् । गरिव, विपन्नलाई पानीको लागि ट्यूवेल देखि सुत्नलाई ओच्छ्यान समेत दिएको सबैले देखेकै छ । उनी मार्फत समाजले धेरै सहयोगहरु प्राप्त गर्दै आइरहेकै छ ।

यसो, भनिरहँदा उनले सामाजिक सेवा गरेकै आधारमा उनको अन्धसमर्थक हुन सकिन्छ ? सकिदैन । प्रसाई पूर्व नेपालको लागि एउटा गौरवको पात्र हुन् । तर, अब सच्चिनुपर्छ । सच्चिनुपर्छ भन्दा उनका वरिपरि घुम्नेहरुलाई बेठिक लाग्न सक्छ । लागे लागोस्, प्रसाईले आत्मसमिक्षा गर्नैपर्छ ।

प्रसाईका वरपर हिड्ने, उनको समर्थनमा सामाजिक सञ्जालमा लेख्नेहरु, उनको कतिपय गतिविधि मन नपराएर लेख्नेहरुका विरुद्ध खनिनेहरुकै कारण दुर्गा प्रसाई यो ठाउँमा पुगेका हुन् । किनभने, प्रसाईका लागि कुशल सल्लाहार नै छैनन् । उनलाई कुलश सल्लाहकारको खाँचो छ । अरुको कुरा नसुन्ने, आफुले बोलेको मात्रै ठिक हुने र प्रसाईले जे बोल्छन् त्यसमा ताली बजाउनेहरु दुर्गा प्रसाईलाई विगार्नेहरु हुन् । सधैं वरपर भइरहनेहरुले ठन्डा दिमाग लगाएर सोच्ने बेला आएको छ । दुर्गा प्रसाईलाई ओहोरेहरुको भीडबाट बारिह निकाल्नैपर्छ । हामीलाई हिजोको सेवक दुर्गा प्रसाई चाहिएको छ । भीडको अघिअघि हिड्ने दुर्गा प्रसाई होइन, भीडलाई दुरीमा राखेर हिड्ने दुर्गा प्रसाई चाहिएको छ । भीड देखेर चिच्याउने दुर्गा प्रसाई होइन, गरिवलाई देखेर सेवा गर्ने प्रसाई चाहिएको छ । केपी ओली, प्रचण्ड र देउवाको उछितो काड्दा तीन फुट उफ्रिनेहरुबाट प्रसाईलाई जोगाउन जरुरी छ ।

दुर्गा प्रसाईको वरपर डाक्टर बाहेक कोहि पनि उनलाई राम्रो सल्लाह दिने मान्छे छैनन् । यदि हुन्थे त, च्याप्प समाएर मसो दलिदिनु भन्दैन थे । अराजकताले कसैलाई राम्रो गन्तव्यमा पुराउदैन । चाहे दुर्गा प्रसाई हुन् वा अरु कोहि । अराजकताको लागि उचाल्ने, उल्काउनेहरुबाट प्रसाई टाढा रहनुपर्छ । बोल्दा ख्याल गरेर बोल्नुपर्छ । अर्थात, कम बोल्नुपर्छ । जे मनमा आयो त्यहि बोले जस्तो सुनिन्छ । त्यसरी बोल्नु कसैका लागि हितकर छैन । तोड्नेफोड्ने बाटोबाट बाहिर निस्किएर सोच्नुहोस् । तपाईको वषौं योगदान चाहेको छ, समाजले ।

पछिल्लो समय राष्ट्रियताको पक्षमा जसरीले लाग्नुभएको छ, मुद्धाका हिसावले बेठिक छैन । तर, सभ्य र संयम हिसावले लाग्नुपर्छ । हो, देशमा समस्या छ । वेथिती छ । नेताहरुका पर्याप्त खरावीहरु छन् । जनताले चाहेजस्तो जीवन छैन । भ्रष्टाचार र अनियमितताले जरो गाडेको छ । यसको समाधान, उश्रृङखल भीड बोकेर संभव छैन । केपी ओली मुर्दावाद भन्दा रमाउनेहरुको भीड बोकेर प्रसाई कुनै पनि गन्तव्यमा पुग्न सक्दैनन् ।

अन्त्यमा, दुर्गा प्रसाई एउटा गौरवको पात्र हो । यो पहिचानलाई आम नागरिक, समर्थक, आलोचकले बुझेका छन् । यो पहिचान बचाई राख्नुपर्छ, त्यसका लागि दुर्गा प्रसाई कचिङगल भीडबाट बारिह निस्कनैपर्छ । उनीसँग एकाध मान्छे बाहेक सबैजसो कचिङगलको भीड छ ।

अब, विद्वानहरु, पुराना प्राध्यापकहरु, लेखकहरु, निस्वार्थ सामाजिक योगदान गरिरहेका गुमनाम अभियान्ताहरु, देशको लागि केहि गरौं भन्दै देशमा दुखले बाँचेकाहरु, अस्पताल चिनाउने डाक्टरहरु, तपाईको अस्पतालमा निको भएका विरामीहरु, दुरुदराजका किसानहरु, सफल उधोगीहरु, पुराना आफ्नै गुरुहरु, सगैं खेले हुर्केका साथीहरुसँग बसेर भलाकुसारी गर्नुहोस् । के तपाई हिडेकै बाटो ठिक छ ? उहाँहरुसँग वार्ता, छलफल गर्नुहोस् । त्यसपछि बाटोको पहिचान गरेर अघि बढ्नुहोस् । कचिङ्गल भीडबाट बाहिर आउनुहोस् । देशको लागि सालिनताका साथ धेरै काम गर्न सकिन्छ ।

बडादशैंको सबैमा शुभकामना !

प्रकाशित मिति : कार्तिक ५, २०८० आईतबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]