संसदको अभ्यास गर्दैछन् झापाका विद्यार्थी
बिर्तामोड । झापाका २० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले संसदीय अभ्यास गरिरहेका छन् । उनीहरुले चार दिने नमूना युवा संसद प्रशिक्षण मार्फत संसदीय अभ्यास गरिरहेको आयोजक संस्थाले जनाएको छ ।
संघीय संसद सचिवालयले वार्षिक कार्यक्रम अन्तर्गत झापाका ६० विद्यार्थीहरुलाई संसदीय अभ्यास गराइरहेको जनाएको छ ।
संसद के हो ? संसदीय काम कारबाही, कानुन निर्माण प्रक्रिया बारे नमूना युवा संसद् मार्फत प्रशिक्षण प्रदान गरिरहेको संघीय संसद सचिवालयको सहसचिव बबिता मिश्रले जानकारी दिइन् । उनका अनुसार विद्यार्थी उमेर समूहबाटै यस बारे जानकारी लिन आवश्यक छ । संसद्बारे पाठ्यक्रमहरुमा पनि सिमित विषयवस्तुहरु भएकाले नमूना युवा संसद् अभ्यास मार्फत संसदीय काम कारबाही र सञ्चालन विधि सिकाइरहेको जानकारी दिइन् । राजनीति चेतना विद्यार्थीमै हुनु राम्रो हो, उनले भनिन् – ‘संसदीय अभ्यास र राजनीतिमा ज्ञान होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हौं ।’
यूएनडीपी र सहारा नेपालको प्राविधिक सहयोगमा बिर्तामोडस्थित सिद्धार्थ होटलमा भइरहेको कार्यक्रममा विद्यार्थीहरुले सक्रिय सहभागिता जनाइरहेका छन् । उनीहरुलाई संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सहसचिव बबिता मिश्र, विषय विज्ञहरु विरेन्द्र बहादुर कार्की र रमेश पौडेलले सहजीकरण गरिरहेका छन् ।
कार्तिक १४–१७ सम्म सञ्चालन हुने नमूना युवा संसदमा अन्तिम दिन संसद् सञ्चालनको प्रस्तुति रहनेछ । ४ दिने सिकाईपछि अन्तिम दिन विद्यार्थीहरु सांसद, प्रधानमन्त्री, मन्त्रीहरुको भूमिकामा रहेर संसद सञ्चालनको प्रस्तुतिकरण गर्ने सहसचिव मिश्रले जानकारी दिइन् ।
विद्यार्थीले संसदको प्रस्तुति देखाउने कार्तिक १७ गतेका दिन सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, ६ दलका प्रमुख सचेतक, सचेतकहरु, राजनीतिक दलका नेताहरु, स्थानीय तहका मेयर,उपमेयर, अध्यक्ष, उपाध्यक्षहरु, कानुन व्यवसायीहरु, पत्रकार, बुद्धिजीवी, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु सहभागी हुनेछन् ।
यस्तै, १८ गते सोही होटलमा प्रभावकारी संसद सञ्चालन सम्बन्धी सुनुवाई कार्यक्रम हुने बताइएको छ । उक्त कार्यक्रममा विद्यार्थी बाहेक सबैको सहभागिता हुनेछ ।