बैशाख २३, २०८१ आईतबार

सन्थाल संस्कृतिको संरक्षण गरौं

सम्पादकीय
जबजब गाउँघरमा सन्थाल नृत्य सुरु हुन्छ, तब मात्रै चाडवाड आएजस्तो लाग्छ । सन्थाल नृत्य सुरु भएसँगै दशैंको रौनक पनि बढ्दै जान्छ । सन्थाल नृत्य झापाको लागि अत्यावश्यक संस्कृति बनिसकेको छ । तर, हरेक वर्ष दशैंमा मात्रै सन्थाल नृत्यको चहलपहल हुन्छ । सन्थाल नृत्य दशैंसँगै वर्षभरीको लागि ओझेलमा पर्ने गरेको छ । बेलाबेला बाहिर निकालिने बाजागाजाहरु दशैंमा जस्तो देख्न सुन्न पाइदैन । मजदुरी गरेर जीविकोपार्जन गर्ने सन्थाल समुदायहरु वर्षभरी बाजामा मात्रै निर्भर हुने अवस्था पनि छैन । दशैंमा पनि उनीहरु दक्षिणाका लागि नृत्य निकाल्दैनन् । दुर्गा भवानीसँगको धार्मिक सम्बन्ध भएका कारण जीतको उत्सव मनाएको बुझिन्छ ।

झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थालहरुको कला, संस्कृति लोभलाग्दो छ । तर, त्यसको संरक्षण हुन नसक्दा विस्तारै लोप हुने जोखिम बढेर गएको छ । सन्थाल समुदायका युवा पुस्ताले कला, संस्कृति धान्न सक्ने अवस्था बनिसकेको छैन । पुरानै पुस्ताबाट सन्थालहरुको कला संस्कृति जोगाइएको पाइन्छ । विगतमा भन्दा यो वर्षको दशैंमा युवाहरुको उपस्थिति झिनो मात्रामा बढेको थियो । तर, यो मात्रै पर्याप्त छैन । जनसंख्याका हिसावले पनि अत्यन्तै कम रहेको सन्थाल समुदायको कला, संस्कृतिसँगै समुदायको संरक्षण पनि आवश्यक भइसकेको छ ।

राज्य पक्षको संरक्षणमा नरहेको सन्थाल समुदाय पछिल्लो समय आफै पनि संगठित भइरहेका छन् । उनीहरुको आवाज राज्यको जिम्मेवार ठाउँमा अझै सुनिदैन । गरिवीको रेखा मुनी रहेको सन्थाल समुदाय झापाको लागि मात्र होइन, राष्ट्रको लागि गौरव हो । उनीहरुको कला, संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको हो । सबै समुदायको पनि हो । नौमति बाजाको संरक्षण गर्न दमाईहरुलाई मात्रै छोडियो । अहिले बाजा विस्तारै लोप भइरहेको छ । यसैगरी सन्थालहरुको संस्कृति पनि लोप हुन सक्छ । बेलामा सरोकारवालाले सचेत हुनुपर्छ । त्यसैले आगामी दिनमा सन्थाल कला, संस्कृतिको संरक्षण गरेर जानुको विकल्प छैन ।

प्रकाशित मिति : कार्तिक १६, २०८० बिहीबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]