संसदलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता
बिर्तामोड । नेकपा एमालेका संसदीय दलका सचेतक महेश बर्तौतालले गठबन्धन सरकारका कारण संसद प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताएका छन् । संघीय संसद सचिवालयले आयोजना गरेको संसदको प्रभावकारी सञ्चालन सम्बन्धी अन्तरक्रियामा उनले प्रभावकारी बनाउने नबनाउनेमा सत्तापक्षकै हात हुने बताए ।
सचेतक बर्तौलाले सरकारले चाहेमा संसद १ मिनेट पनि प्रभावकारी रुपमा नचल्ने बताए । उनले अन्तरक्रियामा सरकारले चाहे अनुसार संसदको प्रभावकारीता हुने उनको भनाई थियो । संसदले गर्नुपर्ने काम सरकारमा निर्भर रहन्छ, उनले भने – वर्तमान सरकारले जनताको काम गर्न नचाहेकै कारण संसद प्रभावकारी हुन सकेन । प्रतिपक्ष दलले जनताको आवाज सम्बोधन गर्नलाई संसद अवरुद्ध गर्नुपरेको भन्दै उनले आफुहरुको तर्फबाट संसदलाई प्रभावकारी बनाउन प्रयास भएको बताए ।
सरकारले ध्यान नदिएकै कारण संसद कमजोर भएको नेता बर्तौलाको भनाई थियो । उनले भने, संसदमा तालु फुट्ने गरि जनताको आवाज उठाउदा पनि सरकारले सुन्दैन, चासो दिदैन । त्यसैले अवरुद्ध गरेर सरकारलाई झक्झकाइयो । सरकारलाई खवरदारी र दवाव दिने सवालमा एमालेले संसदभित्र र बाहिर राम्रै भूमिका निभाएको बताए ।
संसदलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा भएको अन्तरक्रियामा सहभागी सबै क्षेत्रका प्रतिनिधिहरुले अहिलेको संसदमा जनताले चाहेजस्तो काम नभएको धारणा राखेका थिए । सांसदका अनेकौं कमजोरी औल्याउदै सहभागीहरुले सुधारका लागि आग्रह समेत गरे । यस्तै, कानुन निर्माणमा सांसदहरुले चासो नदिएको, सत्ताको लागि लडाई मात्रै संसदको प्रयोग भएको, जनताको जीवनका बारेमा आवाजहरु नउठाएको लगायतका सवालहरु सहभागीले राखेका थिए ।
कार्यक्रममा सभामुख देवराज घिमिरेले सहभागीहरुले दिएको सुझावलाई आत्मसाथ गर्दै आगामी दिनमा सुधार गर्दै जाने बताए । कांगे्रसका प्रमुख सचेतक रमेश लेखक, एमालेका सचेतक महेश बर्तौला, माओवादीकी सचेतक रुपा सोसी चौधरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, जनता समाजवादीका सचेतक प्रदीप यादव, प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी लगायतले संसदलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले अहिलेसम्मका कमजोरी सच्याएर अघि बढ्ने बताएका हुन् ।