जेष्ठ ५, २०८१ शनिबार

झापा एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

वीरगञ्ज – झापा एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रथम वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सम्पन्न खेलमा झापा एफसीलाई दुई शून्य गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थानमा सुरक्षित गरेको हो ।

पहिलो हाफको ७ औँ मिनेटमा आर्मीका नीरजकुमार शाहले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाउनुभयो । आर्मीले पाएको कर्नर किकमा झापाको पेनाल्टी एरिया नजिकैबाट हेड गर्दै शाहले बललाई गोलपोस्टको जाली चुमाउन सफल हुनुभयो ।

पहिलो हाफ १–० मा सकिएको दोस्रो हाफको ६१ औँ मिनेटमा आर्मीकै फत्तेमान घलेले अर्काे एक गोल थप्दै आफ्नो टिमको अग्रता दोब्बर पार्नुभयो । घलेले डिबक्स एरिया बाहिरबाटै गरेको सुन्दर प्रहारले झापाको गोलपोस्टको जाली चुमेको थियो ।

आजको खेलमा ‘प्लेयर अफ दी म्याच’ हुनभएका आर्मी क्लबका घलेले क्वेस्ट फार्मासियुटिकलको तर्फबाट रु १० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा सङ्कटा क्लब काठमाडौँको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत बुधबार आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज र नेपाल पुलिस क्लबबीच पहिलो सेमिफाइनल भीडन्त हुनेछ । मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतियोगितामा आठ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष सुविन बस्नेतले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद रु ११ लाख ११ हजार एक सय ११ र उपविजेता टिमलाई नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।

त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद रु १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिने उहाँको भनाइ छ ।

प्रतियोगितामा दर्शकका लागि प्रवेश रु एक सय प्रवेश शुल्क पनि राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष सागर राणाले जानकारी दिनुभयो । सेमिफाइनलपछिको खेलमा प्रवेश शुल्क रु दुई सय गरिने उहाँले बताउनुभयो । करिब १० हजार दर्शक अटाउने क्षमताको आदर्शनगर रङ्गशालामा सो प्रतियोगिताका लागि तीन हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिट पनि निर्माण गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८० बुधबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]