जेष्ठ १, २०८२ बुधबार

प्रमुख दलको कमजोरीले व्यवस्थामाथि प्रहार

सम्पादकीय

गणतन्त्र ल्याउनका लागि मुख्य योगदान गर्ने नेता मध्येका एक हुन्, प्रचण्ड । आज उनै प्रधानमन्त्री भएको बेला उनी समेत लडेर ल्याएको गणतन्त्रमाथि प्रहार भइरहेको छ । अर्थात, अहिलेको व्यवस्थामाथि चौतर्फी प्रहार भइरहेको छ । चौतर्फी प्रहार भएकै कारण प्रधानमन्धी प्रचण्डले सर्वदलीय बैठक बोलाएर छोटो समिक्षा गर्न भ्याएका छन् । जनताको जीवनमा खुसी ल्याउने, तमाम परिवर्तन गर्ने भन्दै ल्याएको गणतन्त्रमाथि प्रहार भइरहेको अनुभूति प्रधानमन्त्री प्रचण्डले गर्नुपरेको छ । यो सुखद् भनौं या दुखद् । परिवर्तकारी शक्तिहरुले गम्भीर समीक्षा गर्नैपर्छ ।

खासगरी वर्तमान सरकारको काम कारबाही र गतिविधिहरुका कारण परिवर्तन विरोधी खेलिरहेका छन् । देश विक्री हुन लाग्यो, देश सक्कियो, गणतन्त्रले दुख पाइयो लगायतका भाष्य निर्माण गर्ने काम भइरहेको छ । यो सबै दोष गणतन्त्र ल्याउने एमाले, कांग्रेस र माओवादीले लिनुपर्छ । यो व्यवस्थामा सबैले सरकारको नेतृत्व गरे पनि जनताले गणतन्त्रको वास्तविक स्वाद पाउन सकेनन् । अर्थात, विगतकै व्यवस्था ठिक थियो भन्ने जवरजस्त अनुभूत गराउन खोजिएको छ । नेतृत्वमा रहेको बेला जनताले गणतन्त्रको मज्जाले अनुभूत गर्न पाउनुपर्ने थियो । तर, विडम्बना प्रचण्ड आफै सरकारमा हुँदा सर्वदलीय बैठक राखेर व्यवस्था विरोधीको प्रतिकार गर्ने साझा निष्कर्ष निकालिन्छ ।

जनतामारा व्यवस्था फालेर जनताले नै यो गणतन्त्र ल्याएका हुन् । त्यसको नेतृत्व दलका नेताहरुले गरेका हुन् । त्यसमा पनि एमाले, कांग्रेस र माओवादीको भूमिका महत्वपूर्ण थियो । त्यहि परिवर्तनमा होमिएका जनतालाई मन नपर्ने गणतन्त्र किन बनाइदैछ ? यस तर्फ सोच्नैपर्छ । गणतन्त्र ल्याउनु ठुलो विषय भएन, जनताले त्यसको अनुभूत गर्न पाउनुपर्छ । प्रमुख दलहरुको कमजोरीकै कारण गणतन्त्रमाथि खिसी गर्नेहरु विभिन्न रुपमा उदाएका छन् । जसको कुनै लक्ष्य छैन, तर व्यवस्थामाथि निरन्तर प्रहार गरिरहेका छन् । यसैले अब, प्रमुख दलहरुले आफुलाई सुधार गर्नुको विकल्प छैन । जनता रैती हुन सक्दैनन्, रैती बनाउन चहानेहरुलाई अझै पनि यो व्यवस्था ल्याउनेहरुले क्षणभरमा ठिक गर्ने ल्याकत राख्नुपर्छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८० बुधबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]