बैशाख २४, २०८२ बुधबार

सभामुख छान्न ‘सकस’, सुवास नेम्वाङ्गको सम्भावना बलियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सभामुखको उम्मेदवार छान्न सकस परेको छ । पार्टीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अधिकार दिए पनि अहिलेसम्म उनीहरूले नाम टुंगो लगाउन नसकेका हुन् ।

दुवै अध्यक्ष आफूनिकट व्यक्तिलाई सभामुखको जिम्मेवारीमा पुर्‍याउने रणनीतिमा तल्लीन रहँदा रिक्त सभामुखमा पार्टीका तर्फबाट कसलाई अघि सार्ने भन्ने टुंगो लाग्न नसकेको हो ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली सरकारलाई समेत सहयोग गर्ने व्यक्तिलाई सभामुखमा ल्याउन चाहन्छन् ।

हाल उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेले पनि सो पदमा दाबी गरेकी छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटर आफू सो पदमा योग्य भएको जनाइसकेकी छन् । पार्टीका विभिन्न नेतासँग पनि उनले छलफल गरेकी छन् । तर पार्टीका दुवै अध्यक्ष उनलाई सभामुख बनाउन तयार नभएको स्रोतले जनाएको छ । उपसभामुख तुम्बाहाम्फेले पार्टीका कार्यकारी अध्यक्ष दाहालसँग समय मागे पनि उनले समय दिएका छैनन् ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशन पुस ४ गते सुरु हुँदैछ । सोही अधिवेशनबाट सभामुख छान्नुपर्ने अवस्था छ । दुई पार्टी एकीकृत हुनुअघि तत्कालीन माओवादीको भागमा परेको सभामुख यस पटक भने खोसिने सम्भावना बढेको छ।

दाहाललाई पार्टी सञ्चालनको जिम्मासहित कार्यकारी अधिकार दिएपछि ओलीलाई सभामुख छान्ने अधिकार दिने सम्भावना रहेको पार्टी निकट स्रोतले जनाएको छ । पूर्व माओवादीका देव गुरुङ, अग्नि सापकोटा, जनार्दन शर्मा र पम्फा भुसालले सभामुख बन्न दाबी गरिरहेका छन् भने पूर्व एमालेका नेताहरु मौन छन् ।

धेरैले संविधानसभा अध्यक्षको जिम्मेवारी सम्हालेका सुवासचन्द्र नेम्बाङ नै नयाँ सभामुख हुने अड्कल काटेका छन् । प्रधानमन्त्री ओली निकट रहेका नेम्बाङले आफूलाई सभामुखका विषयमा नबोल्न आदेश रहेको बताउँदै आएका छन् ।

पार्टी निकट स्रोतका अनुसार सरकार सञ्चालनमा समेत सहयोग पुग्ने र विपक्षीलाई पनि समेटेर सदन सञ्चालनको अनुभव भएकाले नेम्बाङको नाम अघि सारिएको हो । उनी आफैं भने लबिङमा नलागेको स्रोतले जनाएको छ । ‘पटक पटक सभामुख भइसकेको र संविधानसभाको अध्यक्ष समेत भएकाले आफ्नो रुचि सभामुख नभएको जानकारी नेम्बाङले प्रधानमन्त्री ओलीलाई गराएका छन्’, नेम्बाङ निकट स्रोतले भन्यो ।

ओली भने नेम्बाङलाई नै सभामुख बनाउन चाहन्छन् । ‘ओलीले सरकार र आफूलाई सहयोग गर्न भन्दै कानुनमन्त्री भइसकेका अग्नि खरेललाई महान्यायाधिवक्ता बनाए । नेम्बाङको पदीय मर्यादा समेत नघट्ने भएकाले ओली उनैलाई सभामुख बनाउन चाहन्छन्’, ओली निकट स्रोतले भन्यो ।

‘राजनीतिमा अरु कुराको कुनै मतलब हुँदैन । प्रधानमन्त्री ओलीले जोड गरेमा नेम्बाङले नाइँ भन्दैनन’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्रीका अगाडि राम्रोसँग बुझाएर कुरा गर्ने उनै हुन् । उनका धेरै कुरा प्रधानमन्त्रीले सुन्नुहुन्छ । त्यसकारण पनि प्रधानमन्त्रीको रोजाइ नेम्बाङ नै हुन् ।’

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि योग्य, सक्षम, अनुभवी, सबैलाई लिड गर्न सक्ने व्यक्ति नै सभामुख बन्ने बताए । ‘अनुभवी, कार्यदक्षता भएका, कैयन पक्षलाई समेटेर लैजानसक्ने तथा तपाईं हामीले अनुमान गरेका व्यक्ति नै सभामुख हुन सक्नेछन्’, उनले भने ।

नेकपाका नेता देवेन्द्र पौडेलले सभामुख छान्ने अधिकार दुई अध्यक्षलाई दिइएको बताए। ‘पुस ४ गतेअघि उहाँहरु बसेर मिलाउनु हुन्छ’, उनले भने, ‘बाहिर जोजोका बारेमा जति नै बहस होस्, त्यसको अर्थ छैन । दुई अध्यक्षले तुरुन्तै मिलाउनु हुनेछ ।’

प्रतिनिधिसभाको हिउँदे अधिवेशन पुस ४ गते सुरु हुँदैछ । सोही अधिवेशनबाट सभामुख छान्नुपर्नेछ । निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएका थिए । उनी काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन् । नागरिक दैनिकबाट

प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]