जेष्ठ १, २०८२ बुधबार

सामाजिक सञ्जाल प्रयोगमा होसियारी अपनाऔं

सम्पादकीय
साइवर व्यूरोले बिहीवार युटुवर मनोज मानवलाई पक्राउ गरेको छ । साइवर व्यूरोमा उनी विरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । मानवले व्यक्तिगत जीवनमा प्रवेश गरेर चरित्र हत्या गरेको उजुरी परेको थियो । पछिल्लो समय यूटुव मार्फत मानवले विभिन्न व्यक्तिको नीजि जीवनमा प्रवेश गरेर विभिन्न बद्नामपूर्ण भिडियो बनाउदै आएका थिए । उनको यूटुव सामग्री हेर्नेहरुका लागि मज्जाको विषय हुन सक्छ, उनैको लागि टिआरपी बढाउने माध्यम बाहेक केहि छैन । यूटुवमा त्यस प्रकारको भिडियो राखेर पैसा कमाउने मानवको योजनाले धेरैलाई पीडित बनाइरहेको छ ।

सामाजिक सञ्जालमा कसैको जीवनका बारेमा चरित्र हत्या गर्न पाइदैन । सामाजिक सञ्जाल मात्र होइन, अन्य सन्दर्भमा पनि बद्नाम गर्ने, चरित्र हत्या गर्ने काम बेठिक छ । मानव जस्ता कयौं यूटुवरको काम नै अर्काको जीवनमा हुने गरेका पारिवारिक घटनाहरुलाई बाहिर ल्याउने र टिआरपी कमाउने भइरहेको छ । त्यसले समाजलाई केहि पनि दिन सक्दैन । चरित्र हत्या गरेर आनन्द लिने यूटुवरहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ । यदि समयमै यस तर्फ ख्याल गरिएन भने त्यसले समाजलाई अराजकता तर्फ लैजान्छ ।

यूटुव मात्र होइन, फेसबुक, ट्वीटर र टिकटक जस्ता यहाँ बढि प्रयोग गरिने सञ्जालहरुको दुरुपोय बढ्दो छ । साइवर व्यूरोमा पर्ने उजुरीको संख्या हेर्दा दुरुपयोग बढेर गएको छ । सञ्जालहरु खुशी व्यक्त गर्ने भन्दा झैझगडा गर्ने, अनावश्यक विषयहरु लेख्ने, व्यक्तिगत जीवनमा प्रवेश गरेर स्टाटस लेखिदिने, ब्लाकमेल गर्ने काममा अत्याधिक प्रयोग भइरहेको छ । यसैले हरेकले आफ्नो सञ्जाल प्रयोगमा ख्याल गर्नुपर्छ । सामाजिक सञ्जाल मार्फत आफ्नो चरित्र हत्या गरेमा तत्कालै कानुनी उपचार खोज्नुपर्छ । विश्वास मानिएका मिडियाभन्दा त्यस प्रकारका सञ्जालमा आएको विषयलाई विश्वास मान्ने प्रवृत्तिले समस्या बढिरहेको छ । त्यसका लागि सचेत नागरिकहरु संवेदनशिल भई नियन्त्रणमा सहयोग गर्नुपर्छ ।

प्रकाशित मिति : कार्तिक २४, २०८० शुक्रबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]