बैशाख २४, २०८१ सोमबार

राजनीतिले पिल्सिएको भुइँमान्छेको कथा : दिमाग खराब

तिहारको अवसर पारेर रिलिजभएको निश्चल बस्नेत निर्देशित चलचित्र दिमाग खराब कात्तिक २४ बाट हलहरुमा लागेको छ । लुट मार्फत् नेपाली सिनेमामा फरक ट्रेन्ड बसाउन सफल बस्नेतद्वारा निर्देशित चलचित्रमा दर्शकका थुप्रै आशा हुन्छन् । फिल्म राम्रो हुन्छ भनेर विश्वास गर्छन् । ‘दिमाग खराब’मा पनि दर्शकले त्यही आशा गर्ने नै भए ।
कुरा चलचित्रको नामबाट सुरु गरौँ । बोलीचालीको भाषालाई उनले टपक्कै टिपेर नामदिएका छन् – दिमाग खराब । टाइटलमा रहेको प्लेन र चुँडिएको चप्पललाई अर्थपूर्ण बनाइएको छ ।फिल्मलाई चुँडिएको यो चप्पलले यस्तरी जोडेको छ कथा चप्पलबाटै सुरु हुन्छ र अन्त्यपनि ।

पात्रहरु क्यारेक्टरवाइज भन्नु पर्दा चलचित्रमा खगेन्द्र लामिछाने इन्द्र शमाएको भूमिकामा छन् । देशमा केही लछारपाटो लाउन नसकेपछि विदेश हिँडेको केटो । उनको अभिनय खासै नयाँ लाग्दैन । तर, चरित्रमा उनी पर्फेक्ट देखिएका छन् । उनी रुँदा दर्शकका आँखा रसाउँछन्, स–साना किस्सामा मुस्कुराउँ छन् । उनी पटक–पटक भत्किन्छन् र दर्शकको सहानुभूति बटुल्छन् ।

भोला अर्थात् दयाहाङ राई । देशमै भविष्य देख्ने मान्छे हुन् उनी । खगेन्द्र र दयाको मित्रता देखेर आफ्ना साथीलाई सम्झिन्छौँ । दयाको अभिनयमा नयाँ कुरा त छैन, तर भोलाको कथामा दम छ । जब–जब खगेन्द्र थाक्छन्, उनले उर्जा भर्छन् ।

मेयर हरिप्रसाद यानि अर्पण थापा । नेगेटिभ रोलमा छन् । अभिनय त बबाल छ । तर, जति रिस उठ्नु पर्ने हो उनीदेखि त्यति रिस दर्शकको मनमा उठ्दैन । एग्रेसिभ चरित्र निर्माणमा अझै मेहनत पुगेन कि भन्ने लाग्छ ।

फिल्ममा बलेको रोलमा छन् विजय बराल । टोले गुण्डा । फिल्ममा अरुलाई अन्याय गरे पनि अभिनयले क्यारेक्टरलाई न्याय गरेका छन् । फेटाबानेको लुक्स पुरानो लागे पनि लट्टावाला नयाँ लाग्छ । निर्देशकले उनको बडी ल्याङ्ग्वेज दिएका छन् – बेला बेला टाउको ठोकिरहने ।

सचीको रुपमा छिन् स्वस्तिमा खड्का । खगेन्द्रकी श्रीमतीको रोलमा । अलिक छुच्ची । बेलाबेला कठोर । बेला बेला भावुक ! अरुबेला जे भएपनि अप्ठ्यारोमा श्रीमान्लाई साथ दिनुपर्छ भन्ने म्यासेज राम्रो लाग्यो । सचीको क्यारेक्टरमा आम नारी स्वभाव भएकाले दर्शकले आफ्नै सची ठानेर सम्झन्छन् ।

निर्मलको भूमिकामा छन् निश्चल बस्नेत । जतिजति बेलाउनको इन्ट्री हुन्छ, दर्शकले ताली बजाउँछन् । हुटिङ लगाउँछन्, सिटी फुक्छन् । धेरै समयपछि ताली बजाउँदै फिल्म हेर्न पाइयो । उनको रोलको स्पोइल नगरुम् ! इन्ट्रेस्टिङ छ । भन्यो भने तपाईंलाई फिल्म हेर्न मजा आउँदैन ।

अभियन्ता निरज गौडेल अर्थात् सुमन कार्की । गौडेलवाला क्यारेक्टरमा दर्शक कन्फ्युज हुन सक्छन् । उनी पत्रकार हुन् कि अभियन्ता? यो क्यारेक्टरमा उनी सहीपात्र हुन् त ? आमदर्शकले सुमन कार्कीलाई कमेडियनका रुपमा चिनेका छन् । र, अपेक्षा पनि यही हुन्छ । तर उनले फिल्ममा खासै हँसाउँदैनन् । अभिनय ठिकठाक छ । तर, सम्झिरहने गरी उनको रोल ल्यान्डिङ भएको पाइएन ।

कथा
फिल्मको कथा खासै नयाँ होइन । हामीले देखे–भोगेकै कुरा हो । सानो परिवार, अभाव, मेनपावरले दिएको दुःख,फोहोरी राजनीति, टोले गुण्डाको हर्कत, भ्रष्टाचार, देखावटी अभियन्ता जस्ता विषयवस्तुको पेरिफेरिमा फिल्म घुमेको छ । पटकथाले फिल्मलाई मज्जाले जोडेको छ ।

पहुँच नभएका भुइँमान्छेहरु राजनीतिबाट कसरी पिल्सिएका छन् भन्ने कथा चलचित्रले बोल्छ । उनीहरुको निराशा, आक्रोशमा दर्शकले आफूलाई राखेर हेर्छन् । भोट बटुल्ने कन्सेप्ट नयाँ लाग्छ । फिल्मले आम जनताको मनमा रहेको प्रश्न सोधिरहन्छ । कतै आफैँसँग त कतै सत्ताहाँक्ने नेताहरुसँग ।

फिल्म प्रिडिक्टेबल छैन । थुप्रै सरप्राइजहरु छन् । फिल्मभरि यस्तो लागिरहन्छ – अब के हुन्छ ? तर जे हुन्छ, दर्शकले सोचेभन्दा फरक नै हुन्छ । दृश्यहरु आफैँ कथा बनेर बोल्छ । फिल्म सलल बगेको छ ।

फाइट सिनमा हिरोले जित्नु पर्छ भन्ने ह्याङओभरबाट फिल्ममुक्त छ । निर्देशकले खगेन्द्रलाई जिताउँदैनन् । हिरो पाखुराले होइन, हिम्मतले बलियो हुन्छ भन्ने प्रमाणित गरिदिन्छन् ।

केही कुरा भने दर्शकलाई खड्किन्छ ! खगेन्द्र र दयाको योग्यताका बारेमा फिल्म बोल्दैन । नेतृत्व नराम्रो हुँदा जनताले विकल्प खोज्छन् भन्ने ठिक हो । तर, ऊ योग्य छ कि छैन भनेर कसैले प्रश्न गर्दैन । निराशाको विकल्पमा पनि योग्यताको खोजी हुनुपर्ने हो तर यहाँ पटकथा चुकेको छ । मेयर बालेन र हर्क साम्पाङको झल्को दिए पनि उनीहरुले भोट माग्नेदेखि बाहेक अरु खास केही गर्दैनन् ।

सम्वाद
सम्वादमा बोलीचालीको भाषा छ । खासगरी उखान टुक्काहरु सुन्दा मज्जा आउँछ । सटिक डायलग, भद्दा कतै लाग्दैन । तर, पात्रहरुको थेगो पनि हुन्छ भन्ने कुरालाई लेखकले बिर्सिए जस्तो लाग्यो ।

संगीत
युट्युबमा रिलिज भएका गितहरु हेर्दा खासै इमोसनल टच भएको थिएन । तर, फिल्म हेरिसकेपछि भने यीगीतहरु सुन्न मन लाग्छ । ब्याकग्राउन्डमा बज्ने साउन्ड र गीतले घरि इमोसनल बनाउँछ र हौस्याउँछ पनि । बदल्नु छ यो देश… बिरामी देश… जस्ता गीतले मनै तरङ्गित बनाउँछ । तर, कमेडीमा प्रयोग भएको साउन्ड इफेक्टमा चैँअलिक मेहनतपुगेन कि भन्ने लाग्छ ।

दृश्य
दृश्यमा गाउँ र सहर दुवै छ । पात्रहरुको पहिरनले आफ्नै कथा बोकेको छ । खगेन्द्रको घर आगो लाग्दाको दृश्यमा मेहनत देखिन्छ । तर, हारगुहार गर्दा पनि कोही नआउनु अपत्यारिलो लाग्छ । कम्तीमा १–२ जना पनि आएको सिन भइदिए पत्याउन सजिलो हुन्थ्यो ।

फिल्ममा मान्छेहरुको क्राउड देख्न पाइन्छ । जुन क्राउड नेपाली फिल्महरुमा विरलै पाइन्छ । यसमा निर्माता रौनक विक्रम कँडेलले निर्देशक बस्नेतलाई बलियो साथ दिएको बुझ्न सकिन्छ ।

केही दृश्यहरु दर्शकले आफैँ बुझ्नु पर्छ । फ्रेमिङ कम्पोजिसन, सिनेमाटोग्राफी तारिफ योग्य नै छ । कलर पनि कथा अनुसार ठिकै लाग्छ । केही सटहरु भने अझै राम्रो बनाउन सकिन्थ्यो भन्ने लाग्छ । कतै–कतै अलिक लामो दृश्य भयो कि भन्ने पनि लाग्छ ।

केही अपत्यारिला सिनहरुदेखि बाहेक समग्रमा फिल्म राम्रो छ । बोर हुनुपर्नेखासै ठाउँ छैन । सुरुमा हल्का स्लो लाग्छ । रफ्तार पक्रिए पछि दर्शकलाई बाँधिरहन्छ । दर्शकको लगानी खेर जाँदैन ।

(लेखक : चलचित्र पत्रकार संघ झापाका सचिव हुनुहुन्छ ।)

प्रकाशित मिति : कार्तिक २५, २०८० शनिबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]