बैशाख २२, २०८१ शनिबार

बिर्तामोडमा ८ महिनादेखि छोपेर राखिएको शालिक अनावरण गर्न आउदैछन् पूर्वराजा ज्ञानेन्द्र

बिर्तामोड । पछिल्लो समय राजतन्त्रको चर्को माग गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको मंसिर ७ गते काठमाडौंमा भव्य प्रदर्शनको तयारी गरिरहेका छन् । प्रसाईले काठमाडौंमा कार्यक्रम गरेको दुई दिनपछि पूर्व राजा ज्ञानेन्द्र शाह झापाको बिर्तामोड आउदैछन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह झापा भ्रमणमा आउने भएपछि राप्रपाले पनि सोही मौका छोपेर भव्य स्वागतको तयारी गरिरहेको छ । पूर्व राजा शाह बिर्तामोड १ मा रहेको इकोम कलेज आउन लागेका हुन् । इकोमका सञ्चालक आलोक कार्कीका अनुसार मंसिर ९ गते पूर्व राजा आउने निश्चित भइसकेको छ ।

इकोम कलेजले गत वर्षदेखि नयाँ भवनमा पठनपाठन सञ्चालन गरिरहेको छ । देवी पञ्चकन्यामा रहेको इकोम कलेजले ८ महिना अघि निर्माण गरेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न ज्ञानेन्द्र शाह आउने कार्कीले जानकारी दिए । निर्माणपछि छोपेर राखिएको शालिक अनावरणका लागि कलेजले पूर्व राजा ज्ञानेन्द्र पर्खिरहेको थियो । कलेज टिमले अनावरणका लागि निकै कसरत गरेर निश्चित गरेको बुझिएको छ ।

दमकमा निर्माण गरिएको शालिक अनावरणमा पूर्वराजा बोलाउने भनेपछि कलेजलाई पनि राजावादीको कलेज भन्दै आरोप लाग्न थालेको छ । सो सन्दर्भमा कलेजका सञ्चालक कार्कीले भने – राजावादी भएर पूर्व राजा बोलाइएको होइन, पृथ्वीनारायणकै वंशजबाट अनारवरण गर्न चाहेका मात्र हौं । हाम्रो प्राथमिकता भनेको विभूतिको अनावरण मात्रै हो ।
कलेजले भावी सन्ततिका लागि नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदान स्मरणीय हुनुपर्छ भन्ने उद्देश्यले शालिक निर्माण गरेको जनाएको छ । कार्कीले राजा मान्नेहरुको उपस्थिति पनि हुने भएपछि कलेज प्राङगणमा कुनै पार्टीको झण्डा राख्न नपाइने जानकारी दिए । उनले राष्ट्रिय झण्डा बाहेक अन्य झण्डा समेत नरहने स्पष्ट पारेका छन् ।

कलेजमा शालिक अनावरणका लागि ३० देखि ४५ मिनेट रहन सक्ने कार्कीको भनाई छ । अनावरण कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रको सम्बोधन राखिएको छैन । तर, सोही अवसरमा राप्रपाले आफ्ना कार्यक्रमको ठुलो उपस्थिति गराउने तयारी गरिरहेको छ । जसको तयारीका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन आफै जुटेका छन् । कार्यक्रममा राप्रपाले शक्ति प्रदर्शन नै गर्नेसम्मको चर्चा छ ।

संवैधानिक राजतन्त्रको माग गरिरहेको राप्रपाले पूर्व राजाको स्वागत गर्ने बाहेक अन्य कार्यक्रम नरहेको पार्टीका झापा जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिए । उनका अनुसार राप्रपाका सबै तहका कार्यकर्तालाई सहभागिताका लागि निमन्त्रणा गरेको छ । औपचारिक सभा, सम्मेलन नभएकाले पार्टीका तर्फबाट स्वागतको कार्यक्रम मात्रै राखिएको छ । कलेजले पनि उक्त कार्यक्रममा आम नागरिकका लागि खुला भएको जनाएको छ ।

पाँच सय बढि विद्यार्थी अध्ययनरत कलेजमा होटल म्यानेजमेन्ट, विजनेश र कम्प्यूटर साइन्स पठनपाठन भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०८० मंगलबार  १२ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]